दाङ २ : शंकर पोखरेल र रेखा शर्माबीचको लडाइँ, को कति पानीमा ?

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेल २०५१ सालपछि हालसम्म प्रत्यक्षमा निर्वाचन जितेर संघीय सांसद बन्न सकेका छैनन् । संघीय सांसदको स्वाद लिनकै लागि यसपटक पोखरेल चुनावी मैदानमा छन् । उनीसँगको लडाइँमा सत्तारुढ गठबन्धनबाट रेखा शर्मा उभिएकी छन् ।

०५१ सालमा दाङ २ बाट निर्वाचन जितेर पहिलो पटक प्रतिनिधि सभाका सदस्य भएयता हालसम्म संघीय सांसद नबनेका पोखरेल र दुई पटक समानुपातिक सांसद भइसकेकी शर्माबीच हुने चुनावी लडाइँमा कसको होला पल्लाभारी ? यही विषयले यतिबेला राजनीति तरङ्ग पैदा गरेको छ ।

एमाले महासचिव भएको हुनाले पोखरेललाई जित्न दबाब छ । एमाले समर्थित नेताहरू बुटवलबाट प्रदेशको राजधानी दाङ सार्न पोखरेलले महत्त्वपूर्ण भूमिका खेलेका कारणले जित्न सहज भएको बताउँछन् । पोखरेलले जित निकाले उनी दोस्रो पटक संघीय सांसद बन्नेछन् ।

पोखरेल दाङ २ मा २०५१ सालदेखि लड्दै आएका छन् । २०५१ सालमा चुनाव जित्दा उनी जम्मा ३२ वर्षका थिए । ०५६ सालमा पोखरेल दाङ २ मा कांग्रेसका कृष्णकिशोर घिमिरेसँग पराजित भएका थिए । ०६४ सालमा पोखरेल उम्मेदवार बनेनन्, समानुपातिकबाट सांसद बने । ०७० सालको चुनावमा कांग्रेसका नेता बुद्धिराम भण्डारीसँग पराजित भए पोखरेल ।

२०७४ सालमा प्रदेशतर्फ झरे पोखरेल । बाम गठबन्धनका कारण त्यतिबेला पोखरेलले कांग्रेसका कमलकिशोर घिमिरेलाई पराजित गरे । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीसमेत बने । आफू मुख्यमन्त्री हुँदा प्रदेशको राजधानी दाङ सारे । एमाले नेताहरू यसको जस पोखरेललाई जाने बताउँछन् । दाङ २ मा स्वतन्त्र उम्मेदवार रहेका रामचन्द्र खड्का नेकपा एमाले प्रवेश गर्दै पोखरेललाई जिताउने अभियानमा लागिसकेका छन् ।

गठबन्धनबाट उम्मेदवार बनेको माओवादी केन्द्रकी रेखा शर्मा पनि कमजोर उम्मेदवार होइनन् । उनलाई नेपाली कांग्रेस, एकीकृत समाजवादीलगायतका दलको पूर्ण साथ रहेको छ । २०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधिसभामा समानुपातिक सांसद बनेकी थिइन् शर्मा । पहिलो पटक प्रत्यक्ष चुनाव लड्न लागेकी भए पनि शर्मा महिला जागरणमा चर्चित नेतृ हुन् ।

२०५७ सालमा भएको माओवादीको राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य र काठमाडौँ उपत्यका उपब्युरोको प्रमुख भएर काम गरेको अनुभव संगालेकी रेखाले महिला संगठनको केन्द्रीय अध्यक्ष हुँदा रक्सी विरोधी, दाइजो विरोधी लगायतका विभिन्न अभियानमा सरिक थिइन् । माओवादी केन्द्रका समर्थित नेताहरू शर्मालाई गठबन्धनका दलहरूको पूर्ण सहयोगले जित्न सहज हुने बताउँछन् ।

यस्तो छ अंकगणित
स्थानीय तहको चुनावमा दाङको घोराही र तुलसीपुर उपमहानगरमा गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार विजयी भएका हुन् । दाङ २ मा घोराही उपमहानगर, बंगलाचुली गाउँपालिका र तुलसीपुर उपमहानगरको ४ वटा वडा पर्छ ।

अहिलेको स्थानीय तहको चुनावमा घोराही उपमहानगरमा एमाले विजयी भएको हो । बगलाचुली गाउँपालिकामा एमालेलेलाई हराउँदै सत्तारुढ गठबन्धन विजयी भएको हो । तुलसीपुरका ४ वटा वडामध्ये १७ मा एमाले १८, १९ नम्बर वडामा गठबन्धन र १६ मा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।

रेखा र शंकरबीचको चुनावी लडाइँमा को कति पानीमा छ भन्ने यसै प्रक्षेपण गर्न सकिएको छैन । तटस्थ मतदाताहरू दुवै उम्मेदवार अत्यन्तै राम्रा भएका कारणले कडा प्रतिस्पर्धा हुने बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *