मुस्ताङका योगेश : विजयी सुरुवातसँगै चर्चामा

मुस्ताङ । यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुवात गरेका नेपाली कांगेसको उम्मेदवार हुन् , योगेश गौचन थकाली ।
मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका २९ वर्षीय योगेशले नेकपा (एमाले)का उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै सङ्घीय संसद्को यात्रा तय गरेका छन् । काँग्रेसले उठाएका उम्मेदवारमध्येका सम्भवतः कान्छा योगेशतर्फ यतिखेर सबैको ध्यान आकृष्ट भएको छ । निवर्तमान सांसद नेकपा (एमाले) का केन्द्रीय सदस्य तुलाचनलाई नौ सय १४ मतान्तरले पछि पार्दै गौचन विजयी भएका छन् ।
प्रतिनिधिसभा सदस्यमा एक निर्वाचन क्षेत्र रहेको मुस्ताङमा चार जना प्रतिस्पर्धामा थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ र राप्रपाका प्रवीणकुमार शेरचनले १३ मत पाए।
काँग्रेसका गौचन पाँच दलीय गठबन्धनबाट उम्मेदवार हुन् । काँग्रेसको गण्डकी प्रदेश सदस्य योगेश काँग्रेसका जिल्ला सभापतिसमेत रहेका पूर्व मन्त्री रोमी गौचन थकालीका छोरा समेत हुन् ।
विसं २०५० वैशाख २७ गते मुस्ताङको थासाङ गाउँपालिका लेतेमा जन्मिएका उनले ब्याचलर अफ बिजनेस म्यानेजमेन्टको अध्ययन गरेका छन् ।
जिल्लामा नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु उनी नेविसङ्घको राजनीतिसँगै भूगोलमा पनि जोडिए । उनी सानै उमेरमा पार्टीको जिल्ला कार्यसमिति सदस्य बनेका थिए । हाल योगेश पार्टीको महासमिति सदस्य र गण्डकी प्रदेश कार्यसमिति सदस्य छन् ।








