गण्डकीका यी नेता जो हरेक चुनावको उम्मेदवार बने

पोखरा । आसन्न मंसिर ४ गते हुने आम निर्वाचनको मिति करिव संघारमा छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको छनोट गर्नका लागि हुने उक्त निर्वाचनमा अधिकांश निर्वाचन क्षेत्रका उम्मेद्वार पूरानै अनुहार छन् । केही उम्मेद्वार आठौं प्रतिश्पर्धामा छन् भने केही ३ वा सो भन्दा बढी चुनाव लडिसकेका छन् । तनहुँका कांग्रेस नेता रामचन्द्र पौडेल सातौं र पृथ्वीसुब्बा गुरुङ आठौं पटक प्रतिश्पर्धा गर्दै छन् । २०४८ सालदेखि कुनैपनि निर्वाचन उनीहरुले छोडेका छैनन् । रामचन्द्र २०७४ को निर्वाचन बाहेक सबै चुनावमा विजयी भएका थिए । २०४८ मा तनहुँ–१ बाट र २०५१, २०५६, २०६४ र २०७० सालमा तनहुँ–२ बाट निर्वाचित भएका उनी २०७४ मा तनहुँ १ बाट पराजीत भए ।

पृथ्वीसुब्बा २०७४ को चुनावमा प्रदेश सभा सदस्यमा निर्वाचित भएर गण्डकीको संस्थापक मुख्यमन्त्री बने । २०४३ देखि चुनाव लडेका उनको प्रतिश्पर्धा सुखद छैन । २०४३ मा लमजुङ २ बाट उनी जनपक्षीय उम्मेद्वार थिए, पराजीत भए । २०४८ मा मालेका तर्फबाट उम्मेदवार बने, पराजित भए । २०५१ र २०५६ मा पनि सोही क्षेत्रमा पराजीत बने । २०६४ सालको संविधानसभा निर्वाचनमा भने उनी निर्वाचित भए । सोही समयमा गुरुङ मन्त्री समेत बनेका थिए । दोश्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा लमजुङ क्षेत्र नम्बर २ बाट फेरि पराजित भए । अहिले आठौं पटक गुरुङ प्रतिश्पर्धामा उत्रिएका छन् ।

कास्कीका खगराज अधिकारी २०७० बाहेकको चुनावी प्रतिश्पर्धी हुन् । उनी अहिले छैटौं पटक प्रतिश्पर्धामा छन् । अधिकारी पनि अधिकांश चुनाव हार्ने उम्मेद्वार हुन् । २०४८ मा हारेका उनी २०५१ मा विजयी भए । २०५६, २०६४ मा पराजीत भएका अधिकारीले २०७० को चुनावमा मानबहादुर जिसीलाई मैदान छोडिदिए । २०७४ मा कास्की १ बाटै विजयी अधिकारी अहिले प्रदेश सभा सदस्यको उम्मेद्वार छन् । यो चुनाव जितेर गण्डकीको मुख्यमन्त्री बन्ने दाउमा छन्, अधिकारी ।
गोरखाबाट चुनाव लडेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नवलपुरबाट चुनाव लडेका कांग्रेस केन्द्रिय सदस्य डा। सशांक कोइराला चौंथो पटक प्रतिश्पर्धा गर्दै छन् । प्रचण्ड रोल्पा, सर्लाही, चितवन हुँदै अहिले गोरखा पुगेका छन् । सशांक भने सबै चुनाव नवलपुर १ बाट प्रतिश्पर्धामा उत्रिए । उनीहरु दुवैले यसअघिका तीनवटै चुनाव जितेर ह्याट्रिक गरिसकेका छन् । गोरखा १ बाट एमाले उम्मेद्वार रामशरण बस्नेत पनि सबैभन्दा धेरै चुनाव फेस गर्ने नेता हुन् ।

२०४९ र २०५४ मा तत्कालीन नारेश्वर गाविसको अध्यक्ष जितेका उनी २०५६ सालमा अध्यक्ष छोडेर संसदीय चुनावमा प्रतिश्पर्धी भए । गोरखा क्षेत्र नम्बर १ मा कांग्रेसका चिरन्जीवी वाग्लेसँग पराजीत उनी २०७० को चुनावमा सोही क्षेत्रमा माओवादीका बाबुराम भट्टराईसँग हारे । २०७४ मा बाम गठबन्धन हुँदा माओवादीको साथले गोरखा १ ख बाट निर्वाचन जितेर बस्नेत गण्डकी सरकारको भौतिक पुर्वाधार विकास मन्त्री बन्न पाए । अहिले उनी गोरखा १ बाट चौंथो प्रतिश्पर्धामा छन् ।
लमजुङका देवप्रसाद गुरुङ, म्याग्दीका खमबहादुर गर्बुजा, स्याङजाका राजु थापा, मनाङका टेकबहादुर गुरुङ पनि धेरै चुनावमा प्रतिश्पर्धा गर्ने मध्येमा पर्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *