एमालेले आचारसंहिता उलंघन गर्यो, कारवाही होस् : प्रवक्ता महत (भिडिओ)

काठमाडौँ । नेपाली कांग्रेसले एमालेले खुलेआम निर्वाचन आचारसंहिता उलंघन गरेको भन्दै कारवाहीको दायरामा ल्याउन निर्वाचन आयोगसँग माग गरेको छ ।
सोमबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले खुलेआम प्रलोभन दिने, एनजिओको व्यपाक दुरुपयोग गर्ने जस्ता आचारसंहिताविपरीतको काम एमालेले गरेको भन्दै कारवाही गर्न माग गरे ।
गठबन्धनका साना कमजोरीलाई देख्ने आयोगले एमालेको आचारसंहिताविपरीतको कामलाई देख्न नसकेको उनको भनाइ छ । प्रवक्ता महतले कांग्रेसले संयमताका साथ आचारसंहितालाई पालना गरिरहेको दावी गरे । उनले महतले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सत्तारुढ गठबन्धनले जित्ने र कांग्रेसको नेतृत्वमा सरकार बन्ने जिकिर गरे ।
अहिलेको निर्वाचनमा १ सय ६५ सिटमा ९१ सिट कांग्रेसले र ७४ सिट गठबन्धनका अन्य दलले लडेकाले स्वभाविक नेतृत्व कांग्रेसको रहेको उनको भनाइ छ । उनले निर्वाचनपछिको प्रधानमन्त्रीमा कांग्रेसका तर्फबाट शेरबहादुर देउवा हुने स्वभाविक रहेको भन्दै अन्यले प्रधानमन्त्रीको दावी गर्नु प्रचार मात्रै भएको धारणा राखे ।
प्रवक्ता महतले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा समानुपातिक मत महत्वपूर्ण भएकाले सवै क्षेत्रमा कुनै दुविधा नगरी रुख चिन्हमा मतदान गर्न आह्वान समेत गरे ।
भिडिओ
एमालेले खुलेआम आचारसंहिता उलङ्घन गर्यो,आयोगले कारवाही गर्न पर्यो : प्रवक्ता प्रकाश शरण महत/नेपाली काँग्रेस pic.twitter.com/86sfXdn0SZ
— Makalu Khabar (@makalukhabar) November 14, 2022









