कास्कीको मतगणना ७ दिनभित्र सकिने, ६ घण्टामा मतपेटिका संकलन हुने

पोखरा । कास्कीका ३ वटै निर्वाचन क्षेत्रका प्रत्यक्ष र समानुपातिक मतगणना ७ दिनभित्र सक्ने प्रक्षेपण गरिएको छ । मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलका अनुसार ३ दिनभित्र प्रत्यक्ष र त्यसपछिको ४ दिनमा समानुपातिक मतगणना सकिने छ ।

कास्कीमा पौने २ घण्टासम्म हिँडेर मतदानका लागि मतदाता जानुपर्ने छ । ‘यहाँको भूगोल र विकटता हेरेर २ घण्टासम्म पनि लाग्न सक्छ । पैदल हिँडेर जाँदा मतदान स्थल अलि पर जस्तो देखिन्छ,’ उनले भने, ‘तर साह्रै दुख हुने गरी मतदान स्थल तोकेका छैनौँ । पायक पर्ने ठाउँमा छन् ।’ उनले निर्वाचनको सबै तयारी पूरा भएको बताए । कर्मचारीहरू मतदान सामग्री लिएर कार्यक्षेत्र तर्फ गइसकेका छन् ।

मतदान सकिएपछि ६ घण्टाभित्रमा कास्कीका सबै मतपेटिका संकलन भइसक्ने छन् । ‘हामी तयार अवस्थामा छौँ । सुरक्षा निकाय चुस्त छ । सबै संयन्त्रबीच राम्रो समन्वय छ,’ प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले भने, ‘जिल्लामा अप्रिय घटना हुने सम्भावना छैन । यहाँको शान्ति सुरक्षा निकै चुस्त र राम्रो बनाएका छौँ ।’ दलहरुबीचको प्रतिस्पर्धा स्वस्थ खालको भएको उनले सुनाए ।

कास्कीमा ३ सय ४४ मतदान केन्द्र छन् । हरेक मतदान केन्द्रमा ८ जना कर्मचारी र ३ जना स्वयंसेवक खटाइएको छ । जिल्लाभरी २ हजार ७ सय ५२ जना कर्मचारी निर्वाचनका लागि खटिएका निर्वाचन कार्यालय प्रमुख हुमनाथ पराजुलीले बताए । जिल्लाका अधिकांश मतदान स्थल सकेसम्म अपांगता मैत्री बनाइएको उनले बताए । पोखरा ६ बसुन्धरा पार्कको सामुदायिक भवन मतदान केन्द्र महिलाले मात्रै सञ्चालन गर्ने छन् ।

‘यहाँका सबै कर्मचारी र स्वयंसेवक तथा सुरक्षा संयन्त्र महिला मात्रै छन् । यो हाम्रो जिल्लाको नमुना मतदान केन्द्र हो,’ पराजुली भन्छन्, ‘सबैजसो मतदान स्थल अपांगता मैत्री बनाएका छौँ । तर गाउँका मतदान स्थलमा भने भूगोलको समस्याले अपांगता मैत्री बनाउन सकिएको छैन । तैपनि अधिकतम प्रयास गरेका छौँ ।’ अघिल्ला निर्वाचनहरूमा भन्दा अहिले अपांगता भएका व्यक्तिहरूको मत धेरै खस्ने उनले सुनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *