काठमाडौँ-३ : पार्टीका उम्मेदवारहरूलाई टक्कर दिँदै स्वतन्त्र (तस्बिरहरू)

काठमाडौँ । निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरू आ-आफ्नो क्षेत्रमा मतदाता रिझाउन व्यस्त छन् । घरदैलो देखि सामाजिक सञ्जालहरूमा मतदाता रिझाउन र माहौल आफूतिर केन्द्रित गर्न उम्मेदवारहरू विभिन्न गतिविधि सहित लागिपरिरहेका छन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश (क) मा स्वतन्त्र उम्मेदवारी दिएका दीपेन्द्र लामा अहिले पार्टीको उम्मेदवारहरुलाई टक्कर दिँदै प्रचारप्रसारमा सक्रिय छन् । काठमाडौँ महानगरपालिका ६ का पूर्व वडा अध्यक्ष समेत रहेका लामा, आफूले निर्वाचन जित्नेमा ढुक्क छन् । बौद्धका स्थानीय उनी, वडा अध्यक्ष हुँदा आफूले गरेको कामको आधारमा आफ्नो क्षेत्रका मतदाताले आफूलाई मत दिने बताउँछन् ।

अहिले स्वतन्त्र उम्मेदवारी दिएर मैदानमा उत्रेका दीपेन्द्र लामाले  नेपाली कांग्रेसमा लामो समय राजनीति गरेका थिए । ०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेस बाटै उनी कामपा ६ का वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

वडा अध्यक्ष हुँदा गरेको काम र आफ्नै स्वच्छ छविका कारण लामा यस क्षेत्रमा लोकप्रिय छन् । लामा भन्छन् ‘मैले गरेको पार्टी प्रतिको योगदान र जनता माझ गरेको कार्यको कांग्रेसले मूल्याङ्कन गरेन । म सबै क्षेत्रमा पार्टीबाट अवहेलनाको सिकार भएँ । त्यसैले म पार्टी छाडेर स्वतन्त्ररुपमा जनता माझ जाँदैछु ।’ वडा अध्यक्ष हुँदा लामाले २०७८ सालमा कामपाबाट उत्कृष्ट वडा अध्यक्षको पुरस्कार समेत पाएका थिए ।

बागमती प्रदेशको यो क्षेत्र ‘काठमाडौँ ३(क)’ मा नेपाली कांग्रेसले निवर्तमान प्रदेश सांसद छिरिङ दोर्जे लामा, एमालेले चन्द्रमान लामालाई मैदानमा उतारेको छ । काठमाडौँ महानगरपालिका को वडा नम्बर ६, गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ५ र ९ रहेको यो प्रदेश क्षेत्रमा एमाले र कांग्रेसलाई स्वतन्त्र उम्मेदवारी दिएका लामाले कडा टक्कर दिने मतदाताहरू बताउँदछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *