कास्कीको नमुना मतदान केन्द्र: जसको सबै जिम्मेवारी महिलाले मात्रै पाएका छन्

पोखरा । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कास्कीका ३ वटा मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीले मात्रै सम्हालेका छन् । जिल्लाका १ सय ५० मतदान स्थलका ३ सय ४४ मतदान केन्द्रमध्ये हरेक क्षेत्रका एउटा मतदान केन्द्रमा महिला कर्मचारीले मतदान प्रक्रिया टुङ्गाउने जिम्मा पाएका जिल्ला निर्वाचन अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए ।

ती मतदान केन्द्रमा खटिएका मतदान अधिकृतदेखि सहयोगीसम्म महिला छन् । निर्वाचन केन्द्रहरूलाई महिलामैत्री र नमुना बनाउन महिलाकै नेतृत्वमा जिम्मेवारी दिएको पराजुलीले सुनाए । १ मतदान अधिकृत, १ सहायक मतदान अधिकृत, ६ सहायक कर्मचारी र ३ जना सहयोगी खटाइएको छ । उनीहरू सबै महिला हुन् ।

कास्कीको क्षेत्र नम्बर १ अन्तर्गत जनप्रकाश मावि मतदान केन्द्रमा गीता न्यौपानेको टिमले निर्वाचन सम्पन्न गर्नेछ । कास्की क्षेत्र २ अन्तर्गत पार्दी माविको मतदान केन्द्रको नेतृत्वको सरिता रायमाझीले गर्दै छिन् भने क्षेत्र नम्बर ३ अन्तर्गत सामुदायिक भवन बसुन्धरा पार्क मतदान केन्द्रको गीता घिमिरे दोरंगाले नेतृत्व गर्दै छिन् ।

निर्वाचनमा खटिएका महिला कर्मचारीहरूले यस्तो अवधारणाले महिलामा नेतृत्व क्षमताको विकास हुने बताएका छन् । महिलालाई दिएको नेतृत्व सफलताका साथ सम्पन्न गराउन कटिबद्ध भएर लाग्ने दोरंगा बताउँछिन् । ‘हामी मतदान केन्द्रको व्यवस्थापनमा खटिएका छौँ । मतपत्र बुझिसक्यौँ । सर्वदलीय बैठक पटक पटक राख्यौँ,’ उनले भनिन्, ‘शान्ति सुरक्षाको पाटोलाई ध्यानमा राखी हामीले पाएको जिम्मेवारी गुनासो गर्न नसक्ने गरी सम्पन्न गर्छौँ ।’

कास्कीमा १ सय ५० मतदानस्थलमध्ये ५० ओटा अति संवेदनशील रहेको मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले जानकारी दिए । तर ती मतदान केन्द्रमा पनि सुरक्षा संयन्त्र चुस्त भएकोले भय रहित अवस्थामा निर्वाचन सम्पन्न हुने उनको भनाई छ । जिल्लामा प्रतिनिधिसभातर्फ ४६ र प्रदेशतर्फ ४५ गरी ९१ उम्मेदवार प्रतिस्पर्धामा छन् । कास्कीमा २ लाख ९१ हजार ५ सय ६८ मतदाता छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *