मजदुरको पिडा : छोएन चुनावले

काठमाडौँ । बर्दिया ठाकुर द्वार–९ का गोरखबहादुर कार्की एक सुरमा हथौडा चलाइरहेका छन् । उनलाई सघाउँदै श्रीमती नजिकै बालुवा र सिमेन्टको घोल बनाउँदै छिन् ।

देशभर प्रतिनिधिसभा र प्रदेशसभाको मतदान जारी छ तर कार्की दम्पती बेखबर नभए पनि मतदानको अवसर पाएनन् । बरु परिवारको खर्च टार्न चुवानको दिन पनि दिनभर मजदुरीमै छन् उनीहरू मुलुक चलाउने सिंहदरबार नजिकै । “भर पेट खाएर निदाउँछन् ” ।

निर्वाचनकै दिन आज सिंहदरबारको दक्षिण गेट नजिकै कार्की दम्पती आफ्नै सुरमा श्रम व्यस्त छन् ।उनीहरूलाई हामीले सोध्यौँ, “भोट हाल्न किन नजानुभएको ?”

“मतदाता नामावली गाउँतिर छ, यता शहरमा भोट हाल्न पाइएन । भोट हाल्न जाऊँ भनेर कसैले भनेनन् । कसैले खबर गरेको भए जाने थियौँ ।”

बर्दिया घर भएका दम्पती विगत छ महिनादेखि यहीँ बसेर ज्यामी काम गर्दै आएका छन् । भोट हाल्न गाउँ नगई राजधानीमा सङ्घर्षरत कार्की दम्पतीले दैनिक एक हजार आठ सयदेखि दुई हजारसम्म आम्दानी गर्छन् ।

“छोराछोरी हुर्काइयो पढाइयो तर अहिले ठुला भएपछि छुट्टिएर बसेका छन्”, कार्की भन्छन्, “हामी बुढाबुढी लाई पेट पाल्न मजदुरी गर्नुपरेको छ ।”

कार्कीलाई यस पटकको निर्वाचनमा मतदान गर्न मन नभएको भने होइन । तर मेसो नमिलेको उनको भनाइ छ ।

कार्की दम्पतीको जस्तै व्यथा बझाङ केदारस्यूँ गाउँपालिकाकी बर्मा धामीको पनि छ । मुलुकभर मतदान चलिरहेका बेला उनी भने काठमाडौँको राम शाह पथमा पिठ्यूँमा गह्रौँ झोला बोकेर हिँडिरहेका छन् । उनलाई पनि गाउँ गएर आजको दिन भोट हाल्ने रहर थियो । तर आफ्नै समस्याका कारण गाउँ जान सकेनन् ।

“पढ्ने मान्छे परियो, भर्खरै आएकाले गाउँ जान पनि सकिन, घर जान धेरै पैसा लाग्छ,” उनी भन्छन्, “कसैले जाऊँ पनि भनेनन्, रहर त किन नहुँदो हो र ।”

धामी पुतलीसडकमा रहेको आफन्तकहाँ बस्छन् । चुनावका दिन गाडी नचल्ने भएपछि उनी ललितपुरको टीका थलीसम्म पुग्न पैदल हिँडेको सुनाउँछन् ।

“आज गाडी चल्दैन भन्ने थाहा थिएन, चल्ने भएको भए सजिलो हुन्थ्यो होला”, उनले भने, “तर नपुगी नहुने भएपछि पैदल हिँडेकी हुँ ।”
धामी जस्तै रामेछापका सङ्गीता थापा र शारदा थापा पनि भद्रकालीदेखि अनामनगरतिर फैलँदै हिँडे । भोट हाल्न गाउँ जान नपाएपछि चुनावका दिन मन्दिर दर्शन गर्न आएका थिए । भद्रकाली मन्दिरमा दर्शन गरी फर्कँदै गरेका उनीहरू बच्चा लिएर गाउँ जान समस्या हुने भएकाले नगएको बताउँछन् ।

निर्वाचन आयोगले सुरक्षालाई दृष्टिगत गर्दै मतदानका दिन बिहान ४ बजेदेखि साँझ ७ बजेसम्म उपत्यकामा सार्वजनिक सवारीसाधन चलाउन रोक लगाएको छ । सञ्चारमाध्यम, खानेपानी, विद्युत्, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारी साधन भने सञ्चालन भइरहेका छन् ।

निर्वाचन आयोगका अनुसार देशभर एक करोड ७९ लाख ८८ हजार ७० मतदाता छन् । यो सङ्ख्या आयोगले कार्की दम्पती जस्ता मतदान गर्न नपाएकाहरूलाई पनि गणना गरेको छ । केही आर्थिक अभाव तथा केही आफ्नै कारणले चुनावको उत्सवमा मतदान गर्नबाट वञ्चित भएका छन् ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतदाता नामावली ऐनले निजामती कर्मचारी, सुरक्षाकर्मी, कैदी बन्दी, दर्ता भएर सञ्चालन भएका बृद्धाआश्रमलाई समेटेको भए पनि पेसा व्यवसाय गरेका सर्वसाधारणलाई समेट्न सकेको छैन ।

अन्तर्राष्ट्रिय अभ्यासमा कुनै स्थानमा तीनदेखि छ महिनासम्म नियमित रूपमा जुन स्थानमा बसोबास गरेको हो, त्यही स्थानबाट मत दिने व्यवस्था गरिएको हुन्छ । तर, हाम्रोमा निर्वाचन कानुनमा सुधार नगरी यस्तो प्रबन्ध गर्न नसकिएको सहायक प्रवक्ता अर्यालको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − five =