कुटपिटबाट दुई जनाको मृत्यु

भक्तपुर । भक्तपुर चाँगुनारायण नगरपालिका-८ कलमसी बस्ने ६१ वर्षीय कुमाल सुनार पक्ष र उनकै छिमेकी ४२ वर्षीय राजु सुनार पक्षबिच एक आपसमा झै-झगडा भई कुटपिट हुँदा कुमाल सुनारको शनिवार राति मृत्यु भएको छ ।
झगडामा गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जगागीबाट खटिएको प्रहरीले झगडामा संलग्न चाँगुनारायण नगरपालिका-८ कलमसी बस्ने ४१ वर्षीय राजन सुनार सहित १० जनालाई नियन्त्रणमा लिएको छ ।
सर्लाही : गोडैता नगरपालिका-६ बगदहस्थित चुनावको विषयलाई लिएर दुई पक्षबिच झै-झगडा भई कुटपिट हुँदा सोही ठाउँ बस्ने ६५ वर्षीय रामएकबाल रायको शनिवार राति मृत्यु भएको छ ।
उक्त स्थानमा दुई पक्षबिच झगडा हुँदा ६ जना घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गोडैताबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि कृष्ण मेडिकल एण्ड रिसर्च सेन्टर जनकपुर पठाएकोमा उपचारको क्रममा रायको मृत्यु भएको हो । अन्य घाइतेको अवस्था सामान्य रहेको छ । कुटपिटमा संलग्न सोही ठाउँ बस्ने बस्ने १९ वर्षीय विक्रम रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।








