निर्वाचन २०७९

काङ्ग्रेसबाट विद्रोह गरेका दिनेश कोइरालाले भने– काँग्रेस र एमालेको मतले जित्छु 

चितवन । चितवनको निर्वाचन क्षेत्र नं. ३ छाडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल गोरखा पुगेपछि यहाँको चुनावी प्रतिस्पर्धा त्रिपक्षीय हुने देखिएको छ ।

यस क्षेत्रमा एमालेको समर्थनमा उम्मेदवार बनेका दिनेश कोइराला, राप्रपाका विक्रम पाण्डे र सत्ता गठबन्धनका डा. भोजराज अधिकारीका बिचमा चुनावी प्रतिस्पर्धा हुँदैछ । पार्टी केन्द्रले चितवन ३ का काङ्ग्रेसमाथि अत्याचार गरेको भन्दै दिनेशले विद्रोहको विपुल बजाएका छन् । कोइराला विद्यार्थी राजनीति वाट आएका हुन् । नेपाल जेसिज सन् २००८ को राष्ट्रिय अध्यक्षसमेत बनेका कोइरालासँग मंसिर ४ गतेको निर्वाचनको मौन अवधि सुरु हुनुभन्दा अगाडि गरिएको कुराकानी :

 

तपाईँ काङ्ग्रेसबाट विद्रोह गरेर उम्मेदवार बन्नुभएको छ । जनताको बिचमा जाँदा कस्तो पाउनुभयो ?

पक्कै पनि नेतृत्वले काँग्रेसको गढ भएको चितवन ३ मा माओवादीलाई छाडेपछि हामीले विद्रोह गर्नुपर्ने अवस्था आयो । कहिलेसम्म सहने कहिलेसम्म काँग्रेसले माओवादी बोकेर हिँड्ने ? ल हिजो प्रचण्डलाई र उनको छोरीलाई त बोकियो तर उनले जसजसलाई उठाउँछन् उसलाई पनि काँग्रेसले समर्थन गर्न थालेपछि न त्यहाँ काँग्रेस रहने भयो, न कुनै नेताको भविष्य रहने भयो । त्यसैले हामीले विद्रोह गरेर जनताको बिचमा गयौँ । जनताको बिचमा जाँदा राम्रो प्रतिक्रिया पाएको छु । उहाँहरूले साथ दिनुहुन्छ ।

 

कस्तो पाउनुभएको छ प्रतिस्पर्धा ?

म काँग्रेसको केन्द्रीय सदस्य हुँ । मैले कुनै कांग्रेसका नेताका विरुद्धमा उम्मेदवार बनेको हैन । प्रचण्डले जोजो उठाउँछन् तिनलाई समर्थन गरेर हिँड्ने काम हामी कांग्रेसलाई सुहाउने कुरा हैन । त्यसैले मैले उठ्ने निर्णय लिएँ । मलाई एमालेले समर्थन ग¥यो । एमालेले साथ दिएको छ, म त्यसमा सम्मान व्यक्त गर्दछु । धन्यवाद दिन्छु ।

तपाईँलाई काँग्रेस र एमालेले किन मत दिन्छन् ?

म काँग्रेसको केन्द्रीय सदस्य हो । चितवनका काङ्ग्रेसहरूले हिजो भन्दै आउनुभयो, हाम्रो उम्मेदवार भएन, सधैँ माओवादीलाई मत दिन प¥यो । तर, यस पटक म काङ्ग्रेसबाट उठेको छु । कांग्रेसका मतदाताले, समर्थकले, नेता कार्यकर्ताले अब मलाई मत नदिए कसलाई दिने ? दिनेश कोइराला काँग्रेस हैन भन्न उहाँहरूले सक्नुहुन्न । मैले काँग्रेसमा ठूलो योगदान गरेको छु । मलाई विश्वास छ चितवन क्षेत्र नं. ३ का कांग्रेसका सबै जनाले मलाई मत दिनुहुन्छ । म काँग्रेस र एमालेको साझा उम्मेदवार हो ।

 

एमालेको पछाडि लागेर मत माग्नु भएको भन्ने आरोप लागेको छ नि ?

एउटा कुरा म के भन्छु भने । देउवा किन प्रचण्डको पछाडि लाग्नुभएको हो ? प्रचण्ड कि काँग्रेस र देउवाको पछाडि लाग्नुभएको हो ? देउवाले माओवादीको हँसिया हथौडामा मत माग्न र दिन हुन्छ भने कांग्रेसका अन्य मतदाता र कार्यकर्ताले किन सूर्यमा मत हाल्न नहुने ? देउवाले जेजे भन्नुहुन्छ जताजता भन्नुहुन्छ उतै मात्र किन मत दिने ?

 

निर्वाचन जित्नेमा कतिको आशावादी हुनुहुन्छ ?

हेर्नुस्, म चितवनको राजनीतिमा सुरुदेखि नै छु । यहाँको राजनीतिक, सामाजिक परिवर्तनमा मेरो योगदान छ । म विकृतिका विरुद्धमा आवाज उठाएको हँ । अहिलेको गठबन्धन देशको हितमा छैन भनेको छु । यो घटनाक्रमले पनि पुष्टि गरेको छ । म अन्यायमा परेको छु । हिजो महानगरपालिकाको मेयरको टिकट शेरबहादुर र प्रचण्डले  खोसेको होइन र ? विकृति त्यहीँबाट भित्रिएको हैन र ? मलाई विश्वास छ, चितवन ३ का आम न्याय प्रेमी कांग्रेसका मतदाता र एमालेका मतदाता, शुभेच्छुकहरूलाई मलाई मत दिनुहुनेछ । चितवनबाट एउटा सन्देश प्रवाह गर्नुहुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *