पर्यटनले बोर्डले हेऱ्यो ‘उचाइ’, नेपाललाई छायांकन हब बनाउने नीति लिइने

काठमाडौँ । नेपालको पर्यटनको मुख्य आधारमध्ये एक नेपालको भौगोलिक विविधतामा अटेका मनोरम दृश्यहरुबीचको संसारकै अग्लो स्थान ‘सगरमाथा’ हो । सबैभन्दा अग्लो स्थानमा पुग्ने चाहना हरकोहिको हुन्छ तर, त्यहाँ पुग्न सबैले सामर्थ्य राख्दैनन् । सगरमाथाको बेस क्याम्पसम्म भने धेरै पुगेका हुन्छ । ट्रेकिंग मार्फत बेसक्याम्पसम्म जानको लागि दैनिक सयौँ पर्यटक नेपाल आउँछन् ।

यतिबेला संसारभरका दर्शकले नेपालको सगरमाथा बेसक्याम्पमा पुगिरहेका बलिउड सुपरस्टारहरुलाई चलचित्र मार्फत हेरिरहेका छन् । अर्थात् बलिउड चलचित्र ‘उँचाई’ यतिबेला विश्वव्यापी चलिरहेको छ, जसमा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, डेनि डेङ्गजोङ्पा, परिनिती चोपडा लगायतका कलाकारहरुको अभिनय छ ।

सुरज बड्जत्याले निर्देशन गरेको यो चलचित्रले सगरमाथा बेसक्याम्प ट्रेकको पूर्ण अनुभुति त दिन्छ नै नेपाली ढाका टोपी, नेपाली कागज तथा नेपालको संस्कृतिलाई समेत इमान्दारिताका साथ पेश गरेको छ । सम्भवत इतिहासमा नै पहिलोपटक कुनै विदेशी चलचित्रले नेपालप्रति यति धेरै इमान्दारी देखाएका छन् । कुनै विदेशीले आफ्नो चलचित्रमा नेपालको झण्डा फहराउनु कुनै मामुली इमान्दारिता होइन । चलचित्रको अन्तिमतिरको त्यो दृश्यले नेपालीहरुको मन बहकाउन सफल छ ।

यो चलचित्रले सगरमाथालाई सबै कष्टहरुको समाधानको प्रतिकको रुपमा प्रस्तुत गरेको छ । हामीले उनिहरुले चलचित्रमा पेश गरेका फरक(फरक व्यक्तिहरुका कथालाई जीवन उपयोगीताको रुपमा स्विकार्न सक्छौं भने ति कथाको मुख्य श्रोतले नेपालको पर्यटन प्रवर्धनमा किम्मती योगदान दिएको छ । पर्यटन प्रवर्धनको हेतु विभिन्न कार्यहरु गर्दै आएको नेपाल पर्यटन बोर्डले शुक्रवार साँझ ‘उँचाई’को बिशेष प्रदर्शनी आयोजना गरेको थियो ।

उक्त प्रदर्शनीमा पर्यटन व्यवसाय तथा चलचित्रसँग सम्वद्ध व्यक्तिहरुको उपस्थिती थियो । बोर्डले यस प्रकारले अन्य विदेशी चलचित्रहरुमार्फत नेपालको पर्यटन प्रचार हुने विश्वास राख्दै उक्त प्रदर्शनी आयोजना गरेको थियो जसमा चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीको पनि उपस्थिती थियो ।

पर्यटन बोर्डका ब्यवस्थापक सुर्य थपलियाले चलचित्र र पर्यटन क्षेत्रको सहकार्यको ढोका खोल्ने प्रयासस्वरुप प्रदर्शनी आयोजना गरिएको बताए । उनले भने, ‘चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डबीच सहकार्यको ढोका खोल्ने काम गरेका हौँ । चलचित्र क्षेत्रले नेपालको पर्यटनमा कति फरक पार्छ भन्ने कुरा ‘ऊँचाई’ले देखाएको छ । विशेष गरी विदेशी फिल्म नेपालमा यसरी खिचेर देखायो भने हामीले सजिलै नेपाललाई विश्वमाझ चिनाउन सक्छौँ । जसको लागि चलचित्र विकास बोर्डको साथ जरुरी छ ।” थपलियाले भारत सहितका विदेशी चलचित्रहरुको नेपालमा छायांकन गर्ने वातावरण मिलाउन चलचित्र क्षेत्रसँग सहकार्य गर्न लागेको जिकिर गरे ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले विदेशी फिल्म नेपालमा छायांकन गरी नेपालको हरेक क्षेत्रको हित हुने काममा बोर्ड सदैव साथमा रहेको प्रतिक्रिया दिए । उनले बोर्डको नीति धेरै भन्दा धेरै विदेशी चलचित्रलाई नेपालमा छायांकनको लागि बोलाई नेपाललाई ‘छायांकन हब’ बनाउने रहेको बताए । चलचित्र विकास बोर्डका अधिकृत चिरन्जिवी गुरागाईंले पछिल्लो समय नेपालमा विभिन्न हलिउड तथा अन्य चलचित्र उद्योगको नजरमा समेत नेपालको लोकेशन परेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *