कमल जवेगु भन्छन्-‘मेरो र गठबन्धनको जित सुनिश्चित छ, जनताको साथ दरिलो छ’

काठमाडौँ । सत्ता गठबन्धनको साथमा पाँचथरको प्रदेश सभा (क) को निर्वाचनमा उम्मेदवारी दिएका कमल जवेगुले आफ्नो जित निश्चित भएको दाबी गरेका छन् ।
उनकै पूर्व सहकर्मी एमालेका राजकुमार भण्डारी उनको मुख्य प्रतिस्पर्धीको रूपमा खडा भएका बेला जवेगुले आफू गठबन्धनको सशक्त उम्मेदवार तथा जनताको सेवक भएकाले आफ्नो जित सुनिश्चित भएको दाबी गरे । जवेगु एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादी पार्टीतिर लागेका छन् । एकीकृत समाजवादीको जिल्ला अध्यक्षसमेत रहेका उनी कलम चुनाव चिह्न लिएर उठेका छन् । उनलाई गठबन्धनको दरिलो साथ छ ।
मकालुखबरगँग कुरा गर्दै जवेगुले भने, ‘म निरन्तर जनताको काम गरेर आएको मान्छे हुँ । गठबन्धनका साथीहरू मेरो साथमा हुनुहुन्छ, हामीले संविधान र जनताको संरक्षण गरेको हुनाले जित मेरो जित निश्चित छ । यतिमात्र होइन हामी पाँचथरमा गठबन्धनका सबै उम्मेदवारले सहज रूपमा विजयी हुनेछौँ।’
२०७१ पुसमा सम्पन्न नेकपा एमाले पाँचथरको सातौँ जिल्ला अधिवेशनबाट कमल जवेगुलाई सात मतले पराजित गर्दै राजकुमार भण्डारी अध्यक्षमा निर्वाचित भएका थिए । २०७४ सालको स्थानीय तहको चुनावमा भण्डारी फिदिम नगरपालिकाको मेयर र जवेगु फालेलुङ गाउँपालिकाको अध्यक्षमा पराजित भएका थिए ।
जवेगु भन्छन्, ‘१४ वडा रहेको फिदिम नगरपालिकाको तीनवटा वडाबाहेक र फालेलुङ गाउँपालिका प्रदेश (क) मा पर्छन् । हिलिहाङ र याङवरक गाउँपालिका पनि यही निर्वाचन क्षेत्रमा पर्छ । स्थानीय तहमा फिदिम र फालेलुङको प्रमुख र उपप्रमुख गठबन्धनले जितेको छ भने याङवरकमा प्रमुख–उपप्रमुख एमालेले जितेको छ । हिलिहाङमा प्रमुख गठबन्धन र उपप्रमुख एमालेले जितेको छ । ‘यो हिसाबलाई विश्लेषण गर्दा मेरो मा दोब्बरले अगाडि आउँने वाला छ । म दिनहुँ घरदैलोमा हिँडेको छु । जनताको सद्भाव र गठबन्धनको साथ दरिलो छ । म विजयी हुनु नै गठबन्धन विजय हुनु हो ।’ उनले भने, ‘हामी एमालेभन्दा धेरै अगाडि छौँ । कतिपय एमालेकै साथीहरूले पनि मलाई भोट हाल्छन् ।’
प्रदेश (क) मा ७४ हजार ४८ मत छ । यो प्रदेशमा दुई स्वतन्त्रसहित १० जना उम्मेदवार चुनावी मैदानमा छन् । तर मुख्य रूपमा चर्चा भने यी दुई जनाकै हुने गरेको छ ।
यो स्थानमा २०७४ सालको निर्वाचनमा नेकपाबाट गणेस काम्बाङ् विजयी भएका थिए उनी हाल नेकपा एकीकृत समाजवादी तिर छन् । उनको साथ जवेबुतिर नै छ ।








