अर्घाखाँची अंकगणित : टोपबहादुर र पुष्पामा को अगाडि ?

काठमाडौँ । मंसिर ४ गते हुने निर्वाचनमा एकमात्र क्षेत्र रहेको अर्घाखाँची जिल्लामा टोपबहादुर रायमाझी र पुष्षा भुसालबीच रोचक भिडन्त हुने देखिएको छ ।

नेकपा एमालेका सचिवसमेत रहेका रायमाझी डबल ह्याट्रिक गर्ने तयारीमा छन् भने नेपाली काँग्रेसका केन्द्रीय सदस्य भुसाल जसरी पनि चुनाव जित्ने प्रयासमा छिन् ।

अर्घाखाँचीमा ११ जना संघीय उम्मेदवार रहे पनि खास प्रतिस्पर्धा रायमाझी र भुसालबीच नै हुने देखिएको छ । रायमाझी अर्घाखाँचीबाट तीन पटक निर्वाचन जितिसकेका नेता हुन् । उनी १५ वर्षदेखि निरन्तर सांसद भएका छन् ।

पटकपटक मन्त्री र उपप्रधानमन्त्रीसमेत भइसकेका छन् । कांग्रेसकी नेतृ भुसाल अर्घाखाँची २ बाट २०६४ सालमा निर्वाचित भएकी हुन् । त्यसयता भुसालले एकपटक चुनाव हारिन् भने २०७४ सालमा समानुपातिक सांसद भइन् । उनी अहिले प्रत्यक्षको उमेदवार बनेर चुनावी मैदानमा आएकी छन् । अर्घाखाँचीका एमाले नेताहरु टोपबहादुर रायमाझीको सहजै जित हुने दावी गर्छन् । तीन पटकसम्म नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् रायमाझी ।

उनी पहिलो पटक नेकपा एमाले पार्टीबाट चुनाव लड्दैछन् । २०६४, २०७० र २०७४ सालको निर्वाचनमा निर्वाचित भएका रायमाझीको अहिले पार्टी फरक हुँदा केही चुनौती थपिएको छ, अर्कोतिर गठबन्धन भएका कारणले एमालेले अर्को चुनौती पनि व्यहोर्न परेको छ । तर, नेकपा एमालेका नेताहरु यो कुरा स्वीकार्न चाहन्नन् । नेकपा विघटन हुँदा माओवादी छोडेर ओली कित्तामा उभिएका रायमाझी अहिले नेकपा एमालेबाट उमेदवार बन्दै गर्दा जित्न झन् सहज हुने एमाले नेताहरुको दावी छ ।

यता, नेपाली कांग्रेसकी नेतृ भुसाललाई सत्तारुढ गठबन्धनको साथ छ । भुसाल कांग्रेस संसदीय दलको सचेतक भएर काम गरेकी छन् । उपसभामुख हुने अवसर पनि भुसालले पाइन् । २०६४ सालमा पहिलो पटक संविधानसभाको चुनाव जितेर विभिन्न समितिमा बसेर काम गरेको अनुभव उनीसँग छ । दोस्रो संविधानसभा चुनावमा एमालेका डा दुमन थापासँग भुसाल पराजित भइन् । ०७४ मा समानुपातिक सांसद भइन् ।

एमालेका रायमाझी र कांग्रेसकी भुसालबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । दुबै उमेदवार राष्ट्रिय राजनीतिमा पहुँच राख्न सक्नेभित्र पर्छन् । कांग्रेस र एमालेका नेताहरु दुबैले आफ्नो उमेदवारको जित सुनिश्चित भनेर दावी गरिरहँदा गत स्थानीय तहको निर्वाचनलाई एकपटक नियालौँ ।

स्थानीय तहको अंकगणित
गत स्थानीय तहको चुनावमा अर्घाखाँचीमा एमालेले अप्रत्याशित जित निकालेको थियो । सबै दल एकातिर मिलेर लड्दा पनि धेरै पालिकाहरुमा एमालेले जित निकालेको थियो । अर्घाखाँची जिल्लामा ६ स्थानीय तह छन् । ६ स्थानीय तहका १२ पदमध्ये ८ पदमा एमालेले जित निकाल्न सफल भयो । जब कि, ०७४ को स्थानीय तहको निर्वाचनमा एमालेले ३ पदमा मात्र जित निकाल्न सफल भएको थियो ।

यसबाट के प्रष्ट हुन्छ भने एमालेले अर्घाखाँचीमा आफ्नो जनमत बढाएको छ, तर यता केही तटस्थ मतदाताका अनुसार गठबन्धनले पुष्पा भुसाललाई साथ दिएका हुनाले एमाले सकसमै रहेको छ । एक्लाएक्लै पार्टीको मत जोड्दा एमाले धेरै अगाडि छ भने गठबन्धनको मत र एमालेको मत जोड्दा भने एमाले कमजोर देखिन्छ ।

गत स्थानीय तहको निर्वाचनको गठबन्धनमा खसेको मत सर्लक्कै भुसाललाई आयो भने उनको जित हुने देखिन्छ, तर मत बाँडियो भने, अथवा टोपबहादुर रायमाझीले अरु दलको मत ताने भने उनको जित हुने सम्भावना छ ।

गठबन्धनका वडाध्यक्षहरुले प्राप्त गरेको मत परिणाम जोड्दा कांग्रेसका उम्मेदार भुसाल अगाडि छिन्। एमालेका वडाध्यक्षहरूले ४८ हजार २६० मत प्राप्त प्राप्त गर्दा कांग्रेसका वडाध्यक्षले ३७ हजार ९२५ मत ल्याएका थिए । माओवादी केन्द्रका वडाध्यक्षले सात हजार सात ७९०, राजमोका वडाध्यक्षहरूका उम्मेदवारहरूले चार हजार दुई सय ९४, नेकपा एसले तीन हजार सात सय ६३ मत प्राप्त गरेका थिए । गठबन्धनको सबै मत भुसाललाई आयो भने उनको जित सहज देखिन्छ, तर केही मत विभाजन हुने र एमालेको मत सर्लक्कै रायमाझीले खाए उनको जित हुने देखिन्छ ।

यहाँ गठबन्धन दलको मत ५३ हजार सात सय ७२ मत छ। तर स्थानीय तहको निर्वाचनपछि धेरै माहोल फेरिएको हुनाले धेरै मत रायमाझीतिर आउने र उनको जित हुने दावी एमालेको छ । यो दावीलाई गठबन्धनले स्वीकारेको छैन ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *