प्युठानीले यसपटक ‘दुर्गा विसर्जन’ र ‘सूर्य-पूजा’ गर्ने संकल्प गरे : सूर्य थापा

काठमाडौँ । नेकपा एमालेका प्युठानका प्रतिनिधिसभा उम्मेदवार सूर्य थापाले पाँच दलीय गठबन्धन चारखुट्टे भइसकेको बताएका छन् ।
‘यसपटकको निर्वाचन उत्कर्षमा पुगेको छ । हामी मेसैसँग सबै वडा र पालिकामा जाँदै छौँ । अब दुई पालिका र २० वडामा मात्र पुग्न बाँकी छ । यस दौरान पाँच दलीय गठबन्धन भेटिएको छैन । पाँच दलको एउटा खुट्टा जसपा हामीसँगै आइसकेको छ । चारखुट्टे दलमा सबैभन्दा बलियो नेपाली कांग्रेसको कुनै उम्मेदवार नभएकाले उसको साथ पनि मैले नै पाउने स्थिति छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’मा थापाले भने ।
गठबन्धनकी उम्मेदवार दुर्गा पौडेलले जित्छु भन्नु जुरेलीको कथा जस्तै भएको पनि उनले बताए । थापाले थपे, ‘दुर्गा पौडेलले एमालेले मानोमा मुरी मिसाएर जितायो । कहिले एमाले दाइ त कहिले कांग्रेस भाइको हात समातेर १० वर्ष सांसद बन्नुभयो तर ६४ वडामा पुग्नुभएको छैन । कोरोनाकालमा मास्कसमेत पठाउनुभएन । २० महिना म सल्लाहकार हुँदा एकचोटि पनि प्रधानमन्त्रीलाई भेट्नुभएन । दुर्गा पौडेलले गठबन्धनको बलमा जित्छु भन्नु जुरेलीको कथा जस्तो हो । अब मतदाताले दुर्गा विसर्जन गर्ने र सूर्यपूजा गर्ने संकल्प गरिरहनुभएको छ ।’
उनले आफ्नो पहलमा प्युठान राष्ट्रिय राजमार्गमा जोडिएको र आफूले जनताको जीविकासँग जोडिएका मुद्दा उठाएको पनि बताए ।








