टिप्पणी 

यी उमेदवारले पाए मन्त्री र प्रधानमन्त्रीको कार्ड !

काठमाडौँ । पछिल्लो समय चुनावी सभामा मन्त्री र प्रधानमन्त्रीको कार्ड पाउने उमेदवारहरु धेरै हुन थालेका छन् । तनहुँको डुम्रे बजारमा सोमबार भएको चुनावी सभामा कांग्रेसका नेता रामचन्द्र पौडेललाई नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्ने आशा नै देखाइदिए ।

तनहुँ क्षेत्र नम्बर १ का सत्तारुढ गठबन्धनका उम्मेदवार रहेका पौडेललाई प्रचण्डले भने, ‘रामचन्द्रजीको इच्छा र चाहना हामीलाई थाहा छ, ढुक्क सँग जिताउनुभयो भने त्यो सम्भवना बढ्यो बढ्यो । तनहुँले एक अवसर पाएको छ, यसलाई नगुमाउनुहोस् ।’

प्रचण्डले तनहुँमा मात्र होइन, पूर्वदेखि पश्चिमसम्मका धेरै जिल्लाहरुको चुनावी सभामा उनले धेरैलाई मन्त्री बनाउन भ्याए । मंसिर ४ पछि प्रचण्डले कति जनालाई मन्त्री बनाउन सक्छन् ? त्यो भने गर्भमै छ, तर उनले अहिले उमेदवारहरुलाई धमाधम मन्त्रीको आश्वासन दिइरहेका छन् । ‘जिताउनूहोस्, मन्त्री बनाउने मेरो जिम्मा हो’ भन्दै हिँडेका छन् । आखिरी प्रचण्डले किन यसरी उमेदवारलाई मन्त्रीको आश्वासन बाँडिरहेका छन् ? यही प्रश्न यतिबेला जताततै उठिरहेको छ । प्रश्नकर्ताले भनिरहेका छन्, ‘कति जनालाई मन्त्री बनाउन सक्छन् प्रचण्डले ?’

२५ जनाभन्दा बढी मन्त्री बनाउन नपाइने संविधानमा लेखिएको छ । हुन त नेपालको इतिहासमा सबैभन्दा बढी मन्त्री बनाउने सुचीमा अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले नाम लेखाएका छन्, तर अहिले त देउवाले वा प्रचण्डले चाहेर पनि २५ जनाभन्दा बढीलाई मन्त्री बनाउन सक्दैनन्, तर त्यो भन्दा बढीलाई चुनावी सभाहरुमा प्रचण्डले मन्त्री बनाइसकेका छन् ।

गोर्खाका विभिन्न सभाहरुमा प्रचण्डले गठबन्धनका सबै उमेदवारलाई मन्त्री बनाउने बताएका छन् । गोरखा २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका प्रचण्डले सोही क्षेत्रको ‘ख’ बाट प्रदेश सभा उम्मेदवार सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नै बनाउने बताए । ‘क’ बाट उमेदवार बनेका फडिन्द्र देवकोटालाई पनि मन्त्री बनाउने प्रचण्डले बताए । गोरखा १ (क) का कृष्ण धिताल र (ख) का उम्मेदवार नन्दप्रसाद न्यौपानेलाई पनि निर्वाचित गरेर पठाए मन्त्री बनाउने आश्वासन दिए । गोरखा १ बाट उम्मेदवार बनेका राजेन्द्र बजगाईंलाई संघको मन्त्री बनाउने बताए ।

काठमाडौँ २ को चुनावी सभामा पुगेर काठमाडौं–२ कि प्रतिनिधिसभा उम्मेदवार ओनसरी घर्तीले जिते उनलाई विकासे मन्त्रालयको मन्त्री बनाउने बताए ।

चुनावी सभामा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि प्रचण्डले भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेका छन् । उनी आफैँ पनि प्रधानमन्त्रीको लागि मरिहत्ते नगर्ने तर अवसर पाए प्रधानमन्त्री बन्ने बताइरहेका छन् । प्रचण्ड आफैँ प्रधानमन्त्रीको लागि लालहित छन् । अहिलेका प्रधानमन्त्री देउवा आफैँ पनि प्रधानमन्त्री बन्न खोजेका छन् । हालका गृहमन्त्री बालकृष्ण खाँड मंसिर ४ पछि देउवा नै प्रधानमन्त्री हुने बताइरहेका छन् ।

प्रचण्डले ठाउँठाउँका चुनावी सभामा पुगेर त्यहाँका गठबन्धनका उमेदवारलाइ मन्त्री बनाउँछु भन्न थालेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जसलाई पनि मन्त्री बनाउँछु भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल हिँडेको आरोप लगाए । ‘कतिजना मानिसहरू जहाँ पुग्यो त्यहीँको मानिसलाई मन्त्री बनाउँछु भनिरहेका छन्। हरिबहादुर भेटियो उसलाई मन्त्री बनाउँछु। रामबहादुर भेटियो उसलाई मन्त्री बनाउँछु‘ शान्तिदेवी देखियो मन्त्री बनाउँछु, क्रान्तिदेवी देखियो मन्त्री बनाउँछु,’ प्रचण्डप्रति लक्षित गर्दै कालिकोटको सभामा ओलीले भने, ‘यस्तो खालको अव्यवहारिक र अनुचित तरिका हो ।’ उनले यस्तो भने पनि उनी आफैँ मन्त्रीको कार्ड फालिरहेका छन् ।

कांग्रेस, एमाले र माओवादी आ–आफ्नो पार्टीको नेतृत्वलाई भावी प्रधानमन्त्रीका रूपमा दाबी मात्रै गरिरहेका छैनन्, मतदाता लोभ्याउन अमुक क्षेत्रका उम्मेदवारलाई भावी मन्त्री–मुख्यमन्त्री बनाउनेसम्मका घोषणा गरिरहेका छन् । एमाले अध्यक्ष केपी ओली पनि मन्त्रीको कार्ड फाल्न कम भने छैनन् । उनले मतदातालाई लोभ्याउँदै आगामी सरकारमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई मन्त्री बनाउने घोषणा गरे । झापाको कार्यक्रममा उनले लिङदेनलाई मन्त्री बनाउने आश्वासन दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुर २ बाट एकीकिृत समाजवादीका प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णलाल महर्जनलाई भावी सरकारको मन्त्री बनाउने आश्वासन दिए । गोरखामै आयोजित चुनावी सभालाई पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रचण्ड भोलिको प्रधानमन्त्री र सुरेन्द्र पाण्डे भोलिको मुख्यमन्त्री भनेर ठोकुवा गरे ।

राजनीतिक विश्लेषकहरु यस विषयमा मतदाता रिझाउने फण्डा मात्र भएको बताउँछन् । विश्लेषक चन्द्रकिशोर यस्ता प्रतिवद्धता वा घोषणालाई ‘जनता फकाउने’ अस्त्र भएको बताउँछन् । शीर्ष नेताहरूले उम्मेदवारलाई भावी प्रधानमन्त्री, मन्त्रीको रूपमा पेस गरेर भोट माग्नु चकलेट देखाएर बच्चा फकाएजस्तै भएको टिप्पणी गर्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *