पार्टी हितविपरीत काम गरेको भन्दै गण्डकीका भौतिक पूर्वाधार मन्त्री खड्का बर्खास्त

पोखरा । पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोपमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्का बर्खास्त भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई मंगलबार मन्त्रीबाट बर्खास्त गरेका हुन् । स्राेतका अनुसार मन्त्री खड्काले कास्की २ (ख) बाट उम्मेदवार बनेका विन्दुकुमार थापालाई हराउन भूमिका खेलेको आरोप छ ।

‘उपभोक्ता समितिहरुलाई बोलाएर विन्दुलाई भोट नहाल्नू भन्नुभएछ । यो क्रम नरोकिएपछि केन्द्रको निर्देशनमै मन्त्रीबाट हटाइएको हो,’ स्राेत भन्छ, ‘पार्टी सभापति शेरबहादुर देउवाले फोन गरेपछि खड्कालाई मुख्यमन्त्रीले जिम्मेवारीबाट मुक्त गराउनुभएको हो ।’

खड्काले नयाँ सरकार बन्ने बेलामा मुख्यमन्त्रीसँगै विना विभागीय मन्त्रीको रुपमा सपथ खाएका थिए । पछि उनले भौतिक पूर्वाधार मन्त्रालय रोजेपछि माओवादीले अर्थ मन्त्रालय लिएको थियो । उनी गण्डकीको प्रभावशाली मन्त्रीका रुपमा गनिन्छन् । तर, उनले टिकट वितरणको समयमा समेत गुटको भेला राखेर आफूले मुख्यमन्त्री बन्ने दावीसहित टिकट मागेका थिए ।

‘शेरबहादुर दाइले मलाई मुख्यमन्त्री बन्दैनस् भनेर टिकट दिनुभयो भने टिकट नै फालेर हिँड्छु,’ तत्कालीन समयमा उनले भनेका थिए, ‘मैले टिकट पाउने भनेको मुख्यमन्त्री बन्नका लागि हो ।’

क्षत्री समाजको राजनीति गरेर उदाएका उनी अघिल्लो निर्वाचन २०७४ सालमा तत्कालीन अखण्ड नेपाल पार्टीलाई कांग्रेसमा विलय गराएर समानुपातिक सांसद बनेका हुन् । मन्त्री बर्खास्तीका विषयमा बुझ्न खोज्दा उनले फोन उठाएनन् ।

खड्कालाई बर्खास्त गरेपछि मुख्यमन्त्री नेपालीले नै भाैतिक पूर्वाधार मन्त्रीकाे जिम्मेवारीसमेत लिएका छन् । मुख्यमन्त्रीकाे सिफारसिमा प्रदेश प्रमुख पृथ्वीमान गुरूङले मन्त्रीहरूकाे जिम्मेवारी हेरफेर गरेका छन् ।

यस्ताे छ प्रदेश प्रमुखकाे कार्यालयकाे सूचना 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *