निर्धक्क भएर मताधिकार प्रयोग गर्न आह्वान

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा भाग लिई निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न मतदातालाई आह्वान गरेका छन् । उनले निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशिला भएको र आफूले रोजेको प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले नै वैधता र सुनिश्चितता प्रदान गर्ने हुँदा निर्धक्क भएर मतदान गर्न आह्वान गरेका हुन् ।

निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन आयोगले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रमुख आयुक्त थपलियाले भने, ‘कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिई आस्था, विचार, सिद्धान्त र निष्ठाबाट निर्देशित एवं परिचालित हुने वातावरण बनाउन निर्वाचन आयोग दृढ सङ्कल्पित रहेकाले सबैको सकारात्मक सहयोग र इमानदार प्रयत्न हुने विश्वास व्यक्त गर्दछ ।’

उनले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भएको बताए । मतदातालाई मतदानका लागि आह्वान गर्दै उनले भने, ‘जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणाली, जनतामा निहित सार्वभौम सत्ता, नागरिक स्वतन्त्रता, मौलिक हक, बालिग मताधिकार, आवधिक निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा हुन लागेको निर्वाचन भयमुक्त वातावरणमा हुनेगरी तयारी पूरा भएको छ ।’

उनले निर्वाचनको निष्पक्षतामा प्रतिकूल असर पर्नेगरी मतपत्र, मतपेटिका वा मतदान सामग्री खोस्न, लुट्न, नष्ट गर्न वा कब्जा लिन खोज्ने, असामान्य परिस्थिति सिर्जना गर्ने वा गराउन खोज्ने, पटक–पटक मतदान गर्न खोज्ने, मतदान अधिकृतले निषेध गरेको कुनै कार्य गर्न खोज्ने जोकोहीलाई कानुनबमोजिम कारबाही गर्न निर्देशन दिइएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eighteen =