सलबलाउँदै निर्वाचन बिथोल्न खोज्ने समूह, उपत्यकाका तीन ठाउँमा संकास्पद वस्तु भेटिए

काठमाडौँ । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनअन्तर्गत मतदानको दुई दिन बाँकी रहँदा चुनाव बिथोल्न खोज्ने समूह सलबलाउन थालेको छ । निर्वाचन बिथोल्ने घोषणा नै गरेको उनीहरूमाथि प्रहरीले निगरानी बढाएपनि संकास्पद वस्तु भेटिन थालेको हुन् ।

आज बिहानमात्रै काठमाडौँ उपत्यकाका तीन र मकवानपुरको हेटौडामा संकास्पद वस्तु भेटिएका छन् । उपत्यकामा भेटिएका सबै संकास्पद वस्तु बम नभएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सीताराम रिजालले मकालुखबरलाई जानकारी दिए । उनकाअनुसार ललितपुरको जावलाखेलमा फेला परेको शंकास्पद प्रेसरकुकर हो । सो प्रेसरकुकरमा ‘निर्वाचन अवज्ञा गरौँ’ भनेर लेखिएको पर्चा भेटिएको उनले बताए ।

बिहान ८ बजेर ५० मिनेटमा नक्कली बम नेपाल सेनाले डिस्पोज गरेको थियो । काठमाडौँको बूढानीलकण्ठ र हाँडीगाउँस्थित भत्केको पुलमा भेटिएका शंकास्पद वस्तु बम होइनन् । हाँडीगाउँमा प्रेसर कुकरमा तार जोडेर राखेको अवस्थामा बिहान भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टिमले डिस्पोज गरेको थियो । बूढानीलकण्ठस्थित स्पेशल चोकको शंकास्पद वस्तु डिस्पोज गरिएको एसपी रिजालले जानकारी दिए ।

यस्तै मकवानपुरको हेटौँडा–१० राप्ती पुल नजिकै फेला शंकास्पद वस्तुलाई नेपाली सेनाले निष्क्रिय पारेको छ । गए राति अन्दाजी १० बजेको समयमा प्रेसर कुकरसहित फेला परेको शंकास्पद वस्तुलाई सेनाले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कार्यालयका प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले फेला परेको शंकास्पद वस्तुमा कुनै पनि विस्फोटक पदार्थ नरहेको जानकारी दिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ४ मंसिर आइतबार हुने आम निर्वाचन नजिकिँदै गर्दा शंकास्पद वस्तु देखा परेपछि सो क्षेत्रका स्थानीय त्रसित भएका थिए ।

उक्त वस्तु निर्वाचन बहिष्कार गर्न सक्रिय समूहहरूले राखेको प्रहरीको निष्कर्ष छ । यसअघि गृह मन्त्रालयले नेत्रविक्रम चन्द ‘विप्लव’सहितका साना-ठूला २५ समूह निर्वाचन बहिष्कारमा सक्रिय रहेको निष्कर्ष निकालेको थियो । ती समूहमाथि उच्च निगरानीमा राखिएको प्रहरीको भनाई छ ।

निर्वाचन बिथोल्न भित्रभित्रै सक्रिय रहेको सूचना पाएपछि सरकारी संयन्त्र सचेत भएर निगरानीमा लागेको छ । ‘निर्वाचन बिथोल्ने वा भाँड्ने कुरालाई मूकदर्शक भएर हेर्न सकिन्न’, गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले भने । मन्त्रालय स्रोतका अनुसार विभिन्न २५ समूह चुनाव बिथोल्ने रणनीतिमा रहेका छन् । माओवादीबाट टुक्रिएका शक्ति नै दुई/तीनवटा छन्, अन्य ८/१० जना व्यक्ति रहेका समूह पनि छन्, ती सबै शक्ति र समूह उच्च निगरानीमा रहेको मन्त्रालयले स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + fourteen =