नवलपरासी १ : ह्याट्रिक गरेका शशांकलाई एमालेका पौडेलको चुनौती

काठमाडौँ । पूर्वी नवलपरासी क्षेत्र नं १ को चुनावी सरगर्मी देशभर नै चासोका साथ हेरिएको छ । यस क्षेत्रमा सत्ता गठबन्धनबाट पूर्वमहामन्त्रीसमेत रहेका बीपी कोइरालापुत्र डा शशांक कोइराला चुनावी मैदानमा छन् । उनी दोस्रो पटक ह्याट्रिक गर्ने दाउमा छन् । अर्थात् चौंथो पटक जित निकाल्न कस्सिएका छन् ।

मंसिर ४ गते कोइरालालाई चिप्लाउन एमालेका केन्द्रीय सदस्य कृष्ण पौडेल लागेका छन् । २०६४ सालयता यो क्षेत्रबाट जित्दै आएका डा शशांकलाई यसपटक चिप्लाइदिने दाउमा नेकपा एमालेले रणनीति बनाएको छ । कोइरालाले आफ्नो विरासत जोगाउन विभिन्न हत्कण्डाहरु अपनाइरहेका छन् । तीन कार्यकाल चुनाव जितेका कोइरालालाई यसपटक माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका पार्टीले साथ दिएको छ । जसका कारण कांग्रेसका पूर्वमहामन्त्री कोइराला चौथो पटक पनि चुनाव जितेर संसद प्रवेश गर्ने कांग्रेसका नेताहरु बताउँछन् ।

यता एमालेका उमेदवार कृष्ण पौडेल पटकपटक यस क्षेत्रबाट जितेर सिन्को नभाँचेका कोइरालालाई भोट नदिन अपिल गरिरहेका छन् । एउटै मान्छेलाई पटकपटक मत नदिन उनको आग्रह छ ।
२०७४ को प्रतिनिधि सभाको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारभन्दा ४ हजार २४ मतान्तरले जितेका कोइराला यस पटक पनि जित्ने दावी गर्छन् । नेपालकै ठूलो कारखाना भृकुटी कागज कारखाना बन्द अवस्थामा रहेकाले यसको समस्या छिट्टै सामाधन हुने बताउँदै कोइरालाले आफूलाई मत मागिरहेका छन् ।

नवलपरासी १ मा तीन पटक जितेर कोइरालाले के गरे रु भन्ने प्रश्न यतिबेला उनीसामु मतदाताले गरिरहेका छन् । १५ वर्षसम्म सांसदमा रहँदा आफ्नो क्षेत्रमा टुक्रे र वितरणमुखी योजनाका कामबाहेक विकासका ठूला आयोजना कुनै नपारेको आरोप कोइराला माथि लागिरहेको छ ।
चुनावी सभामा कोइरालाले आफूलाई भावी प्रधानमन्त्रीको रुपमा समेत प्रस्तुत गरे । नवलपरासी १ का विभिन्न चुनावी सभामा मतदाताको ध्यान खिँच्न आफूलाई प्रधानमन्त्रीको दावेदारको रुपभा उभ्याए । ‘कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उमेदवारको रुपमा अगाडि बढ्ने छु। पार्टी भित्रपनि मैले सोही अनुसार कुराकानी गरेको छु,’ डा कोइरालाले चुनावी सभामा दावी गरे ।

कांग्रेसका नेताहरु गठबन्धनका कारणले कोइरालाको जित हुने बताउँछन् । उनीहरुका अनुसार शंशाक कोइराला कुनै हालतमा नचिप्लने दावी गर्छन् । एक नेताले भने, ‘हिजो नेकपा एकत्रित हुँदा त नेता कोइरालाले जिते, यसपटक त पाँच दलीय गठबन्धनको साथ छ । जित सुनिश्चित छ भन्दा फरक पर्दैन ।’

धेरै नबोल्ने सबैसँग मुसुक्क हाँस्ने र आम नेता कार्यकर्तादेखि मतदातासँग सहज व्यवहार गर्ने भएकाले कोइरालासँग मतदाताहरु खुसी भएका कांग्रेस नेताहरुको भनाइ छ । २०६४ सालमा नवलपुरका जनताका मागअनुसार नै डा शशांकलाई यो क्षेत्रबाट उम्मेदवार बनाइएकाले यो पटक पनि उनलाई नवलपुरका जनताले न्याय गर्ने विश्वास कांग्रेसले गरेका छन् ।

एमालेका नेता तथा कार्यकर्ताहरु सधैँभरि एउटै नेताले नजित्ने दावी गर्छन् । यसपटक एमालेका नेता पौडेलले कोइरालालाई चिप्लाउने दावी गर्छन् । एमालेका एक नेताले भने, ‘तीन पटक जितेर सिन्को नभाँच्ने नेतालाई कतिन्जेल मतदाताले जिताइरहने रु यसपटक जिताउँदैनन् भन्ने हामीलाई विश्वास छ ।’
२०४६ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य, २०४८ सालमा नेकपा एमाले नवलपरासीको जिल्ला सचिव भएका पौडेल स्थानीयमा भिजेका नेता हुन् ।

पौडेलकै नेतृत्वमा २०४९ सालमा जिल्ला विकास समितिको सभापति एमालेले हात पारेको थियो । २०५४ सालमा पौडेल एमालेले जिल्ला विकास समितिको सभापति बनेका थिए । हाल एमालेका केन्द्रीय सदस्य भएका पौडेल कोइरालाको लागि ठूलो तगारो बनेका छन् । पौडेल कमजोर नेता होइनन्, कोइरालाको लागि उनी ठूलो चुनौती बन्न सक्ने नेता हुन् ।

२०४८ सालयता कांग्रेसले जित्दै आएको यो क्षेत्रमा अहिले कसले बाजी मार्ला भन्नेमा ठोकुवा गर्न सकिने अवस्था छैन । अन्यौल नै कायम छ । दुबै उमेदवार घम्साघम्सीमा लागेका छन् । कसले कस्लाई चिप्लाउने हो, भन्न सकिने अवस्था नै छैन ।

हेरौँ, स्थानीय तहको चुनावी नतिजा
यसपटकको स्थानीय तहको चुनावमा वडाध्यक्षले पाएको मत परिणामअनुसार कांग्रेसको ४० हजार ५११ छ । एमालेको ३९ हजार ९५१ रहेको छ । एमालेले स्थानीय तहको चुनावको अवस्थामा मंसिर ४ सम्म आइपुग्दा धेरै परिवर्तन भइसक्ने दावी गरेको छ । राप्रपाको २ हजार ३७३, माओवादी केन्द्रको १ हजार ९२१, जसपाको १८८ मत छ । पाँच दलीय गठबन्धन भएका कारण कोइरालाको सहज जित हुने दावी कांग्रेसको छ ।

स्थानीय तहमा खसेको मतलाई हेर्दा र पाँचदलीय गठबन्धनबाट उम्मेदवार बनेका कारण क्षेत्रमा कोइरालाको जित सहज देखिएको छ। तर स्थानीय पालिकामा आएको मत विभाजन हुने तर्क नेकपा एमालेले गरेको छ । नवलपुर १ मा प्रतिनिधि सभातर्फ कोइरालासहित १६ जनाले मनोनयन गरेका छन्। ५ जना स्वतन्त्रका साथै राष्ट्रिय स्वतन्त्र पार्टी र हाम्रो नेपाली पार्टीका २ जना उम्मेदवार समेत खडा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *