बिहान मतदान स्थलहरुमा न्यून मतदाता

विराटनगर । निर्वाचन आयोगले बिहान ७ बजेदेखि नै मतदातालाई मतदान गर्न जानका लागि आह्वान गरेको थियो । बिहान करिब ९ बजेसम्म पनि मतदान स्थलहरुमा मतदाताको भिड देखिएको छैन ।
स्थानीय तहको निर्वाचनको समयमा बिहान रातीदेखि नै लाइनमा बसेर भोट हालेका मतदाताहरु प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि मतदानमा विहान ९ बजेसम्म पनि उत्साह देखिएको छैन ।
केही हतार भएर गएका मतदाता बाहेक मतदान स्थलमा मतदाताको भिड देखिएको छैन, मतदाताको संख्या न्युन देखिएको छ। महेन्द्र मोरङ बहुमुुखी क्याम्पस मतदान केन्द्रमा बिहान ७ बजे नै शुरु हुने भनिएको मतदान झण्डै ४५ मिनेट ढिलो गरि शुरु भएको थियो ।
विराटगरको कन्चनवारी मतदान केन्द्र, सत्यनारायण माबि मतदान केन्द्र, टंकीसिनवारीमा रहेको नरग्राम मा।बि। मतदान केन्द्र, तथा बुढीगंगा ४ को सरस्वती आधारभूत मतदान केन्द्रमा पनि बिहान न्यून मतदाता थिए । चिसो मौसमका कारण मतदाताहरु आउन ढिला भएको हुनसक्ने निर्वाचन अधिकृतहरुले बताएका छन् ।









