मौन अवधि : मतदाताको परीक्षा

काठमाडाैँ । निर्वाचन आयोगले दिएको प्रचारप्रसारको समय सकिएर स्थिर समय (मौन अवधि) सुरु भएको छ । गएको कात्तिक १७ गतेदेखि शुरु भएको प्रचारप्रसारको समय सकिएसँगै अपनाउनुपर्ने सावधानीबारे आयोगले जानकारी दिइसकेको छ । आयोगले यो मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा माध्यम सहित अरू कुनैपनि माध्यमबाट उम्मेदवारको पक्ष वा विपक्षमा सूचना प्रवाह गर्न रोक लगाएको छ ।

यदि मौन अवधिमा निर्वाचन आचारसंहिता विपरीत गतिविधि गरेमा कारबाही गर्ने चेतावनी आयोगले दिएको छ । उम्मेदवारहरूलाई प्रचारप्रसार अन्त्य गर्न मात्रै नभएर अरू दायित्व पनि आयोगले दिएको छ । त्यो भनेको मतदानस्थलको तीन सय वरपर राखिएका उम्मेदवारका प्रचार सामग्री हटाउनुपर्नेछ । उम्मेदवार र दलका कार्यकर्ताले यो अवधिमा प्रचारप्रसार गरेमा सम्बन्धित उम्मेदवारलाई त्यसको असर पर्नेछ ।

यो मौन अवधि सकिएपछि भने ४ मंसिरका दिन मतदान हुनेछ । प्रतिनिधिसभा र प्रदेशसभाका लागि एकैपटक मंसिर ४ मा हुने निर्वाचनका लागि निर्वाचन आयोगले गएको कात्तिक १७ देखि प्रचारप्रसारको समय दिएको थियो । यो अवधिमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ मैदानमा उत्रिएका दुई हजार ४१२ जना र प्रदेशसभातर्फ तीन हजार २३२ जनाले आफ्नो प्रचार गरेका छन् । यी मध्ये गोप्य मतदानबाट प्रदेशसभातर्फ ३३० र प्रतिनिधिसभातर्फ १६५ जना निर्वाचित हुनेछन् । प्रदेशसभातर्फ मनाङ (ख) मा यसअघि नै दीपक मनाङे निर्विरोध भइसकेका छन् । बाँकी उम्मेदवारहरूले प्रचारप्रसारको अवधिमा सकेसम्म मतदाता रिझाउने प्रयत्न गरेका छन् । आजबाट शुरु भएको मौन अवधि भने मतदाताका निम्ति हो । यो निर्वाचनमा मतदान गर्न योग्य भएका एक करोड ७९ लाख ८८ हजार ५७० जनाले मौन अवधिमा गम्भीर भएर सोच्नुपर्नेछ ।

अर्थात्, आजबाट उम्मेदवारहरूको दायित्व पूरा भएको छ । उनीहरूले निर्वाचन आचारसंहिता पालना गर्दै जनादेशको पर्खाइमा बस्नुपर्नेछ । धेरै मत ल्याउनेले आगामी पाँच वर्षका लागि जनप्रतिनिधि भएर काम गर्नुपर्नेछ । प्रतिनिधिसभाका सांसदले संघीय सरकार र प्रदेशसभा सदस्यहरूले प्रदेश सरकार गठन गर्नु पहिलो दायित्व हुनेछ । त्यसबाहेक कानून निर्माण, बजेट अनुमोदन र सरकार सञ्चालनका लागि आवश्यक नीतिगत निर्णयमा तल्लीन हुनेछन् । सँगै, उम्मेदवार हुँदा जनतासँग कबोल गरेको बाचा पूरा गर्नेतिर जनप्रतिनिधिले ध्यान दिनुपर्नेछ । मतदाताले गम्भीर भएर सोच्ने समय शुरु भएको छ । प्रचारप्रसारका समयमा उम्मेदवारहरूले गरेको प्रतिबद्धतालाई गहिरो अध्ययन गरेर मतदानका निम्ति तयार हुनु आम मतदाताको बाँकी दायित्व हो ।

उम्मेदवारहरू मध्ये एक जना चयन गर्नु त्यति सजिलो काम होइन । किनकि एकपटक मत दिइसकेपछि त्यसलाई सच्याउन अर्को मतदान कुर्नुपर्नेछ । एउटा गल्तीले पाँच वर्षसम्म मात्रै नभएर मुलुकको अभिछिन्न राजनीतिक–आर्थिक निरन्तरतामा असर गर्नेछ । पक्कै पनि प्रचारप्रसारका अवधिमा उम्मेदवारहरूले अनेक प्रलोभन देखाएका छन् । कतिपयको आशंकाजस्तै भोजभतेर वा अरू कुनै आचारसंहिता विपरीतका कार्य उम्मेदवारबाट भएको पनि हुन सक्ला ।

तर मत भनेको पाँच वर्षका लागि अर्को कुनै व्यक्ति विशेषलाई आफ्नो राजनीतिक अधिकार सुम्पनु हो । कस्तो सरकार बनाउने ? कस्तो आर्थिक नीति अपनाउने ? सेवा प्रवाहबारे कुन प्रणाली अपनाउने ? जस्ता निर्णय मतसँगै मतदाताबाट अलग हुनेछ । तसर्थ मतको गरिमा बुझ्न जरुरी छ । मतदान कुनै चिन्हमा खसाइने छाप मात्रै नभएर अख्तियारीपत्रको हस्तान्तरण पनि हो । त्यसैले मतदानको दिनसम्म अब मतदाताले गम्भीर भएर सोच्नमा समय खर्चनुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + twenty =