किन बढारियो काठमाडौँमा एमाले ?

काठमाडौँ । यस पटकको निर्वाचनमा काठमाडौँ उपत्यकामा एमालेले ठूलो धक्का खान पुगेको छ । काठमाडौँमा रहेका १० वटा क्षेत्र मध्ये एमालेले एक क्षेत्रमा जित हासिल गरेर बीउमात्र जोगाउन सफल भएको छ ।

२०७४ सालको संघीय निर्वाचनमा काठमाडौँको ६ वटा क्षेत्रमा एमालेले जित हासिल गरेको थियो । अहिले एउटा क्षेत्रमा नेकपा एमाले खुम्चने अवस्था देखिएको छ । एमालेलई काठमाडौँमा ठूलो धक्का नयाँ शक्ति र नयाँ अनुहारले दिएका छन् ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौँ ५ मा पराजित भएका छन् । यस क्षेत्रमा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले विजय हासिल गरे ।

एमालेको वरिष्ठ नेता नै काठमाडौँ ५ मा पराजित हुँदा एमाले थप तनावमा रहेको छ । काठमाडौँ ५ मा पौडेलले १५ हजार २३७ मत हासिल गर्दा ईश्वर पोखरेल जम्मा १० हजार १७५ मत पाएर दोस्रो भए। २०७४ मा यही ठाउँबाट पोखरेलले जितेका थिए । काठमाडौँ ५ का मतदाताले यसपटक पोखरेललाई रुचाएनन् । यस क्षेत्रमा २०७४ सालमा जितेर मन्त्रीसमेत भएर केही पनि नगरेको आरोप पोखरेलमाथि मतदाताले लगाएका छन् ।

‘जनतासँग घुलमिल हुन नखोज्ने, जनताको समस्या समाधान गर्न नलाग्ने समस्या पोखरेलेमा थियो, पुरानो अनुहारलाई भन्दा पनि मतदाताले नयाँ अनुहार यसपटक खोजेका हुन्’ काठमाडौँ ५ का एक मतदाताले भने ।

काठमाडौँ १ मा यसअघिको जीत जोगाउँदै कांग्रेसका प्रकाशमान सिंहले विजय हासिल गरे । विजयी भएका सिंहले ७ हजार १४३ मत पाउँदा एमालेका किरण पौडेल तेस्रो बनेका छन्। पौडेलले ३ हजार ५३२ मतमात्र प्राप्त गरे ।

काठमाडौँ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले जित हासिल गरिन् । उनले १५ हजार २२९ मत पाउँदा एमालेका मणिराम फुयाँलले ११ हजार ५५५ मत ल्याएका थिए । २०७४ सालमा काठमाडौ २ मा माधवकुमार नेपाल विजयी भएका थिए । अहिले उनी नेकपा एकीकृत समाजवादीका अध्यक्ष भएका छन् । सो क्षेत्र उनले छोडेर अहिले रौतहटबाट उठेका छन् ।

काठमाडौँ क्षेत्र नम्बर ३ मा यसपटक नेपाली कांग्रेसका सन्तोष चालिसेले जितका छन् । उनले १५ हजार १५८ मत ल्याएर विजयी भए । नेकपा एमालेका कृष्ण राई ११ हजार १९६ मत ल्याए । राई यसपटक पराजित भए । यहाँका मतदाताले दोस्रो पटक राईलाई पत्याएनन् । यहाँका मतदाताले पनि नयाँ अनुहार खोजेको देखिन्छ । जितेर पनि जनताका गुनासोहरु संवोधन गर्न नसकेको आरोप राईमाथि लागेको छ ।

‘काठमाडौँका जनता नयाँ अनुहार खोज्छन्, तर एमालेले पुरानो अनुहारलाई टिकट दियो, जसका कारण ईश्वर पोखरेल पछारिए, कृष्ण राई चिप्लिए’ एमालेका एक कार्यकर्ताले भने, ‘उमेदवार छनौटमा केही कमजोरी भए, अर्कोतिर एमालेका निर्वाचित उमेदवारलाई घमण्ड बढ्यो ।’

काठमाडौँ ४ मा यसपटक गगन थापाले आफ्नो जीतलाई कायमै राखेका छन्, हुन त उनी नयाँ अनुहार त होइनन्, तर जितलाई कायम राख्न सफल भयो । यस क्षेत्रमा गगनलाई घण्टीले साथ दिएको देखिन्छ । यस क्षेत्रमा घण्टीका उमेदवार नै भएनन् । जसका फाइदा गगनले लिए । एमालेका राजन भट्टराई दोस्रो पटक फेरि गगनसँग पछारिएका छन् ।

गगनले २१ हजार ३०२ मत पाउँदा एमालेका राजन भट्टराईले १३ हजार ८५५ मत ल्याएर चित्त बुझाएका छन् । २०७४ गगनसँग पछारिएका राजन फेरि पनि उनीसँग नै पछारिए ।

काठमाडौँ ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी भइसकेका छैनन्, लगभग पक्काजस्तो भइसकेको छ । एमालेका सर्वेन्द्र खनाल मतगणनाको क्रममा दोस्रो स्थानमा छन् ।

काठमाडौँ ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी भए । २०७४ मा एमालेले यस क्षेत्रमा जितेको थियो । अहिल उनले आफ्नो सिट गुमायो । २०७४ मा यो क्षेत्रमा एमालेका रामवीर मान्नधरले जितेका थिए । मानन्धरले अहिले टिकट नै पाएनन् । उनले बागी उमेदवार दिए । टिकट पाए पनि श्यामकुमार घिमिरेले जितेनन् । स्वतन्त्र पार्टीका पराजुलीले ८ हजार ७४३ मत पाउँदा एमालेका घिमिरेले ६ हजार ८०० मत पाएका थिए । एमालेभित्रको अन्तर्विरोध तथा नयाँ पार्टीको पक्षमा देखिएको लहरले यस क्षेत्रमा एमाले बढारिएको त्यहाँका मतदाताहरु भन्छन् ।

काठमाडौँ ८ पनि एमालेले गुमायो । यसअघि एमालेबाट विजयी भएका जीवनराम श्रेष्ठ एमालेमा रहेनन् । एकीकृत समाजवादीमा गएपछि एमालेले यो क्षेत्र गुमाएको त्यहाँका मतदाताको भनाइ छ । श्रेष्ठ समाजवादीमा उठेर आफू त हारे, एमालेका उमेदवारलाई पनि हराए । यस क्षेत्रमा क्षेत्रबाट विराजभक्त श्रेष्ठ विजयी भए । विराजले १० हजार १०५ मत ल्याउँदा जीवन राम तेस्रो भए । जीवनरामले ४ हजार ८७७ मत मात्र ल्याए ।

काठमाडौँ ९ मा भने कृष्णगोपाल श्रेष्ठले एमालेको बीउ जोगाएका छन् । उनी यसअघि पनि यस क्षेत्रबाट विजयी भएका नेता हुन् । उनले ११ हजार ९५६ मत ल्याउदा राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल १० हजार ९६१ मत ल्याएका थिए । काठमाडौँमा एमालेको बीउ जोगाउने नै कृष्णगोपाल भए । काठमाडौँ १० मा कांग्रेसका राजन केसीले जितलाई निरन्तरता दिए । उनले एमालेका हिमेश केसीलाई पछारेका हुन् । राजनले १४ हजार ४५८ मत पाउँदा हिमेशले ११ हजार ७८६ मत प्राप्त गरे ।

काठमाडौँमा एमालेले पुराना अनुहारलाई टिकट दिएर पनि नोक्शान सहनुपरेको चर्चा भइरहेको छ । राजनीतिक विश्लेषकका अनुसार पुरानो दागी अनुहारलाई टिकट दिएको हुनाले एमाले काठमाडौँमा बढारिएको हो । काठमाडौँवासीले यो निर्वाचनमा नयाँ पार्टी र युवा उम्मेदवारलाई जिताएको देखिन्छ, एमालेले मतदाताको भावनालाई क्याच गरेर टिकट वितरण गर्न नसकेको देखियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *