मतको प्रारम्भिक रुझान : पुराना दलका मुटुमा बज्दैछ चर्को घण्टी

काठमाडौँ । विभिन्न क्षेत्रहरूमा मतको प्रारम्भिक रुझान आउन सुरु भइसकेका छन् । प्रारम्भिक रुझानमा घण्टीमा आएको मतले पुराना दलका मनमुटु काँपेका छन् । सहरी क्षेत्रमा घण्टीको मतको वर्षा नै भइरहेको आंकलन गरिएको छ । चितवन र काठमाडौँमा घण्टीले ल्याउने मतको ठूला दलहरूको सात्तो जाने विश्लेषणहरू गर्न थालिएको छ ।

घण्टी चुनाव चिन्ह लिएर भर्खरै जन्मिएको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी पहिलोपटक निर्वाचनमा होमिएको हो । पहिलो पटकको निर्वाचनमा पुराना दलहरूको मनमुटुमा यसले ठूलै घण्टी बजाउने संकेत देखाइसकेको छ । जताततै यतिबेला घण्टीको नै चर्चा भइरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अपेक्षा गरेभन्दा बढी सिट जित्ने बताउन थालेका छन् । चुनावपछि पनि मतदातालाई भेट्दै हिँडेका लामिछानेले भने, ‘भोट खसालेपछि पनि जनतामा जागेको उत्साह देख्दा मलाई यस्तो लाग्यो, प्रत्यक्ष तथा समानुपातिकमा नसोचेको परिणाम आउँछ ।’
काठमाडौँ, भक्तपुर, कास्कीलगायतका विभिन्न ठाउँमा मतगणना सुरु भइसकेको छ । मतगणनाको सुरुवाती अग्रता घण्टीले लिइसकेको छ ।

गएको स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारहरूले देशैभरिबाट करिब ४० भन्दा बढी स्थानहरूमा स्वतन्त्र उमेदवारहरुले जितेपछि ठूलो पुराना दलको मुटुमा त्यतिबेला ढ्यांग्रो बजिसकेको थियो । अहिले रवि लामिछानेको पार्टीले अर्को ढ्यांग्रो बजाउने संकेत देखिएको छ ।

पुराना दलप्रति जनताको विश्वास गुम्दै गइरहेको छ । युवा र नयाँ दलप्रति जनताको भरोसा बढेको छ, स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले जितेर गरेका केही राम्रा कामलाई जनताले सह्रानीय मानिरहेका छन्, जसका कारणले पनि जनता नयाँ युवाप्रति आकर्षित भइरहेका छन् ।

पुराना दल र यसका शीर्ष नेताहरूले केही गरेनन् भन्ने मान्यताको विकास भइरहेको र नयाँ उम्मेदवार खोज्ने हुटहुटि चलिरहेको बेला नयाँ शक्तिको रूपमा घण्टी चुनाव चिन्ह लिएर रवि लामिछाने आएपछि मतदाताले उनलाई रोजेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

निर्वाचन आउनु केही महिनाअघि मात्र खुलेको यो पार्टीले राष्ट्रिय पार्टीको हैसियतमात्र होइन, चौथो शक्तिको रूपमा उदाउने देखिएको छ । मुख्य दलका शीर्ष उम्मेदवारलाई घण्टीले यसपटक ढलाउने अवस्था आइसकेको छ । रास्वपाको उदयले ठूला दल र तिनका शीर्ष नेता अब हायलकायल हुँदैछन्, त्यस्तो संकेत मतगणनाको प्रारम्भिक रुझानबाट मिलिसकेको छ ।

आखिरी जनता यस पार्टीप्रति किन भरोसा गर्दैछन् ? यसमा एउटा मुख्य कारण ठूला राजनीतिक दलप्रति जनतामा जागेको वितृष्णा नै हो । पटकपटक ठूला पार्टीका शीर्ष नेताहरूलाई हेरिरहँदा पनि देशले कोल्टे फेर्न नसकेको र ठूला दल नै आन्तरिक झगडा र भ्रष्टाचारमा चुर्लम्ब डुबेपछि जनता आजित भएर नयाँ दलप्रति आकर्षित भएका हुन् ।

रास्वपा कति ठूलो दल बन्छ, ठूला दललाई कति टक्कर दिन्छ यसतर्फ अहिले नै आंकलन गर्न मुस्किल पर्छ, तर मतको प्रारम्भिक रुझानले ठूला दलका ठूला नेताहरू यसपटक घण्टीले पछार्नेछ ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक महेश पौड्यालका अनुसार पार्टीहरू सिद्धान्त बोक्छन् । सिद्धान्तले देश नबन्ने रहेछ भन्ने प्रमाणित भइसक्यो । उनी भन्छन्, ‘एक एक सिद्धान्त बोकेका पार्टीहरू जता पनि, र जोसँग पनि मिल्छन् । त्यसैले तिनका सिद्धान्त पनि अवसरवादका मुखौटा हुन् भन्ने बुझियो । पार्टीको नेतृत्व सबै पुराना मान्छेको हातमा छ । तिनले युवाको मर्म बुझ्दैनन् । युवाले नै युवाको मर्म बुझ्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *