राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको होइन, यो मामुली कुरा हो : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि परिणामहरुबारे संक्षित प्रतिक्रिया दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीको जितलाई नयाँ शक्तिको उदयको रुपमा परिभाषित गर्नु नहुने बताएका छन् ।
झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले यस्तो बताएका हुन् । तर, अहिल्यै धेरै विश्लेषण गर्न नमिल्ने उनले बताए ।
‘परिणामका बारेमा पछि विश्लेषण गरौँला,’ उनले भने, ‘विजयीलाई बधाई र पराजित भएकालाई सहानुभूति छ। तर हराइएका र हराउन खोजिएकोमा असहमति राख्छु ।’चुनावमा सत्ताको दुरूपयोग गरिएको आरोप ओलीले लगाएका छन् ।
‘बुथ कब्जा गर्ने, हत्या गर्ने र राज्य संयन्त्रको दुरूपयोग गर्ने प्रवृत्ति देखिए,’ उनले भने, ‘आतंक फिजाउने प्रवृत्ति देखिए । हेलिकप्टरबाट गुन्डा ओसार्ने प्रवृत्ति चिन्ताको विषय हो । सत्ता संरक्षित र सत्ता प्रायोजित गुन्डागर्दी र बुथ क्पाप्चार, हिंसाजस्ता कुराहरू अशोभनीय र निन्दनीय छ ।’
रवि लामिछाने नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको भन्दै यसबारे ओलीको प्रतिक्रिया के हो भनेर सञ्चारकर्मीले सोधको प्रश्नको जवाफमा ओलीले यो मामुली कुरा भएको बताए ।
‘त्यो ठूलो कुरा होइन मामुली कुरा हो,’ उनेले भने, ‘धेरै उदय भनेर प्रचार प्रोप्रोगान्डा गरियो त्यो वास्तवमा तपाईंहरूको कृपा हो । देशलाई गतल बाटोतिर लैजाँदै हुनुहुन्छ । त्यो पार्टी ९राष्ट्रिय स्वतन्त्र पार्टी० को के गन्तब्य हो, के कार्यक्रम हो, के नीति हो थाहा छैन । हा हा हु हु मा त देश चल्दैन । हा हु मा देश लैजाने कुरा नेपालको हितमा छैन।’
ओली झापा ५ बाट निर्वाचित ओली उनी विजयी सभालगायतमा सहभागी हुन बिहीबार झापा पुगेका हुन् ।








