बागलुङ १ : जनमोर्चाका चित्रबहादुर विजयी, एमालेका सूर्य पराजित

बागलुङ । निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी भएका छन् । लोकतान्त्रिक वाम गठबन्धका साझा उम्मेदवार केसी दुई हजार ६ सय २६ मतले नेकपा एमालेका सूर्य पाठकलाई पराजित गरेका छन् ।
केसीले ५४ हजार सात सय ११ मतमध्ये २१ हजार चार सय ५१ मत प्राप्त गरेर विजयी भएको मुख्य निर्वाचन अधिकृत डा दिवाकर भट्टले जानकारी दिए । एमालेका पाठकले १८ हजार आठ सय २५ र राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले नौ हजार एक सय ८१ मत प्राप्त गरे ।
उमेरले ८० वर्ष पुग्नुभएका केसीको राजनीतिक जीवनमा धेरै उतारचढाल रह्यो । विसं २०५६ र २०६४ को चुनावमा प्रत्यक्ष निर्वाचित भएका केसी २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक तर्फबाट सांसद बनेका थिए । केसीको यो चौथो पटकको संसद यात्रा हो ।
विसं २०५१ सालको आम निर्वाचनमा केसी बागलुङ क्षेत्र नं २ बाट प्रतिनिधिसभाको सदस्यको उमेदवार भए पनि उनी पराजित भए । त्यसपछि २०५६ सालको संसदीय निर्वाचनमा उहाँ यही क्षेत्रबाट संसद चुनिए ।
तत्कालीन समयमा उनले नेपाली कांग्रेसका गोपाल सापकोटालाई पराजित गरेका थियो । विसं २०६४ को संविधानसभा सदस्यमा केसीले नेपाली कांग्रेसका मणिभद्र शर्मा कँडेललाई पराजित गरेर निर्वाचित भएका थिए । केसीले २०७४ सालमा भने चुनाव लडेनन् ।
केसी २०७२ साल कात्तिक १९ मा ७५ वर्षको उमेरमा उपप्रधानमन्त्री एवं सहकारी तथा गरिबी निवारण मन्त्री बनेका थिए । राजनीतिक भाषण तथा अन्तर्वार्तामा उखान टुक्का मिसाएर बोल्ने उहाँको शैली मन पराउनेको सङ्ख्या धेरै छ । केसीले राजनीतिक यात्रामा १९ वर्ष भूमिगत जीवन बिताएका छन् । उनले ९ महिना जेल जीवन बिताए ।








