पोखरा बसपार्क : ५ दशकदेखि चुनावी घोषणा मात्रै, अधिग्रहण गरिएको जग्गामा सुकुम्वासीको राज

पोखरा । पोखरामा व्यवस्थित बसपार्क निर्माणका लागि जग्गा अधिग्रहण गरिएको करिब ५० वर्ष भयो । पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल निर्माणको जग्गा अधिग्रहण गर्दाताका नै बसपार्क निर्माणको जग्गा समेत अधिग्रहण गरिएको हो । २०३२ सालमा तत्कालीन अञ्चलाधीश तथा नगर योजना अध्यक्ष शंकरराज पाठक र योजनाविद् पदम बहादुर क्षेत्रीको अगुवाइमा तयार गरिएको १५ बर्से गुरुयोजनामा अन्तर्राष्ट्रिय विमानस्थल सँगै बसपार्क निर्माणको योजना पनि प्राथमिकताका साथ छनौट गरिएको थियो ।

गुरुयोजना बनेलगत्तै पृथ्वीचोकमा १ सय ९६ रोपनी जग्गा अधिग्रहण गरिएको हो । तर सम्बन्धित पक्षको बेवास्ताका कारण बसपार्क व्यवस्थित गर्न छुट्याईएको जग्गा नै अव्यवस्थित छ । बसपार्क बनाउने भनिएको जग्गामा अहिले सुकुम्वासी भरिएका छन् । हरेक निर्वाचनमा बसपार्क बनाउने प्रतिबद्धता आउँछ, तर बसपार्क बन्दैन । स्थानीय, प्रदेश देखि प्रतिनिधिसभाका उम्मेदवारहरुले समेत बसपार्कलाई चुनावी नारा बनाउँछन् ।

बसपार्कको जग्गामा सकुम्बासी भरिएका छन् । यो ठाउँमा कति परिवार सुकुम्वासी छ भन्ने कुनै रेकर्ड छैन । नगरविकास समितिकै पदाधिकारीले बसपार्क निर्माणका लागि अधिग्रहण भएको जग्गा घडेरी बनाएर बेचेपछि जमिन साँघुरिएको छ । अहिले चलिरहेको एयरपोर्ट स्तरोन्नति गर्दा त्यहाँ रहेका व्यवसायीलाई बसपार्कको जग्गामा राखियो । तत्कालीन समयमा ७४ परिवारलाई सहुलियत दरमा घडेरी दिइएको थियो । त्यसपछि पृथ्वी राजमार्गको सडक मापदण्ड, पोखरा विमानस्थलबाट सारिएका र केही जग्गाधनीलाई सट्टा जग्गा दिँदा अधिग्रहण गरिएको २ सय ५ रोपनी जग्गा डेढ सय रोपनीमा खुम्चिएको छ । सेती नदी किनारमा धाँजा फाटेको भनिएको ६८ रोपनी जग्गामा सुकुम्वासीको नाममा अतिक्रमण भएको छ । बसपार्कको चारैतिर बिना नक्सा २ सय भन्दा बढी पक्की घर बनाइएका छन् ।

केही वर्षअघि १२ करोड लागतमा बसपार्क बनाउने निर्णय भएको थियो । तर राजनीतिक खिचातानीले काम हुन पाएन । पोखरा प्रादेशिक राजधानी हो । उत्तर दक्षिण कोरिडोरको ट्रान्जिट पनि यही बन्छ । त्यसका लागि आवश्यक पूर्वाधार मध्ये प्रमुख हो, बसपार्क । पृथ्वीचोकबाट पृथ्वी, सिद्धार्थ र भूपी शेरचन राजमार्ग सुरु हुन्छ । पोखरा महानगर बनिसकेपछि केही चरण बसपार्कको बारेमा छलफल त भएको छ तर टुङ्गो लागेको छैन । जमिनको टुङ्गो लागे नगर विकास योजनाले पनि ८ करोड लगानी गरेर बसपार्क बनाउन सहमति जनाएको छ । महानगरले अहिले बाँकी रहेको जग्गामै बसपार्क बनाउने अभियान चलाएको छ । अतिक्रमण गरेको जग्गा छोडेर अब ९६ रोपनी जग्गा बाँकी छ ।

अहिलेका उम्मेदवारहरुको घोषणापत्रमा पनि सोही बसपार्क निर्माणका योजना छन् । एमाले उम्मेदवार विद्या भट्टराई र मीना गुरुङले पोखरामा व्यवस्थित बसपार्क बनाउने प्रतिबद्धता जनाएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका श्रीनाथ बराल र विन्दुकुमार थापाको घोषणापत्रमा पनि बसपार्कका एजेण्डा छ । हालका सांसद समेत रहेका थापाले आफूले चुनाव जितेपछि केही पहल सुरु भएको बताए । ‘पहिले घोषणा मात्रै हुन्थ्यो काम हुन्थेन । म निर्वाचित भएपछि केही भाग ढलान गरिएको छ,’ उनले भने, ‘अबको कार्यकालमा व्यवस्थित बसपार्क नै बनाउँछौँ ।’ प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा निवर्तमान सांसद विद्या भट्टराईले पनि अघिल्लो कार्यकाल धेरै नभएका कारण काम गर्न नसकेको बताइन् ।

‘एउटा बाध्यताबाट उपचुनाव भयो । म निर्वाचित भएँ । तर धेरै काम गर्न सकिएन,’ उनले भनिन्, ‘नयाँ कार्यकालमा प्रमुख काम नै बसपार्क निर्माण हुनेछ । यो प्रतिबद्धता गर्दछु ।’ अन्य उम्मेदवारहरुले पनि बसपार्कमा अब राजनीति नगर्ने प्रतिबद्धता जनाएका छन् । प्रदेश सरकार र पोखरा महानगरले हरेक वर्ष बजेट छुट्याएर पनि सुकुम्वासी समस्या समाधान गर्न नसक्दा बसपार्क बनाउन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *