मतदाताले मलाई सरकारको नम्बर वान बनेको हेर्न चाहेका छन् : प्रकाशमान सिंह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँ क्षेत्र नं. १ का मतदाताले आफूलाई सरकारको नम्बर वान बनेको हेर्न चाहेको बताएका छन् ।

सोमबार बिहान काठमाडौँ महानगरपालिकाको वडा नं. २९ को घरदैलो कार्यक्रममा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उनले सो कुरा बताएका हुन् । ‘यो क्षेत्रका जनताले मलाई सरकारको नम्बर वान म्यान बनेको हेर्ने चाहना छ भनेका छन्,’ सिंहले भने । जनताको चाहना पूरा गर्न आफू प्रयासरत रहेको पनि उनले बताए ।

आफूले क्षेत्र नं. १ मा धेरै विकासका काम गरेको भन्दै उनले फेरि निर्वाचित भए बाँकी काम पनि पूरा गर्ने बताएका छन् । अहिलेको अर्थतन्त्रको संकट समाधान गर्ने र लगानीमैत्री वातावरण बनाउने नयाँ सरकारको मूल दायित्व रहने भन्दै उनले त्यसका लागि आफूले पहल गर्ने बताए ।

विगतमा राजनीतिक अस्थिरताका कारण जनअपेक्षा पूरा गर्न नसकिएको भन्दै उनले अब आफ्नो सम्पूर्ण ध्यान स्थायित्व कायम गर्दै जनताको जीवनयापन सरल बनाउन सक्रिय हुने बताए । मुलुक विशिष्ट परिस्थितिबाट गुज्रिरहेको भन्दै उनले अग्रगमनको पक्षमा कि प्रतिगमनको पक्षमा मत दिने भनेर विचार पुर्‍याउन आह्वानसमेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 2 =