भक्तपुरको गठबन्धनलाई करेन्ट लागेको छ : महेश बस्नेत

भक्तपुर । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्व मन्त्री तथा एमाले भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले एमालेको पार्टी सङ्गठन विस्तार र चुनावी रणनीतिका कारण भक्तपुरको गठबन्धनका दलहरूमा करेन्ट लागेको बताएका छन् ।

क्षेत्रीय निर्वाचन परिचालन कमिटीले आज मध्यपुर थिमी नगरपालिका वडा नं. ६ चपाचोमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता बस्नेतले एमालेको चुनावी अभियान देखेर गठबन्धनका दलहरूमा वर्वराहट हुन थालेको बताए ।

चुनावी एजेन्डा नै नभएपछि गठबन्धनका दलहरूले एमालेको विरुद्धमा भ्रम फैलाउँदै जनताको बिचमा जाने गरेको आफूलाई जानकारी आएको उल्लेख गर्दै उनले कांग्रेसका टोल कमिटीका नेताहरूले नै एमालेमा भोट हाल्ने बताए ।

 

बस्नेतले भने, ‘कांग्रेसलाई भक्तपुरमा जाडो महिनामा माग्नेको धोती लगाएको जस्तो भएको छ । जाडोमा मागेर लगाएको धोती छ, माथि लगाउँदा मुनी हुँदैन, मुनी लगाउँदा माथि हुँदैन । मध्यपुर तिर दौडियो सूर्य विनायक तिर विग्रहको छ, सूर्य विनायक तिर दौडियो मध्यपुरतिर बिग्रिएको छ । त्यसैले एमालेलाई सूर्य विनायक तथा मध्यपुर जता गए पनि स्वागत गरेका छन्, विजयको शुभकामना दिएका छन् ।

काँग्रेसको टोल टोलमा विद्रोह भएको छ, टोल टोलमा महेश बस्नेत खोजिँदै छ, एमाले बोलाईदैछ ।

काँग्रेसले महेश बस्नेत र एमालेका उम्मेदवार विरुद्ध भ्रमको खेती गरिरहेको उल्लेख गर्दै उनले उक्त भ्रमलाई जनताले अस्वीकार गरी एमालेका उम्मेदवारलाई २४सैं घण्टा घरघरमा स्वागत तथा एमालेमा प्रवेश गरिरहेको बताए ।

महन्ते कोरिडोर कुनै पनि हालतमा बनाएरै छोड्ने प्रतिबद्धता जनाउँदै उनले भक्तपुरमा भौतिक पूर्वाधारको क्षेत्रमा एमाले नेतृत्वले गरेका विकासका कार्यहरूको समेत जानकारी गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =