यस्तो छ काठमाडौँ ६ मा निर्वाचनको रोचकता

काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार प्रचारप्रसारमा व्यस्त छन् । उम्मेदवार आफ्ना एजेण्डा बोकर जनतामाझ पुगिरहेका छन् । उम्मेदवारले सबैले आफूले जित्ने दाबी गरिरहेका छन् ।

काठमाडौँ क्षेत्र नं ६ मा पुराना उम्मेदवार र नयाँ उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि सत्तागठबन्धनबाट नेपाली कांग्रेसका पुरानै उम्मेदवार भीमसेनदास प्रधान चुनावी मैदानमा छन् । नेकपा एमालेबाट पहिलोपटक सर्वेन्द्र खनाल प्रतिस्पर्धामा छन् ।

कांग्रेस नेता प्रधान यसअघि दुईपटक सो क्षेत्रबाट सांसदमा निर्वाचित भइसक्नुभएको छ । विसं २०७४ को निर्वाचनमा प्रधान वाम–गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीलाई एक हजार तीन सय मतान्तरले पराजित गर्दै निर्वाचित भएका थिए ।

पूर्वप्रहरी महानिरीक्षकसमेत रहनुभएका खनाल केही समयअघि मात्र एमालेमा प्रवेश गर्नुभएको हो । उहाँ पहिलोपटक प्रतिनिधिसभा सदस्यको प्रतिस्पर्धामा उत्रिएका हुन् । काठमाडौँको राजनीतिका लागि खेलाडी मानिने प्रधान आफ्नो जीतलाई कायमै राख्ने कसरतमा हुनुहुन्छ भने खनाल कांग्रेसको किल्ला भत्काउने दाउमा छन् ।

कांग्रेसका उम्मेदवार तथा पूर्वरक्षामन्त्री प्रधानको नेवारी संस्कृतिको संरक्षण गर्दै नैतिक शिक्षामा आधारित प्राविधिक शिक्षालाई जगेर्ना गर्नु प्रमुख एजेण्डा रहेको छ । उनले आफ्नो क्षेत्रभित्र रहेका परम्परा, संस्कृति, सम्पदा र संस्कारको जर्गेना गर्ने मुख्य लक्ष्य लिएका छन् ।

त्यस्तै एमालेका उम्मेदवार खनाल सहरी बस्ती भएका क्षेत्रमा खानेपानी, ढल, विद्युत्को समस्याको समाधान र काठ क्षेत्रमा कृषि तथा घरेलु उद्योगको विकास गर्ने एजेण्डा लिएर चुनावी मैदानमा उत्रिएका छन् । आफ्नो क्षेत्रभित्र रहेका संस्कृति तथा सम्पदाको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमार्फत क्षेत्रको विकास गर्ने उहाँको प्रमुख योजना रहेको छ ।

प्रधान र खनालसहित विवेकशील साझा पार्टीका अजित खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महेश्वर कार्की, हाम्रो नेपाल पार्टीका मुकुन्द सिलवाल, नेपाल आमा पार्टीका राजेन्द्र खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद आचार्य, मौलिक जरोकिलो पार्टीका कमल न्यौपाने, एकीकृत शक्ति नेपालका काजी कार्की, राष्ट्रिय जनमुक्ति पार्टीका तारा रसाइली, जनता समाज पार्टी नेपालका मनोज आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल र नेपाल मजदुर पार्टीका सनकमान महर्जनले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।

यसैगरी किरण इङ्नाम, बलबहादुर केसी, विष्णुप्रसाद ढकाल, राजेश श्रेष्ठ ९मास्के०,खगेन्द्र ढकाल, जनकराज थपलिया, दिपु उप्रेती, निर्देश सिलवाल, प्रेमसागर कर्माचार्य, सञ्जयमान श्रेष्ठ र सानुकान्छा महर्जनको पनि स्वतन्त्र उम्मेदवारी परेको छ ।

सो क्षेत्रमा प्रतिनिधिसभा सदस्य एक पदका लागि कूल २४ जनाको उम्मेदवारी परेको छ । त्यसमध्ये ११ स्वतन्त्र र १३ विभिन्न राजनीतिक दलका उम्मेदवार छन् ।

उक्त क्षेत्रमा काठमाडौँ महानगरपालिकाका तीन, तारकेश्वर नगरपालिकाका आठ र टोखा नगरपालिकाका पाँच वडा समेटिएका छन् । त्यसमध्ये कांग्रेसले काठमाडौँका वडा नं २६, २७ र २८, तारकेश्वरका वडा नं २, ६, ७, ८, १०, ११ र टोखाको वडा नंं १ गरी १० वडामा विजयी हासिल गरेको छ । एमालेले तारकेश्वरका वडा नं १ र ९, सोही क्षेत्रभित्र पर्ने टोखाका वडा नं ८, ९, १० र ११ गरी छ वडामा विजय प्राप्त गरेको छ ।

गत स्थानीय तहको निर्वाचनको मतपरिणामलाई केलाउँदा कांग्रेस गठबन्धनको साथविना पनि बलियो देखिएको छ । कांग्रेसका वडाध्यक्षले १७ हजार दुई सय ७७, एमालेका वडाध्यक्षले १४ हजार दुई सय ५६, नेकपा माओवादी केन्द्रले एक हजार चार सय ५७ र नेकपा ९एकीकृत समाजवादीले सात सय ८० मत प्राप्त गरेका छन् ।

एमालेभन्दा कांग्रेस एक्लै पनि तीन हजार २१ मतान्तरले अगाडि छ । बासठ्ठी हजार एक सय दुई कूल मतदाता रहेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र काठमाडौँ–६ मा ३२ मतदानस्थल र ७५ मतदान केन्द्र निर्धारण गरिएको छ । सोमध्ये २९ हजार नौ सय ६३ पुरुष र ३२ हजार एक सय ३८ महिला मतदाता छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =