बागमतीको मुख्यमन्त्री बनाउन पार्टीले उम्मेदवार बनायो : देवी ज्ञवाली

चितवन । नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा चितवन क्षेत्र नम्वर २ ‘ख’ का उम्मेदवार देवी ज्ञवालीले आफूलाई बागमती प्रदेशको नेतृत्वको लागि पार्टीले उम्मेदवार बनाएको बताएका छन् ।
चितवनको विकासका लागि प्रदेशको नेतृत्व गर्नेगरी आफू प्रदेश सांसदको उम्मेदवार बनेको उनको भनाइ थियो । आइतबार भरतपुरमा आयोजित घरदैलो कार्यक्रममा ज्ञवालीले निरन्तर निष्ठाको राजनीति गर्दै आएका कारण आफूलाई चितवन २ (ख) का जनताले विजयी गराउने उनको दावी थियो । ‘मेरो राजनीतिक क्रियाकलापको क्षेत्र यही हो । उपप्रमुख हुँदा पनि यही क्षेत्रबाट निर्वाचित भएर काम गरेँ, यही क्षेत्रका जनताको सेवामा आफ्नो जीवन समर्पित गरेँ’ उनले भने । उनले भरतपुरको व्यवस्थित विकास आफ्नो प्राथमिकतामा रहेको भन्दै शिक्षा, स्वास्थ्य र रोजगारीलाई आफूले विशेष महत्व दिने बताए ।
ज्ञवालीले भरतपुरका धार्मिक र पर्यटकीय क्षेत्रको एकीकृत रुपमा विकास गर्नुपर्ने बताए । उनले आफू सुकुमबासी समस्या समाधान आयोगको अध्यक्ष हुँदा ९० प्रतिशत काम सम्पन्न गरेको बताए । ‘मैले आयोगको अध्यक्ष हुँदा देशभरको समस्या समाधान गर्नेगरी काम गरेको थिएँ, सबै प्रकृया सकेर पुर्जा बाँड्ने बेलामा मलाई अध्यक्षबाट हटाइयो’, उनले भने । सुकुमबासी समस्या समाधानका लागि बाँकी काम पूरा गर्नका लागि पनि एमालेको सरकार आउनुपर्ने नेता ज्ञवालीले बताए ।
उनले आफ्नो निर्वाचन क्षेत्रमा पनि सुकुमबासीको समस्या धेरै रहेको भन्दै त्यसलाई समाधान गर्नका लागि निरन्तर काम गर्ने बताए । मुग्लिन–नारायणगढ सडकको विकल्पमा शक्तिखोर–माझिमटार सुरुङमार्ग निर्माण गर्नुपर्ने भन्दै उहाँले सिँचाइ र जलविद्युत्सहितको सुरुङमार्ग निर्माण गर्न सके चितवनको विकासमा कायापलट हुने उनको भनाइ थियो ।








