रवीन्द्र मिश्रको हारको आधार : परिवर्तित वैकल्पिक राजनीतिको धार

काठमाडौँ । प्रतिनिधिसभा सदस्यका प्रत्याशी रवीन्द्र मिश्रले दोस्रो पटक हार बेहोरेका छन् । काठमाडौँ-१ बाट प्रतिनिधिसभा सदस्यमा ७ हजार १४३ मत ल्याएर नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी मिश्रले ७ हजार १८ मत पाए ।

यसअघि २०७४ को चुनावमा पनि सिंहले मिश्रलाई नै पराजित गरेर चुनाव जितेका थिए । २०७४ को चुनावमा सिंह १० हजार ९३७ मतका साथ विजयी भएका थिए । तत्कालीन विवेकशील साझा पार्टीका रवीन्द्र मिश्र १० हजार ११८ मतका साथ दोस्रो स्थानमा आएका थिए । यसपटक साझा विवेकशील छाडेर मिश्र राप्रपामा प्रवेश गरेर चुनावमा उठे । फेरि पनि दोस्रो भए ।

रवीन्द्र मिश्रको हारलाई लिएर अनेक टिप्पणी भएका छन् । सारमा परिवर्तित वैकल्पिक राजनीतिको धार नै उनको हार भएको धेरैको निष्कर्ष छ । किनभने, नयाँ पार्टी र नयाँ अनुहारप्रति आएको लहर काठमाडौँ १ मा पनि आएको थियो । यसलाई क्यास गर्न नसक्नु र ‘बिचार भन्दा माथि देश’ भन्दै मार्ग परिवर्तन गर्नुलाई रवीन्द्रको हारसँग जोड्न सकिन्छ ।

यसपालि राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५, एमालेका किरण पौडेलले ३ हजार ५३२ मत र सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२४ मत पाएका छन् । परिवर्तनको नारा दिएका उम्मेदवारहरू एक ठाउँ नहुँदाको फाइदा सिंहले उठाए । भने परिवर्तनको नारा दिएकाहरूलाई आफूमा केन्द्रित गर्न नसक्दा मिश्रले हार बेहोरे ।

अघिल्लोपल्ट प्रकाशमान सिंहविरुद्ध चुनाव लड्दा रवीन्द्र मिश्रलाई वैकल्पिक राजनीतितर्फ आकर्षण भएका मतदाताको साथ थियो । यसपल्ट राप्रपाबाट काठमाडौँ-१ मा उम्मेदवार बनेका मिश्रप्रति राजावादीहरूको साथ थियो । यही कारण विगतमा उनले पाएको मतमध्ये ठूलो सङ्ख्यालाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले प्रभावित पारे । अर्थात्, काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ का मतदाताहरूले नयाँ पार्टी र नयाँ अनुहार खोजेको प्रष्ट देखिन्छ । तर, यही चाहना राख्ने मतदाताहरूको मत बाँडिदा त्यसको असर रवीन्द्र मिश्रलाई परेको छ । मतगणनामा निरन्तर सहभागी एक अधिकारीको अनुभवका आधारमा रवीन्द्र मिश्रको सहजै जीत तीन अवस्थामा हुने मत प्रवृत्ति देखिन्छ ।

एक – साझा विवेकशील पार्टीबाटै उठेका भए ।
दुई – साझा विवेकशील छाडिसकेको अवस्थामा स्वतन्त्र उठेका भए ।
तीन – राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उठेको भए ।

यी तीन वटा अवस्थामा रवीन्द्र मिश्रको सहज जित हुने आंकलन गर्ने ती अधिकारीका अनुसार मुख्य विषय मार्ग परिवर्तनसँग जोडिएको छ । स्वयं मिश्रले वैकल्पिक शक्तिको खोजीमा रहेकाहरूको मत नबाँडियोस् भनी अपिल गरेका थिए । उनी आफैँ वैकल्पिक राजनीति गर्ने भन्दै गठित साझा विवेकशील छाडेर हिँडेका कारण त्यो अपिलले काम गरेको देखिएन । उनले मार्ग परिवर्तन नगरेको भए पुकार बम यस क्षेत्रबाट उम्मेदवार नै हुँदैनथे । पुकार बम र मिश्रले पाएको मत हेर्दा यो तर्कमा आधार देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *