वडा अध्यक्ष दाबी गरेका जयप्रकाश बने प्रदेश सभा सदस्य

विराटनगर । स्थानीय तहको चुनावमा वडा अध्यक्ष बन्ने इच्छा व्यक्त गरेका जयप्रकाश चौधरी प्रदेश सभामा निर्वाचित भएका छन् । ग्रामथान गाउँपालिकाको वडा नम्बर ३ को वडा अध्यक्षको दावी गरेका उनले प्रदेश सभाको यात्रा तय गरेका हुन् । मोरङ क्षेत्र नम्बर ४ (१) मा नेकपा एमालेका जय प्रकाश चौधरी निर्वाचित भएका छन् । सामाजिक क्षेत्रबाट राजनीतिमा आएका चौधरीले १५४६५ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गुरुराज घिमिरेले १५०५९ मत प्राप्त गरेका छन् । चौधरी र घिमिरे बिचको मतान्तर ४०६ रहेको छ । निर्वाचन अधिकृतको कार्यालयले अधिकारिक विवरण घोषणा गरेको छैन ।

सामाजिक क्षेत्रबाट उदाएका जयप्रकाश मोरङ ग्रामथानका ४६ वर्षीय जयप्रकाश चौधरी (जेपी) १५ वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुमा आबद्ध थिए । घरको आर्थिक अवस्था कमजोर रहेकाले जागिर खाँदै पढ्नुपर्ने बाध्यता उनमा थियो । जागिर नखाई अध्ययनलाई निरन्तरता दिन नसकिने भएपछि उनी २०६४ देखि विभिन्न संस्थाहरुमा आबद्ध रहे ।

महिला अधिकार, बालअधिकार, सशक्तीकरण, आवास अधिकार लगायतको सवालमा संस्थाहरुमा रहेर उनले भूमिका निर्वाह गरे । महिलामा पनि दलित महिलाको अधिकार, महिलाको शिक्षा, शिक्षाबाट वञ्चित बालबालिकालाई अनिवार्य शिक्षाका लागि पैरवी, राम्रो विद्यालय, सामुदायिक विद्यालयको क्षमता विकास, समावेशीताका कुरा, हरेक क्षेत्रमा महिलाको सहभागिता, जिम्मेवार पदमा महिला, सशक्तीकरण, भूमिहीनलाई आवासको अधिकार, बाल अधिकार र उनीहरूको सर्वाङ्गीण विकास यस्तै सवाल उठाउँदा उठाउँदै उनले १५ वर्ष बिताए ।

उनले गरेका कामको परिणाम सानो क्षेत्रमा मात्रै देखियो । यसले सबै क्षेत्रमा व्यापकता पाउन सकेन । सामाजिक सेवामै आफूलाई समर्पित गरेका चौधरीलाई नीति निर्माण तहमा पुग्न सके यसले व्यापकता पाउने थियो भन्ने जहिल्यै लागिरहन्थ्यो । तर, त्यस स्थान सम्म पुग्नका लागि उनले मात्रै चाहेर सम्भव थिएन । ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी विषयमा स्नातक गरेका चौधरी २०५१ सालदेखि एमालेमा आबद्ध भएका हुन । तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघबाट एमालेको राजनीतिमा चौधरी आएका थिए । गाउँ कमिटीसदस्यबाहेक उनले यसलाई नै पेसा बनाउने सोचेका पनि थिएनन् ।

पारिवारिक राजनीतिक पृष्ठभूमि नभएका चौधरी सामान्य परिवारमा जन्मिए । एक वर्षमा नयाँ लुगा लगाउन पनि नपुग्ने आर्थिक अवस्थाबाट उनी गुज्रिएर आए । अर्काको घरमा काम गरेर, पाटा धोएर विद्यालयको पोसाक किन्ने खर्च जुटाउने स्थितिबाट आफू आएको उनले सुनाए । मंसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणासँगै उनले आफ्नो सर्कलमा आफूपनि आकांक्षी रहेको सुनाएका थिए ।

यसअघि स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष हुने इच्छा देखाएका उनले टिकट पाएनन् पछि प्रदेश सभामा उठ्न आकांक्षा फेरि साथीहरूलाई सुनाए । उनको आकांक्षा अनुसार नेकपा एमाले क्षेत्रीय समन्वय कमिटीले उनीसहितका झण्डै दर्जन हाराहारीका नाम पार्टीमा पठायो । अन्तिममा जयप्रकाशले टिकट पाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *