काठमाडौँमा माओवादी किन भयाे ‘पत्तासाफ’ ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रले काठमाडौँमा नराम्रोसँग पराजय व्यहोरेको छ । साझा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादीका कुनै नेताले काठमाडौँमा जित निकाल्न सकेनन् । सम्मानजनक हार भए पनि चित्त बुझाउने ठाउँ हुन्थ्यो, माओवादीका उम्मेदवारहरुले लज्जास्पद हारको परिणाम भोगे ।
काठमाडौँमा माओवादीको लज्जास्पद हार भएपछि नेकपा माओवादी केन्द्रका नेता तथा वाइसिएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले कांग्रेस महामन्त्री गगन थापामाथि गम्भीर आरोप लगाए । उनले गठबन्धनमा रहेर गठबन्धनकै नेता हराउन गगन थापाले घण्टीसँग मिलेको आरोप लगाए । घन्टीसँग मिलेर माओवादीका उम्मेदवारलाई हराउन गगन थापा सक्रिय भएको उनको आरोप थियो ।
सामाजिक सञ्जालमार्फत दीपशिखाले काठमाडौँ र ललितपुरमा गठबन्धनतर्फ माओवादी केन्द्र र नेकपा एसका सबै उम्मेदवारलाई गगन थापाले घण्टीसँग मिलेर हराएको आरोप लगाए ।
उनले भने, ‘कांग्रेसका नेता मित्र गगन थापाले खगेन्द्र सङ्ग्रौलामाथि लेखिएको उज्ज्वल प्रसाईँको पुस्तक विमोचनले भनेका थिए– म कालो कांग्रेस हुँ, हो रहेछ, तपाई र तपाईँको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रीहरूलाई मज्जाले हराउनुभयो । तपाईँलाई आगामी यात्राको शुभकामना ।’
काठमाडौँमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको उदयसँगै माओवादी झन् कर्नरमा पुगेको विश्लेषण गरिएको छ । एक राजनीतिक विश्लेषकले भने, ‘अस्थिर राजनीतिको खेतीका कारण काठमाडौँमा माओवादीलाई ठूलो धक्का लाग्यो ।’
२०७४ सालको चुनावमा माओवादी र एमाले एकै ठाउँमा थियो । पार्टी नेकपा थियो । त्यतिबेला ६ सिट काठमाडौँमा नेकपाले जितेको थियो । माओवादीको महत्त्वपूर्ण हिस्सा थियो । विगतमा पनि काठमाडौँमा माओवादीको कमजोर उपस्थिति हो, तर अहिले माओवादीको उपस्थिति काठमाडौँमा झन् खस्केको देखिन्छ ।
यसपटक काठमाडौँका १० वटा निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी एक्लैले ३ वटा क्षेत्र जितिसकेको छ भने एउटा  जितको मुखमा छ । नेपाली कांग्रेसले काठमाडौँमा ५ सिट जितेको छ । गठबन्धनमा माओवादी केन्द्रले पाएको क्षेत्रहरूमा माओवादीका उम्मेदवारहरुको लज्जास्पाद हार भएको छ ।
काठमाडौँ १ बाट गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भए ।  प्रकाशमानले ७ हजार १४३ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी रवीन्द्र मिश्रले ७ हजार १८ मत ल्याएका थिए ।
काठमाडौँ २ मा सत्तारुढ गठबन्धनकै साझा उम्मेदवार माओवादी केन्द्रकी ओनसरी घर्ती मगरले लज्जास्पद हार व्यहोरेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतमले जित्दै गर्दा पूर्वसभामुख ओनसरी घर्ती चौथो स्थानमा रहिन् । ओनसरीले जम्मा ९ हजार ४४९ मत मात्र पाइन् । गौतम १५ हजार २२९ मत ल्याई विजयी भइन् । एमालेका मणिराम फुयालले ११ हजार ५५५ मत ल्याएर दोस्रो भए । राप्रपाकी उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ मत ल्याएर तेस्रो भइन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाले ओनसरी जिताए विकासे मन्त्रालय दिने घोषणा गरेका थिए । तर उनको लज्जास्पद हारले माओवादीमा भूकम्प नै गएको छ ।
काठमाडौँ क्षेत्र नं ३ मा साझा गठबन्धन थिएन । कांग्रेस र माओवादी केन्द्र मित्रवत् प्रतिस्पर्धामा थिए । माओवादी केन्द्रबाट बद्रीप्रसाद बजागाईं उम्मेदवार थिए । तेस्रो भएका माओवादी केन्द्रका बजगाईंले जम्मा ५१८ मत ल्याए । उनको लज्जास्पद हार भएको छ । यस क्षेत्रमा कांग्रेसका सन्तोष चालिसे १५ हजार १५८ मत ल्याएर विजयी भए । एमालेका कृष्णकुमार राईले ११ हजार १९६ मत पाए ।
काठमाडौँ ४ मा यसपटक सत्तारुढ गठबन्धनका साझा उम्मेदवार कांग्रेस महामन्त्री गगन थापाले ह्याट्रिक गरे । यहाँ गगनले २१ हजार ३०२ मत लएर विजयी हुँदा एमालेका राजन भट्टराईले १३ हजार ८५५ मत पाए । यहाँ माओवादीले गगनलाई सघाएको थियो ।  काठमाडौं ५ मा कांग्रेसका प्रदीप पौडेल विजयी भए । एमाले वरिष्ठ उपाध्यक्षसमेत रहेका ईश्वर पोखरेल पराजित भए । कांग्रेसका युवा उम्मेदवार प्रदीप पौडेल १५ हजार २३७ मतसहित विजयी भए । एमालेका पोखरेल जम्मा १० हजार १७५ मतमा समेटिए । यहाँ माओवादीले प्रदीपलाई सघाएको थियो ।
काठमाडौँ ७ मा सत्ता गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी नेतृ मानुषीयमी भट्टराई थिइन् । उनले जम्मा ६ हजार ६३ मत ल्याइन् । यहाँ पनि माओवादी केन्द्रको लज्जास्पद हार भयो । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ८ हजार ७४३ मत ल्याएर जिते ।
काठमाडौँ ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् । गठबन्धनमा नेकपा एकीकृत समाजवादीका भागमा परेका यस क्षेत्रमा सो पार्टीका नेता जीवनराम श्रेष्ठ तेस्रो भए । काठमाडौँ ९ मा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ ११ हजार ९५६ मत ल्याएर विजयी हुँदा नेकपा माओवादी केन्द्रकी कल्पना धमलाको जम्मा ६ हजार ४०२ मत आयो ।
काठमाडौँको यस क्षेत्रमा  माओवादी केन्द्रको लज्जास्पद हार भयो । राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ मत ल्याउँदा माओवादीकी धमलाको ७ हजार मत पनि पुगेन ।
क्षेत्र नं १० बाट अविचलित रुपमा कांग्रेसका राजेन्द्रकुमार केसी निर्वाचित भए । यस क्षेत्रमा माओवादी केन्द्रले जित्छौँ भन्दै आफ्नै उम्मेदवार उठायो तर लज्जास्पद हार भयो । कांग्रेससँग गठबन्धन तोडेर उम्मेदवारी दिएकी माओवादी केन्द्रकी अञ्जना विशंखेले यस क्षेत्रमा जम्मा ५ हजार २६२ मतमात्र ल्याइन् । यस क्षेत्रमा १४ हजार ४५८ मत ल्याएर केसी निर्वाचित भए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *