पाँचथरमा आङ्देम्बे र नेम्वाङको भिडन्त : गठबन्धनको साथले आङ्देम्बेलाई सहज  

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे र नेकपा एमालेका नेता वसन्तकुमार नेम्वाङ पाँचथरबाट प्रतिनिधि सभाको उम्मेदवारका रुमपा रहेका छन् ।

प्रतिनिधि सभाको एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरमा एमालेबाट पूर्व भौतिक तथा पूर्वाधार मन्त्रीसमेत रहेका नेम्वाङ् र आङ्देम्बेबीच कडा टक्कर हुने छ । आङ्देम्बे उम्मेदवार बनेको सत्ता गठबन्धनभित्र पाँचथरमा कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मात्र छन् ।

उनी २०७४ सालमा भएको प्रतिनिधिसभा चुनावमा दोस्रोपटक प्रतिस्पर्धी बनेका नेम्वाङसँग पराजित भएका थिए । त्यसबेला नेम्वाङ वाम गठबन्धनका संयुक्त उम्मेदवार थिए ।

के भन्छन् आङ्देम्बे र नेम्वाङ ?

आङ्देम्बेले यो पटक नेम्वाङलाई पराजित गरेरै छाड्ने बताएका छन् ।

उनी भन्छन्, ‘ जिल्लाले केन्द्रको भौतिक पूर्वाधारमन्त्री पाउँदा पनि पाँचथरले विकासको गति लिएन । अब पाँचथरे जनता निराश भएका छन् । त्यो कारण हामी गठबन्धनको जित सुनिश्चित छ । हामी निरन्तर घरदैलोमा हिँडेका बेला जनता गठबन्धन प्रति उत्साहित देखिएका छन् । स्थानीय तहको निर्वाचन परिणामलाई आधार मान्दा पनि गठबन्धन धेरै अगाडि छ । यसो हुँदा हामीले स्थानीय तहको नेतृत्व तहमा पनि गठबन्धन अगाडि नै छ । उहाँले सरकारमा रहँदा गरेको कामप्रति जनता निराश छन् । मेरो जित निश्चित छ ।’

यता नेम्वाङ् पनि आफूले पटक पटक चुनाव जितेरै यहाँसम्म आएको र अब पनि आफू निर्वाचित हुने बताउँछन् ।

उनी भन्छन्, ‘ मैले सरकारमा हुँदा शिक्षा, स्वास्थ्य तथा खानेपानीको क्षेत्रमा उल्लेख्य काम गरेको जनताले देख्नु भएको छ । म निरन्तर जनताको अगाडि बसेर काम गरेको हुनाले जनताले मलाई नेकपा एमालेलाई मत दिएर जिताउने छन् । स्थानीय तहको निर्वाचनलाई हेरेर केन्द्रको निर्वाचन आकलन गर्ने कुरा हुँदैन । त्यो भएको हुनाले जनताले मलाई विजय गराउने छन् । त्यही भएर मलाई पाँचथरका जनताले तीनपटक २०४८, २०५६ र २०७४ मा भोट दिएर सांसद बनाए । यो पटक पनि बनाउँछन् ।

स्थानीय तहको नतिजा के छ ? 
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा बामगठबन्धनको साथ पाएका नेम्वाङले ३८ हजार ६ सय १६ मत ल्याउँदा आङदेम्बेले २८ हजार ३५ मत प्राप्त गरेका थिए । दुई नेताबीच १० हजार ६ सय १६ मतान्तर थियो । तर अहिलेआङ्देम्बेलाई गठबन्धनको दरिलो साथ छ । गत स्थानीय तहको परिणाम हेर्ने हो भने जिल्लाका ८ पालिकामध्ये ६ पालिका जित्दै कांग्रेस पहिलो दल बनेको छ ।

एमाले र माओवादीले एक–एक पालिका जित हासिल गरेका छन् ।कांग्रेसले कुम्मायक, तुम्मबेवा, फालेलुङ, फाल्गुनन्द र हिलिहाङ गाउँपालिका सहित फिदिम नगरपालिका जितेको छ । माओवादीले मिक्लाजुङ गाउँपालिका र एमाले याङवरक गाउँपालिकामा जित हासिल गरेको छ । तर वडागत मतका आधारमा हेर्ने हो भने एमालेको सबैभन्दा बढी मत भए पनि सत्ता गठबन्धनका दलहरूको मत एमालेको भन्दा साढे १२ हजार बढी छ ।

स्थानीयतहको निर्वाचनमा नेकपा एमालेले– ३०, ९५८ मत ल्याउँदै पहिलो दल बन्यो भने नेपाली कांग्रेस– २५, ०६५ मत ल्याउँदै दास्रो बनेको थियो । त्यस्तै नेकपा माओवादी केन्द्र– ११, ८०८ ल्याउँदै तेस्रो दल बनेको छ । त्यसैगरी जनता समाजवादी पार्टी– २,६४३, एकीकृत समाजवादी– २,१६१ र राष्ट्रिय प्रजातन्त्र पार्टीले– १,९०९ मत प्राप्त गरेका थिए ।

२०७४ भन्दा पहिले दुई वटा चुनाव क्षेत्र हुँदा आङ्देम्बे र नेम्वाङको क्षेत्र भिन्नै थियो । आङ्देम्बेले क्षेत्र नम्बर २ र नेम्वाङले क्षेत्र नम्बर १ बाट चुनाव लडेका थिए । आङ्देम्बे २०७० मा भएको संविधानसभा चुनावमा निर्वाचित हुँदा नेम्वाङ भने आमचुनावहरू २०४८ र २०५६ मा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *