३२ महिलाले यसरी हाँक्दै छन् चितवनको एउटा मतदान स्थल (तस्बिरसहित)

चितवन । चितवनको जिल्ला प्रशासन कार्यालयनजिकै रहेको एउटा यस्तो मतदान स्थल छ, जहाँ खटिने कर्मचारी सबै महिला छन् । मङ्सिर ४ गते भोलि बिहान ७ बजेबाट सुरु हुने निर्वाचनको लागि महिला कर्मचारी मात्रै भएका त्यो मतदान स्थलमा पुग्दा सम्पूर्ण तयारी लगभग पूरा भएको पाइयो । ३२ महिला काममा धमाधम जुटेका छन् ।

भरतपुर १० मा रहेको भरतपुर माविको मतदान स्थलमा ३२ कर्मचारीमा एक जना पनि पुरुष कर्मचारी छैनन् । मतदान अधिकृतदेखि सुरक्षाकर्मीसम्म सबै महिला रहेका छन् । निर्वाचन कार्यालय भरतपुरका प्रमुख भीमसेन कार्कीले भरतपुर माविमा चार वटा केन्द्र रहेका र एउटा केन्द्रको लागि ८ जना कर्मचारी खटिएको जानकारी दिए । उनले भने, ‘३२ जना सबै महिला हुन्, चितवनको नमुना मतदान स्थल बनेको छ ।’

चितवनमा १६२ मतदान स्थल छन्, भरतपुर माविको मतदान स्थलमा मात्र महिला मात्र छन् ।

उक्त मतदान स्थलमा २३ जना सुरक्षाकर्मी खटिएका छन्, ती सबै सुरक्षाकर्मी महिला नै हुन् । ‘महिला मात्रै भएको हुनाले काम गर्न उत्साहित भएका छौँ, कुनै डरको अनुभव भएको छैन । तयारी पनि लगभग सकिसकेका छौँ’ मतदान केन्द्र ‘ख’की अधिकृत विष्णुमाया विकेले भनिन् ।

शुक्रवार सर्वदलीय बैठक बसेपछि निर्वाचनमा दल तथा जनप्रतिनिधिहरूले पनि सभ्य र भव्यरुपमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । उनले भनिन्, ‘पुरुष कर्मचारी नहुँदा पनि कुनै समस्या आएन, धमाधम महिला काममा जुट्दा फरक अनुभूति भएको छ ।’

यस अघिसम्म बाल मन्दिर स्कुलमा हुँदै आएको मतदान स्थल यस पटक भरतपुर माविमा सारिएको हो । बाल मन्दिरमा ठाउँ साँघुरो भएकोले यस पटक भरतपुर माविलाई मतदान स्थल बनाइएको सहायक मतदान अधिकृत मिना अर्यालले जानकारी दिइन् ।

फरक–फरक कार्यालयका कर्मचारीको भेट भए पनि सबै महिला मात्रै हुँदा काम गर्नुको आनन्द नै छुट्टै भएको उनी बताउँछिन् । भरतपुर मावि मतदान स्थलबाट तीन हजार ४२९ जना मतदाता छन् ।

चितवनको भरतपुर माविको मतदान स्थललाई नमुना मतदान स्थल बनाइएको निर्वाचन कार्यालय भरतपुरका प्रमुख भीमसेन कार्कीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *