मतको प्रारम्भिक रुझानमा बा र हजुरबा पुस्ता पछाडि

काठमाडौँ । मत परिणामको प्रारम्भिक परिणाम आउन सुरु भइसकेको छ । कतिपय जिल्लाका विभिन्न क्षेत्रमा मतगणना चलिरहेको छ भने कतिपय जिल्लामा मतगणना हुने तयारी भइरहेको छ ।

मुस्ताङ जिल्लाको मत परिणाम पनि आइसकेको छ । मतको प्रारम्भिक रुझान (प्रवृत्ति, ट्रेन्ड) लाई हेर्दा युवा पुस्ताका उमेदवारहरु अगाडि देखिएका छन् । बा र हजुरबा पुस्ताबाट नातिपुस्ता संसदमा छिर्ने छनक देखिएको छ । यसपटक धेरै क्षेत्रहरुमा बा र हजुरबा पुस्ता बाईबाई हुने संकेत प्रारम्भिक रुझानबाट मिलिरहेको छ ।

मुस्ताङका २९ वर्षे युवक योगेश गौचनले नेपाली कांग्रेसबाट विजयीको माला पहिराइसकेका छन् । सम्भवतः उनी यसपटक सबैभन्दा कान्छा सांसद बन्न सक्नेछन् । लामो समयदेखि मुस्ताङमा कांग्रेसको राजनीतिमा सक्रिय रहेका नेता रोमी गौचनका छोरा हुन् योगेस ।

जम्मा २९ वसन्तमा टेकेका योगेसले नेकपा एमालेका ६० वर्षका प्रेम तुलाचनलाई हराएका हुन् ।

देशभर युवाको लहर चलिरहेको हुनाले मुस्ताङवासीले पनि युवा उमेदवारलाई संसद पठाउन खोजेको देखिन्छ । योगेसका बुबा रोमी मुस्ताङको राजनीतिमा चिरपरिचित छन् । चार दशकदेखि योगेसका बुबा रोमीले मुस्ताङमा नेपाली कांग्रेसको राजनीति हाँकेका थिए ।

यसपटक पनि कांग्रेसले उनै योगेसका बुबा रोमीलाई टिकट दिएका थिए, तर उनले आफूले पाएको टिकट छोरालाई थमाए । आखिरी छोरा योगेसले बाजी मारे । अब मुस्ताङको राजनीति बा र हजुरबा पुस्ताबाट छोरापुस्तामा सरेको छ । योगेशले तीन हजार ९९२ मत ल्याउँदा एमालेका तुलाचनले तीन हजार ७८ मत ल्याएका थिए ।

मुस्ताङमा मात्र होइन, अन्य ठाउँमा पनि युवा पुस्ताले अग्रता कायम गरिरहेका छन् । मतको प्रारम्भिक रुझान हेर्दा यसपटक संसदमा धेरै युवा पुस्ताको प्रवेश हुने देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवारहरु युवा छन् । विभिन्न क्षेत्रमा रास्वपाका उमेदवारहरुको अग्रता छ ।

ठूला दलहरुमा पनि मतगणनाको प्रारम्भिक रुझान हेर्दा युवा पुस्ता नै अगाडि रहेको देखिएको छ । काठमाडौँ ४ मा कांग्रेसका युवा नेता गगन थापा अगाडि छन् । कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीकी रञ्जीता श्रेष्ठ अगाडि छन् । यदी दुबै नेता ५० वर्ष तलका छन् । कास्की, काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टीका युवा उमेदवारहरु नै मतको प्रारम्भिक रुझानमा अगाडि रहेका छन् । यसपटक मतदाताहरु युवा उमेदवारलाई अगाडि बढाउन चाहेको देखिन्छ ।

प्रारम्भिक रुझानअनुसार नै मत परिणाम आउँदै गयो भने यसपटक संसदमा युवाहरुको बाक्लो प्रतिनिधित्व रहने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *