यस्तो छ मोरङ-३ ‘क’ को नयाँ निर्वाचन कार्यतालिका

काठमाडौँ । मोरङ ३ को ‘क’ मा नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन आयोगले मंसिर ४ गते हुन गइरहेको निर्वाचन अन्तर्गत प्रदेशसभातर्फ मोरङ क्षेत्र नं ३ को ‘क’ मा नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।
नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि बुधबार आयोगले कांग्रेसका लागि उम्मेदवार मनोनयनसहितको नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो।
आयोगको निर्णय अनुसार कात्तिक २४ र २५ गतेको समयभित्र उम्मेदवारी मनोनयन दर्ता, दाबी विरोध तथा अन्तिम नामावली सार्वजनिक गरिने छ। मतदान भने मंसिर ४ गते नै हुनेछ।
उम्मेदवार थापा प्रदेश १ का वन वातावरण तथा भूसंरक्षण मन्त्री समेत थिए । विराटनगरमा रहेको नोबेल अस्पतालमा उपचारको क्रममा उनको निधन भएको थियो ।
थापालाई गम्भीर प्रकारको निमोनिया देखिएको थियो । सुरूमा नोबेल मेडिकल कलेजमा भर्ना भएका थापाको स्वास्थ्य जटिल भएपछि काठमाडौंको ह्याम्स अस्पतालमा ल्याएर उपचार गरिएको थियो । ह्याम्समा तीन साताको उपचारपछि निको भएपछ उनलाई विराटनगर लगिएको थियो ।
स्वास्थ्यमा सुधार भएपनि कमजोरीपनका कारण उनलाई विराटनगरमै फर्काएर निरन्तर अक्सिजनको सहयोगमा उपचार गरिएको थियो । चुनावका लागि कार्यकर्ता तथा मतदाता भेट्न मन गरेपछि थापालाई विराटनगर ल्याइएको थियो ।








