गगन थापाको ‘ह्याट्रिक’ जितमा केके छन् ‘फ्याक्टर’ ?

काठमाडौँ । काठमाडौँ ४ को रि–म्याचमा फेरि हारे नेकपा एमालेका युवा नेता राजन भट्टराई । यसअघि २०७४ सालमा नेपाली कांग्रेसका गगन थापासँग पराजित भएका भट्टराई फेरि पनि उनै थापासँग पराजय भोगे । काठमाडौं–४ मा थापाले फराकिलो अन्तरले भट्टराईलाई हराएका छन् । यसपटक पनि जितेर गगन थापाले काठमाडौँ ४ मा ह्याट्रिक जित निकालेका छन् । झन्डै छोडिसकेको क्षेत्र काठमाडौँ ४ मा थापाले ७ हजार ४४६ को फराकिलो मतान्तरले जित निकाले ।

काठमाडौँ ४ छोडेर सर्लाहीबाट उठ्ने चर्चा थियो गगनको, तर अन्ततः काठमाडौँ ४ बाटै उठेर गगनले जित निकाले । थापाले २१ हजार ३०२ मत ल्याउँदा एमालेका उम्‍मेदवार राजन भट्टराईले १३ हजार ८५५ मात्र मत ल्याएका थिए । २०७४ मा एमाले र माओवादी मिलेर उठ्दा पनि थापाले भट्टराईलाई ३२ सय मतान्तरले पराजित गरेका थिए । अहिले भारी मतान्तरले थापाले भट्टराईलाई पछारे । यसपटक भारी मतान्तरले थापाले जित्दै गर्दा काठमाडौँ ४ एउटा यस्तो क्षेत्र भयो, गगनबाहेक अरुले चिताउनै पर्दैन भन्न सक्ने आधार बन्दै गयो ।

०७० सालको चुनावमा पनि गगनले एमालेका नेतालाई पछारेका थिए । त्यतिबेला थापाले एमालेका निर्मल कुँइकेललाई पराजित गरेका हुन् । ४६ वर्ष पुगेका गगन थापाले यसपटक काठमाडौँ ४ मा फराकिलो मतान्तरले जित निकाल्नुमा धेरै फ्याक्टरले काम गरेको देखिन्छ । नयाँ अनुहारको खोजी गर्ने लहर चलिरहँदा काठमाडौँ ४ का मतदाताले उम्मेदवारमा गतिलो नयाँ अनुहार नै देख्नै पाएनन् । यस क्षेत्रमा रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्रबाट कुनै उम्मेदवार नै थिएनन् ।

स्वतन्त्र पार्टीले एक जना उम्मेदवार त काठमाडौँ ४ मा उठाएको थियो, तर दुई दिनमै तयारी पुगेन भन्दै ती उम्मेदवारले उम्मेदवारी नै फिर्ता लिए । स्वतन्त्र पार्टीको क्रेज भइरहँदा गगन थापाले आफ्नो स्वतन्त्र पार्टीको उम्मेदवारसँग मुकाबिला गर्नैपरेन । जताततै घन्टीको वर्चस्व चलिरहेको बेला यो क्षेत्रको कुनाकाप्चा कतै पनि घन्टी नै बजेन । घन्टीमा जाने स्वतन्त्र मतहरु गगन थापाले नै पाए । उम्मेदवारहरु पुरानै अनुहार भएपछि नयाँ अनुहार खोजेका मतदाताले पनि बाध्य भएर उनै गगनकै पुरानै अनुहारमा मत खसाले ।

अर्को फ्याक्टर गगनको क्षेत्रमा परिवर्तन चाहने शक्तिहरुको उदय नै भएन । जस्तो कि, काठमाडौँ १ मा परिवर्तन चाहने धेरै शक्तिका धेरै जना उम्मेदवार भए । तर गगन यसअर्थमा पनि भाग्यमानी भए, उनको क्षेत्रमा अर्को कुनै नयाँ शक्तिका उम्मेदवार नै लड्न आएनन् । काठमाडौँ ४ मा न रमेश खरलेको पार्टीले बलियो उपस्थिति जनायो, न त अरु कुनै नयाँ शक्तिको उपस्थिति नै रह्यो । यस्तै, अर्को फ्याक्टर हो ‘प्रधानमन्त्री कार्ड’ । गगन थापाले चुनावी सभाहरुमा पर्याप्तमात्रामा ‘प्रधानमन्त्री कार्ड’ फाले । उनले चुनावी सभा सुरु हुनुअगावै आफू प्रधानमन्त्रीको लागि योग्य भएको र अघि बढ्ने दाबी गरिरहेका थिए ।

नेता थापाले काठमाडौँ ४ को चुनावी सभामा भन्ने गरेका थिए, ‘तपाइँले मलाई जिताउनुहोस् संसदीय दलको नेतामा उठेर प्रधानमन्त्री बन्छु, अब गगन थापाले प्रधानमन्त्रीको कुर्ची सजिलै अर्को नेतालाई छोड्ने छैन ।’ गगन थापाको यो भनाइमा काठमाडौँ ४ का मतदाताले दम देखे । यहाँका मतदातालाई लाग्यो, अहिले गगनलाई जिताएर पठाए आफ्नो क्षेत्रका सांसद भोलि प्रधानमन्त्री बन्नेछन् ।

‘प्रधानमन्त्रीको कार्ड’लाई गगनले जताततै बाँडे, मतदातामा हो कि त भन्ने विश्वास पनि दिलाए । त्यसैले गगन थापाको जितको अर्को फ्याक्टर गगनको ‘प्रधानमन्त्री कार्ड’ पनि हो, भलै त्यो भोलि पूरा होला नहोला आफ्नो ठाउँमा छ, तर यो कार्डले उनलाई चुनावमा थुप्रो मत बढाएको देख्न सकिन्छ । त्यतिबेला उनका प्रतिस्पर्धी एमालेका नेता राजन भट्टराईले भनेका थिए, ‘हार्छु भन्ने लागेपछि गगन थापाले प्रधानमन्त्रीको कार्ड फाल्ने गरेका छन् ।’

गगनको जितको अर्को फ्याक्टर उनको उमेर पनि हो । गगन ३१ वर्षको उमेरमा समानुपातिक सांसद भएका थिए । २०६४ सालमा प्रत्यक्षमा उठ्ने दाबी गरिरहेका गगनलाई पार्टीले प्रत्यक्षको निकट नदिई समानुपातिक सांसद बनाएको थियो । अहिले गगन थापा ४६ वसन्तमा मात्र टेकेका छन् । युवा उमेरका सांसद खोज्ने मतदाताको लागि गगन यसपटक पनि प्रिय बने । युवा उमेर समूहका मतदाताको मत पनि गगनले पाए ।

गगनको जितको फ्याक्टरमा अर्को एउटा छ– त्यो हो, संसदमा उनको दह्रो प्रस्तुति । पटकपटक थापा संसदमा तार्किक बहसमा उत्रिन्थे । संसदमा थापा र नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग पटकपटक नोकझोंक हुन्थ्यो । आफ्नो चट्टानी अडानमा थापा झुक्थेनन्, संसदमा आवाज उठाउन पुग्थे । उनले संसदमा देखाउने प्रस्तुतिलाई मतदाताले राम्रो ख्याल गरेका थिए । जसका कारण अहिले उनलाई जित्न सहज भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *