चुनावपछि प्रधानमन्त्रीको लाइनमा कोको छन् ?

काठमाडौँ । नेकपा एमालेले आगामी निर्वाचनपछि केपी ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ । एमालेले आफ्नो पार्टीको एकल बहुमत आउने र पार्टी अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरेको छ । विभिन्न अन्तर्वार्तामा अध्यक्ष ओलीले चुनावपछि एमालेको बहुमतको सरकार बन्ने र आफू प्रधानमन्त्री हुने दावी पेस गरिरहेका छन् । केही दिनअघि अध्यक्ष ओलीले सर्वसाधारणसँग टेलिफोनमा अलिक पछि हाम्रो भेट बालुवाटारमा हुने बताएका थिए । एमाले अन्य दलको तुलनामा ठूलो शक्ति बन्यो भने साना पार्टीहरूलाई साथमा लिएर चुनावपछिको सरकार एमालेले बनाउन सक्ने देखिएको छ । यस्तो अवस्था आयो भने अध्यक्ष आली तेस्रो पटक प्रधानमन्त्री हुनेछन् । ओली जनताको मतले ढोकाबाट बालुवाटार छिर्ने बताइरहेका छन् ।

उनले भनेका छन्, ‘जनताको मतले ढोकाबाट छिरिन्छ, कुनै परमादेश चाहिँदैन ।’ अहिले एमाले ३ सिटमा राप्रपासँग र तराई मधेसमा जनता समाजवादी पार्टीसँग तालमेल गरेको छ । यदि एमाले ठूलो शक्ति बन्यो भने पनि साना दलहरूलाई साथमा लिएर सरकार बन्न सक्ने महासचिव शंकर पोखरेलले पनि खुलासा गरेका छन् । सत्तारुढ गठबन्धनभित्र प्रधानमन्त्रीको लाइनमा थुप्रै नेताहरुले दावी पेस गरिरहेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि चुनावपछि प्रधानमन्त्रीको लाइनमा नै छन् । उनले प्रधानमन्त्रीको लागि मरिहत्ते नगर्ने तर अवसर पाए प्रधानमन्त्री बन्ने बताइरहेका छन् । गोर्खामा प्रचण्डलाई भावी प्रधानमन्त्री भन्दै मतदातासँग माओवादी केन्द्रले मत मागिरहेका छन् । चुनावपछि गठबन्धनले बहुमत ल्यायो भने प्रधानमन्त्रीको दावेदार बढी हुन सक्ने देखिएको छ । कांग्रेसका महामन्त्री गगन थापाले चुनावपछि आफू प्रधानमन्त्री बन्ने दावी गरिरहेका छन् ।

नेता थापाले भने, ‘गठबन्धनको बहुमत आएको खण्डमा प्रधानमन्त्रीको दावेदार म हुनेछु, पहिला संसदीय तलको नेता बन्नुपर्छ, त्यसपछि बल्ल प्रधानमन्त्रीको विषय आउँछ । थापाले प्रधानमन्त्री बन्न संसदीय दलको नेता हुनुपर्ने भएकाले आसन्न निर्वाचनमा जित निकाल्नुको विकल्प नरहेको बताएका छन्। महामन्त्री थापाले आसन्न निर्वाचन जितेर पार्टीबाट संसदीय दलको नेताका लागि भिड्ने बताएका हुन्।

‘मेरो पहिलो लक्ष्य प्रतिनिधि सभा सदस्यमा जित्नु हो, त्यसपछि दोस्रो पार्टीबाट संसदीय दलको नेताको उम्मेदवार बनेर जित्नु हो । तेस्रो भनेको प्रधानमन्त्री भएर देशको विकास गर्नु हो’ नेता थापाले भने । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि छैटौँ पटक प्रधानमन्त्री बन्ने उनीनिकट नेता बताउँछन् । ती नेताले भने, ‘प्रधानमन्त्री देउवाको नेतृत्वमा अहिले गठबन्धनको चुनावी अभियान चलिरहेको छ, बहुमत आएको खण्डमा अहिलेका प्रधानमन्त्री देउवालाई नै जस जानेछ र उहाँ नै प्रधानमन्त्री बन्नुहुनेछ ।’

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार गठन हुने दाबी गरेका छन्। उनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमै सरकार बन्ने दाबी गरे। प्रवक्ता डा महतले प्रधानमन्त्रीको विषयमा गठबन्धन दलहरूमा कुनै छलफल भएको छैन, तर स्वाभाविक रुपमा कांग्रेस ठूलो दल भएकोले सरकारको नेतृत्व गर्ने र देउवा नै प्रधानमन्त्री बन्ने दावी गरे ।

यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अवसर पाए प्रधानमन्त्री बनेर देशको विकास गर्ने बताए । उनले चुनावपछि प्रधानमन्त्री को बन्ने भन्ने विषयमा सत्ता गठबन्धनभित्र छलफल नभएको बताए । तर अवसर पाए आफूलाई नेतृत्व गर्ने इच्छा भएको समेत बताए । अब तेस्रो पटक प्रधानमन्त्री बन्ने अवसर पाए विकासमा फड्को मार्ने गरी काम गर्ने उनको दाबी छ । आफ्नो चाहनामा शेरबहादुर देउवा सकारात्मक रहेको प्रचण्डले दावी गरे । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले आफूले प्रधानमन्त्रीको गीत गाउँदै नहिँड्ने बताए ।

उनले भने, ‘शानदार सफलताका साथ निकै धेरै मत लिएर, निकै धेरै सिट लिएर गठबन्धनका दलहरूले जित्दैछन् । प्रधानमन्त्री को हुन्छ त्यसपछि छलफल गरौँला, अहिले म मै प्रधानमन्त्री हुन्छु भनेर गीत गाउँदै हिँड्ने मान्छे होइन ।’ उनले शक्ति सन्तुलनले के भन्छ, त्यो अवस्थाले प्रधानमन्त्री तय गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *