तनहुँ २ : २८ वर्षपछि एमालेको गढ भत्काएका भण्डारीलाई २८ किलोकै माला

पोखरा । तनहुँ क्षेत्र नम्बर २ एमालेको लामो समयदेखिको गढ हो । २०५१ सालयता यो क्षेत्रमा एमालेले एकछत्र चुनाव जित्यो ।

तत्कालीन क्षेत्र नम्बर ३ तथा हालको २ मा २०४८ सालमा नेकपा एमालेका किरण गुरुङले काँग्रेसका पदमबहादुर आलेलाई १ हजार ६ सय ६२ मतको अन्तरमा पराजित गरेका थिए ।

२०५१ सालको मध्यावधि चुनावमा एमालेले टुकराज सिग्देललाई टिकट दियो । काँग्रेसले फरक क्षेत्रबाट अमरराज कैनीलाई उम्मेदवार उठायो । सिग्देललाई कैनीले हराए । त्यसपछि लगातारको चुनावमा काँग्रेस पराजित भयो ।

२८ वर्षपछि नेकपा एमालेको गढ भत्काएर नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले इतिहास रचेका छन् । भण्डारीले नेकपा एमालेका किरण गुरुङलाई ५ हजार ४ सय ७४ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।
भण्डारीले ३० हजार ६ सय ४ मत ल्याउँदा गुरुङले २५ हजार १ सय ३० मत ल्याए । दुवै प्रतिस्पर्धी पूर्व वन मन्त्री हुन् । गुरुङ गण्डकी सरकारमा अर्थमन्त्री भएर साढे ३ वर्ष काम गरे । यो क्षेत्रबाट २०५६ मा एमालेका टुकराज सिग्देलले काँग्रेसका विष्णुविर आलेलाई पराजित गरे ।

२०६४ मा एमालेका किरण गुरुङले काँग्रेसका ताराराज रानालाई र २०७० मा टुकराजले काँग्रेसका जितप्रकाश आलेलाई पराजित गर्दै एमालेको किल्ला बनाउन सफल भए । २०७४ को निर्वाचनमा पनि एमालेका केदार सिग्देलले काँग्रेसका शङ्कर भण्डारीलाई पराजित गरेका थिए ।

भण्डारी २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा तनहुँ १ बाट निर्वाचित हुँदै संसद् छिरेका थिए । भण्डारी अहिले पनि तनहुँ १ बाटै चुनाव लड्ने तयारीमा थिए । तर वरिष्ठ नेता रामचन्द्र पौडेल उठ्न खोजेपछि उनी २ नम्बर क्षेत्रमा आएका हुन् ।

भण्डारीले यसपालिको चुनाव जितेर संसद् छिर्ने ढोका मात्रै खोलेनन् अघिल्लो चुनावको हारको बदला पनि लिए । २८ वर्षमा एमालेको गढ भत्काएका भन्दै भण्डारीलाई कार्यकर्ताले २८ किलोको माला लगाइदिएका छन् । बधाई दिने क्रममा काँग्रेस निकट व्यवसायी निरबहादुर पुनले उनलाई २८ किलोको माला लगाइदिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *