पोखराको ल्याण्डफिल अझै टुंगिएन, होला त अन्तर्राष्ट्रिय उडान ? 

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सबैभन्दा पहिलो उडान गर्नुअघि पोखराको ल्याण्डफिल साइट हटाउनुपर्ने बाध्यता छ । साढे ३ वर्षदेखि ल्याण्डफिल साइट खोजेको पोखराले अहिलेसम्म ठाउँको छनोट गर्न सकेको छैन । २ वर्षअघि पोखरा १६ र २० को सीमानालाई ल्याण्डफिल बनाउने निर्णय भएपनि स्थानीयको अवरोधले उक्त निर्णयबाट पछि हट्यो ।

त्यसपछि पोखरा ३३ का विभिन्न ठाउँ प्रस्ताव भएको छ । त्यहाँका स्थानीयले पनि अवरोध गरेपछि महानगर अन्योलमा परेको छ । ल्याण्डफिल साइट व्यवस्थापनका लागि उपयुक्त स्थानको खोजी गरिरहेको महानगरले जनाएको छ । मेयर धनराज आचार्यले खोजीमा महानगर निरन्तर लागेको तर उपयुक्त ठाउँ पाउन नसकेको बताए ।

अहिले सामाजिक सञ्जालहरूमा महानगरले पोखरा ३३ मा ल्याण्डफिल सार्न लागेको चर्चा चलेपछि उनले उक्त जग्गाको निर्णय नभएको बताए । ‘आगामी जनवरी १ बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने कुरा हामी सबैलाई थाहा छ । त्यसका लागि पोखरा महानगरपालिकाले व्यवस्थापन गर्नुपर्ने ल्याण्डफिल साइटको व्यवस्थापन हाम्रा लागि चुनौतीको विषय हो,’ उनले भने, ‘अहिलेसम्म हामीले विभिन्न सात स्थानको अध्ययन गरिसकेका छौँ । तर यही ठाउँ भन्ने कुराको निर्णय भैसकेको छैन ।’

धेरै ठाउँहरूमा अवलोकन गरिरहेको र स्थानीयले शंका मात्रै गरेको आचार्यले बताए । ‘हामी धेरै ठाउँमा हेर्न गइरहेका छौँ । स्थानीयहरूले अनुमान लगाउनु भएको छ, शंका गर्नुभएको छ,’ उनले थपे, ‘यहाँ त्यहाँ भनेर सामाजिक सञ्जालमा चर्चा गरिएको छ । तर हामीले ल्याण्डफिल साइट व्यवस्थापन गर्ने स्थानको यकिन गरिसकेका छैनौँ ।’ निर्णय भईनसकेको विषयमा अनावश्यक रूपमा सामाजिक सञ्जालहरूमा होहल्ला नगर्न महानगरले आग्रह गरेको छ ।

हाल पोखरा १४ को ल्याण्डफिल साइटमा जसरी डम्पिङ गर्ने गरी फोहोरको व्यवस्थापन नगरिने महानगरले जनाएको छ । पोखराको फोहोर व्यवस्थापन देखी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्मका काम पोखराको साझा विषय भएकोले सबैको सहयोग आवश्यक पर्ने आचार्य बताउँछन् । क्यालीब्रेशन फ्लाइटको अन्तिम तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याण्डफिल साइट बाधक बन्ने देखिन्छ ।

हाल रिठ्ठेपानीको डाँडा कटानको काम भइरहेको छ । त्यहाँको माटोले अहिले सञ्चालनमा रहेको ल्याण्डफिल साइट पुर्न थालिएको छ । मंसिर दोस्रो साता क्यालिब्रेशन फ्लाइट गर्न लागिएको छ । ‘हामी ल्याण्डफिल साइटको व्यवस्थापन गर्ने क्रममा छौँ । यसो गर्दा केही अल्पकालीन र केही दीर्घकालीन हिसाबले व्यवस्थापन गर्नुपर्ने छ,’ उनले भने, ‘सुरुमा अल्पकालीन व्यवस्थापन गर्छौँ । त्यसपछि मात्रै दीर्घकालीन योजना ल्याउँछौँ ।’ विमानस्थल सञ्चालनमा महानगर बाधक नबन्ने उनको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *