मतदान केन्द्रमा हवाई गस्तीदेखि तीन घेराको सुरक्षा

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अति संवेदनशील मतदान केन्द्रलाई लक्षित गरी हवाई गस्तीको समेत प्रबन्ध गरिएको बताएका छन् । मतदाताको अधिकार सुरक्षित गर्न आयोग प्रतिबद्ध छ भन्दै उनले भने, ‘मतदान केन्द्र कब्जा गरी जित्न खोज्नेलाई मतदाताले रोक्नुपर्छ, त्यस्ता व्यक्ति त बेइमान हुन् ।’

बिहीबार आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्नुहुँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्थाका अतिरिक्त ३० मिनेटभित्र पुग्न सक्ने गरी पर्याप्त सुरक्षाकर्मीको रिजर्भ फोर्सको व्यवस्था गरिएको जानकारी दिए ।

निर्वाचन बिथोल्ने, बुथ कब्जा गर्नेलगायतका गतिविधि रोक्न आवश्यक सुरक्षा रणनीति अपनाइएको छ । जोखिमका आधारमा सुरक्षा गस्ती परिचालन गरिने र संवेदनशीलतालाई ध्यान दिँदै अधिकार सम्पन्न घुम्ती टोली परिचालन गरिने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए ।

उनले भने, ‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, पारदर्शी एवम् विश्वसनीय बनाउन आयोगले आवश्यक सुरक्षा प्रबन्ध मिलाइसकेको छ । निर्वाचन बिथोल्ने वा बहिष्कार गर्ने, बुथ कब्जा गर्ने, मतदातालाई मतदानको अवसरबाट वञ्चित गर्ने, डर, धाक, धम्की दिने लगायतका कार्यहरू गरी निर्वाचनको स्वच्छतामा असर पुर्‍याउने कुनै पनि गतिविधिहरू रोक्न आवश्यक सुरक्षा रणनीतिसहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 13 =