माधवको पुनरागमनले तात्यो चुनावी माहोल, प्रतिद्वन्द्वी एमालेका उम्मेदवार गुप्ता कति बलिया ?

काठमाडाैँ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिएसँगै रौतहट क्षेत्र नं १ को माहोल तातेको छ । सत्ता गठबन्धनका नेता एवं नेकपा (एकीकृत समाजवादीका) अध्यक्ष माधवकुमार नेपाल सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा पदमा उम्मेदवार छन् ।
सो क्षेत्रमा नेकपा (एमाले)का उम्मेदवार अजयकुमार गुप्ताले प्रतिस्पर्धा गर्दै छन् । गौर नगरपालिकाका पूर्व प्रमुख गुप्ता केही महिना अगाडि मात्रै एमालेमा प्रवेश गरेका हुन् । २०७० सालको संविधान सभाको निर्वाचनमा नेपालले चुनाव जितेका थिए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा गौर नगर प्रमुखमा गुप्ता निर्वाचित भएका थिए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल स्पर्धाका लागि नौ वर्षपछि फर्किंदा रौतहटको माहोल तातेको छ तर उनको चुनाव चिह्न बदलिएको छ । आफैँ अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी)को कलम उनको चुनाव चिह्न हो । २०७० मा रौतहट १ बाट निर्वाचित हुँदा उनको चुनाव चिह्न सूर्य थियो । अहिले भने त्यतिबेलाका उनको निकटतम प्रतिद्वन्द्वी गुप्ताले उक्त चिह्न लिएका हुन् ।
नौ वर्षअघि गुप्ता मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)बाट उम्मेदवार थिए । ०५६ को आम निर्वाचनमा रौतहटको क्षेत्र नं. १ र ४ गरी दुई क्षेत्रबाट निर्वाचित नेपाल २०६४ मा भने काठमाडौँबाट स्पर्धा गरे तर पराजित भए । मधेश आन्दोलनपछिको उक्त चुनावमा स्वतन्त्र भएर उम्मेदवारी दिएका बबन सिंह निर्वाचित भएका थिए । सिंहको निकटतम प्रतिद्वन्द्वी गुप्ता र अमरप्रसाद यादव थिए ।
०७० को निर्वाचनमा तेस्रो भएका लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता अनिलकुमार झा २०७४ मा रौतहट १ बाट निर्वाचित भए । गुप्ता भने स्थानीय निर्वाचनमा गौर नगरपालिकाको प्रमुख निर्वाचित भए तर पाँच वर्षपछि गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा प्रमुख पदमा दोहो-याउने गरी उम्मेदवारी दिएका गुप्ता भारी अन्तरले पराजित भएका छन् ।
यद्यपि प्राध्यापक बिन्दा सहनीका अनुसार रौतहट १ मा नेपाल र गुप्ताबीच नै मुख्य स्पर्धा देखिएको छ । प्रमुख दलहरू दुई ध्रुवमा विभाजित हुँदा दुवैतर्फको गठबन्धनका उम्मेदवारबीच नै मुख्य स्पर्धा हुने उनले तर्क गरे ।
स्थानीय निर्वाचनको परिणामले नेपाल धेरै अगाडि…
उक्त क्षेत्रमा पर्ने पाँच पालिकामध्ये गौरमा शम्भु साह र राजदेवी नगरपालिकाको प्रमुखमा भिखारी यादव नेकपा (एकीकृत समाजवादी)बाट निर्वाचित छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र लोसपाका एक/एक जना पालिका प्रमुख छन् ।
पालिकाका ४१ वडामध्ये नेकपा (एस)का १७ जना वडाअध्यक्ष निर्वाचित भएका छन् । कांग्रेसबाट नौ, माओवादी केन्द्रबाट पाँच, लोसपा, जसपा र नेकपा (एमाले)बाट तीन/तीन जना वडाअध्यक्ष निर्वाचित छन् । गौर वडा नं. ७ मा भने स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।
एकीकृत समाजवादीका उम्मेदवार नेपाललाई कांग्रेस, माओवादी केन्द्र, लोसपा र राष्ट्रिय जनमोर्चाको समर्थन छ । एमालेले जसपासँग चुनावी तालमेल गरेको छ तर एमालेका उम्मेदवार गुप्ताको घरदैलोमा जसपाका प्रदेशतर्फका उम्मेदवार देखिएनन् । कांग्रेस नेतृत्वको वाम लोकतान्त्रिक गठबन्धनका वडाध्यक्षले कुल ५२ हजार ४८५ मत पाएको हो । एमाले र जसपाले १३ हजार ९०३ मत पाएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा रौतहट १ मा एक लाख दुई हजार ४३६ मतदाता छन् । रौतहट १ मा आठवटा राजनीतिक दल र नौ स्वतन्त्र गरी १७ जना उम्मेदवार छन् ।
नेमकिपाबाट वैद्यनाथप्रसाद चौधरी, जनमत पार्टीबाट राजेन्द्रप्रसाद साह, राप्रपा नेपालबाट सरोजकुमारी, नेपाल सुशासन पार्टीबाट रञ्जितकुमार पटेल, नेपाली जनता दलबाट सुवोधचन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सूर्यदेवप्रसाद कोइराला उम्मेदवार छन् । यस्तै स्वतन्त्रबाट अवधेशकुमार ठाकुर, राहुलकुमार मिश्र, अनिलकुमार लाल दासलगायतका उम्मेदवार छन् ।








