निर्वाचन २०७९

काठमाडौँ ३ : सन्तोष चालिसे र कृष्ण राईको ‘ब्याटल’

काठमाडौँ चुनावी रौनक बढेसँगै निर्वाचनको मिति नजिकिँदै गर्दा काठमाडौँ क्षेत्र नं ३ मा पनि चुनावी माहौल बढेको छ ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि यो क्षेत्रमा पुराना र नयाँ नेताबिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि आठ र स्वतन्त्रसहित २३ उम्मेदवार प्रतिस्पर्धामा छन् । यहाँ नेकपा (एमाले)को तर्फबाट कृष्णबहादुर राई र नेपाली काँग्रेसको तर्फबाट सन्तोष चालिसे उम्मेदवार छन् ।

राई सोही क्षेत्रबाट २०७४ मा निर्वाचित हुन् । ०७४ को निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार भएका राईले चार हजार दुई सय ८५ मतान्तरले कांग्रेसका अम्बिका बस्नेतलाई पराजित गरेका थिए । उनले १९ हजार एक सय ६९ मत प्राप्त गरेका थिए । राई अहिले एक्लै चुनावी मैदानमा छन् । त्यति बेला माओवादीको साथ पाएका राईलाई गत स्थानीय तहको मत परिणामले पनि यस पटकको निर्वाचनमा चुनौती थपिदिएको छ । माओवादीका बद्रीप्रसाद बजगाईँले पनि उम्मेदवारी दिएका छन् ।

कांग्रेसका चालिसेले काठमाडौँ उपत्यका तथा आफ्नो क्षेत्रमा भएको खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधानका लागि आवश्यक पहल गर्ने मुख्य लक्ष्य लिएका छन् । विकास निर्माणसँग जोडिएका सडक, ढल र खानेपानीको निकासका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने पनि उहाँको प्रतिबद्धता छ । उम्मेदवार चालिसे गोकर्णेश्वर नगरपालिकाका पूर्वप्रमुख समेत हुन् । आफू प्रमुख हुँदा विकास निर्माण र जन पक्षीय काम गरेकाले पनि आफ्नो जित निश्चित भएको उहाँको जिकिर छ ।

एमालेका राई ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारासहित चुनावी मैदानमा होमिएका छन् । समाजवादोन्मुख समाज निर्माणको अभियानमा लाग्ने अठोट लिएका उनी अब समाज समाजवादोन्मुख हुनुपर्ने तर्क राख्छन् । सामाजिक र सांस्कृतिक परिवर्तनसहितको समाज बनाउनुपर्नेमा उम्मेदवार राईको जोड छ । एमालेको योजनाअनुसार गोकर्णेश्वरलाई सुविधा सम्पन्न नगरपालिका बनाएर जनताको जीवनस्तर उच्च बनाउने आफ्नो प्रमुख लक्ष्य रहेको उनको भनाइ छ । प्रतिनिधिसभा निर्वाचन काठमाडौँ क्षेत्र नं ३ मा काठमाडौँ महानगरपालिका, गोकर्णेश्वर नगरपालिका र नागेश्वरी नगरपालिकाका गरी कुल १३ वडा समेटिएका छन् । तीमध्ये काँग्रेस पाँच वटा काठमाडौँ वडा नं ६, गोकर्णेश्वर ५, ८, ९ र नागेश्वरीको २ नं वडामा विजयी भएको थियो ।

एमालेले सात वडा गोकर्णेश्वरका १, २, ३, ६, ७, सोही क्षेत्रअन्तर्गत पर्ने नागेश्वरीको १ र ३ वडामा विजयी हासिल गरेको थियो । त्यस्तै स्वतन्त्रले पनि गोकर्णेश्वर–४ वडामा विजयी हासिल गरेको थियो । कांग्रेसका वडाध्यक्षहरूले १५ हजार सात सय ९५ मत पाएका थिए भने एमालेका वडाध्यक्षहरूले १४ हजार आठ सय ७६ मत प्राप्त गरेका थिए ।

माओवादीका वडाध्यक्षहरूले एक हजार छ सय ८७ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी)का वडाध्यक्षहरूले एक हजार ५६ मत प्राप्त गरेका थिए । उक्त क्षेत्रमा एमालेका राई, कांग्रेसका चालिसे, माओवादीका बजगाईँसँगै राप्रपाबाट गणेश गिरी, नेमकिपाबाट विशोक डङ्गोल, हाम्रो नेपाली पार्टीबाट द्वारिका अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापा क्षेत्रीलगायतको उम्मेदवारी परेको छ ।

सो क्षेत्रको प्रतिनिधिसभा सदस्यका लागि दिनेश खड्का, कविता विष्ट सुनार, दिनेश खनाल, निरञ्जन पुडासैनी, जगन्नाथ देवकोटा, श्रीकृष्ण ज्योति, बिन्दु मगर, राजेश विष्ट, केदारनाथ मिश्रको स्वतन्त्र उम्मेदवारी रहेको छ ।

प्रतिनिधिसभा निर्वाचन काठमाडौँ क्षेत्र नं ३ मा ५८ हजार आठ सय ८९ मतदाता छन् । तीमध्ये २८ हजार आठ सय पाँच पुरुष र ३० हजार ८४ महिला मतदाता छन् । उक्त क्षेत्रमा २९ मतदान स्थल र ६८ मतदान केन्द्र निर्धारण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + ten =