गण्डकीका २२ उम्मेदवारको उम्मेदवारी खारेज: कसैको नाम धेरै पार्टीमा, कोही कम उमेरका

पोखरा । गण्डकीका २२ उम्मेदवारको उम्मेदवारी खारेज भएको छ । प्रदेश सभा सदस्यका लागि पार्टीहरूले बुझाएको बन्दसूची छानबिन गरी गलत देखिएका उम्मेदवारी खारेज गरिएको हो ।
केहीको नाम २ पार्टीको बन्द सूचीमा रहेको भेटिएको छ भने केहीलाई स्थानीय निर्वाचनमा कारबाही गरेर जरिवाना नतिरेका पनि छन् । नेसनलिस्ट पिपल्स पार्टीबाट समानुपातिकको बन्द सूचिमा परेकी नुनु रानाको नाम अर्को पार्टीमा पनि छ । यहाँ समानुपातिकतर्फ ३१ दलले बन्द सूची पेश गरेका थिए । जसमा ३ सय ६८ नाम समेटिएकोमा अव ३ सय ४६ को मात्रै नाम कायम भएको छ ।
४ जनाको उमेर नै चुनाव लड्नका लागि पुग्दैन । २५ वर्ष पुगेपछि मात्रै संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्न पाइने व्यवस्था छ । जनमत पार्टीबाट समानुपातिक उम्मेदवार बनेकी सुस्मिता थापा, नेपाल जनता दलबाट उम्मेदवार बनेका देवकुमार परियार, मौलिक जरोकिलो पार्टीबाट उम्मेदवार बनेकी सुमित्रा परियार र लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार बनेकी संगिता बोहोराको नाम उमेर नपुगेका कारण हटाइएको हो ।
नाम हटाइएका मध्ये २ जना प्रदेशभित्रको मतदाता नभएको पाइएको छ । जनता समाजवादी पार्टी नेपालका भीमबहादुर मग्राती र नेपाली कांग्रेस (विपि) का पुनम तुलाचनको नाम गण्डकीमा नभेटिएको निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशको सांसद हुन सम्बन्धित सांसदको मतदाता हुनुपर्ने अनिवार्य व्यवस्था छ ।
आयोगलाई जरिवाना नबुझाउने १५ जनाको नाम पनि बन्द सूचिबाट हटाउने निर्णय भएको छ । स्थानीय तहका निर्वाचनमा उम्मेदवार बनेका र समय निर्वाचन खर्च नबुझाएकालाई निर्वाचन आयोगले जरिवाना नबुझाएसम्म उम्मेदवार हुन अयोग्य भनेको छ ।









