शेखर र लालबाबुकाे निर्वाचन क्षेत्रमा मतदाताका अनेक गुनासा

विराटनगर । मोरङको बुढीगंगा ५ पोठिया टोलका भोला चौधरी पेसाले काठ मिस्त्री हुन् । उनी काम पाएको बेला केही काम गरिहाल्छन् हैन भने हरेक दिन उनको दैनिकी साथीभाइसँग दुःखसुखको कुरा गरेरै बित्छ । पछिल्लो समय उनको दैनिकी को नेता गाउँ आए, कुन नेता कस्ता छन् भनेर औँल्याउँदैमा जान्छ । उमेरले ७० वर्ष काटेका उनलाई नेताहरू झन्डा हल्लाउँदै हिँडेको पटक्कै मन पर्दैन ।

पाँच वर्षसम्म गाउँमा नदेखिएका नेताहरू पछिल्ला केही दिनदेखि झन्डा हल्लाउँदै हिँडेकोमा उनलाई पटक्कै चित्त बुझ्दैन । नागरिकका दुःखसुखका कुरा सुन्ने भन्दा पनि गाडीमा घुमेको घरमा मत पाइन्छ भन्ने नेताहरूले जनताको मन जित्न नसकेको चौधरी बताउँछन् ।

लगातार यही क्षेत्रबाट चुनाव लड्दै आएका डा. शेखर कोइरालाप्रति लक्षित गर्दै उनले भने, ‘सधैँ शेखर किन उठ्नु अरूलाई उठाउनु परेन, विजय गच्छदार जस्तै भए शेखर कोइराला पनि विजय गच्छदारले पनि उम्मेदवार हुन कहिल्यै छाडेनन्, शेखर कोइरालाले पनि छाडेनन् ।’ नेताहरू मतदाताकोमा नपुग्ने समस्या पनि देखिएको छ ।

‘लालबाबु आफैँ जनता भेट्दै हिँडेको देखिए पनि शेखर कोइरालालाई त देख्न पनि पाइएको छैन,’ उनले भने, ‘कार्यकर्ता पठाउँछन् नेता आउँदैन ।’

पोठिया चोकमा नै भेटिएका चिठ्ठालाल सरदार पनि गाउँमा नेता नआएको बताउँछन् । चुनाव आउन १० दिन बाँकी हुँदा पनि कुनै नेताहरू नआएको बताउँछन् ।

‘हिजो जिताएका नेताहरू पनि आएका छैनन्, हारेकाले त झन् अनुहार नै देखिएनन्,’ उनले भने, बरु अहिले हलो चुनाव चिन्ह लिएर भोट माग्दै आएका छन् ।’

यस्तो हुनुको कारण भनेको सबै नेतालाई कार्यकर्ताले नै बिगारेको उनको ठम्याई छ। शिवलाल सरदार लामो समयदेखि पान बेचेर जीवन चलाइरहेका छन् । उनलाई पनि पछिल्ला नेताका गतिविधि मन परेको छैन । चुनावको बेलामा पनि भेट्न नआउने नेतालाई अहिले भोट हालेर पठाउँदाको कुनै फाइदा नहुने बताए । नेताहरू बिगार्ने काम कार्यकर्ताबाट भएको निष्कर्षमा पुगेका उनी कार्यकर्ता राम्रा भए भने नेता पनि सुध्रिनेमा ढुक्क छन् ।

‘चुनाव लागेपछि रक्सी र मासुको पछि कुद्ने कार्यकर्ता नेताले धेरै गर्ने आश गर्न सकिँदैन, उनले भने, जो नेता आए पनि कार्यकर्ताले बिगार्छन् ।’ नेताहरू भनेको मतदातासँग आउने बस्ने गफ गर्ने र दुखसुखको कुरा गर्ने नेता अहिले जनताले चाहेको सरदार बताउँछन् ।

‘नेता त जनताको अप्ठेरोको बेला चाहिन्छ, भोट माग्ने बेलामा आएको नेता जनताका लागि काम लाग्ने खालका देखिएनन्,’ उनी भन्छन्, ‘अप्ठेरो परेको बेला एक पटक फोन गर्ने सहयोगी खालको हुनुपर्छ ।’

क्षेत्र नम्बर ६ को बुढीगंगा गाउँपालिका–७ शनिहाटचोकका कालीबहादुर तामाङ पनि नेताले जनताको मन जित्न सक्नु पर्ने बताउँछन् ।

‘जनताको मन जित्ने नेता चाहिएको छ, उनले भने, नेता जिताएर गएपछि पनि विकासका काममा देखिनु पर्छ ।’ अहिलेसम्म जनताको कुरा सुन्ने खालका नेता आफ्नो क्षेत्रमा नदेखिएको उनी बताउँछन् । क्षेत्र नम्बर ४ मा पर्ने ग्रामथान गाउँपालिका ७ साधुटोल, गैरी गाउँका गोविन्द कट्टेललाई भनेको जस्तो नेता नपाएको बताउँछन् ।

कुटो कोदालो गर्नेलाई जुन पार्टी आए पनि केही फरक नपर्ने तर विकास गर्ने खालको नेता चाहिएको उनी सुनाउँछन् । ‘चुनावको माहोल हो कसले जित्छ भन्न सक्ने अवस्था छैन, उनले भने, विल मिलाउने, कामै नगर्ने, सबै मिलेर खाने खालका नेताहरू मात्र अहिले देखिएको छ।’

ग्रामथान गाउँपालिका ५ सिमरिया खद्राहा टोलमा भेटिएका घिनुलाल चौधरी जनतासँग नजिक भएका नेतालाई मतदाताले चुनेर पठाउनु पर्ने बताउँछन् । ‘यो चुनावमा यसैले जित्छ भन्ने अवस्था छैन, उनले भने, जनताको फोन उठाउने, आउँदा बस्ने, सँगै बसेर चिया खाने, कुरा गर्ने खालको नेता चाहिएको छ।’

मतदाताको कुरालाई आधार मान्ने हो भने यो चुनावमा कसले बाजी मार्छ यसै भन्न सक्ने अवस्था छैन । चर्चामा रहेको क्षेत्र मध्येको मोरङ क्षेत्र नम्बर६ मा नेकपा एमालेबाट लालबाबु पण्डित, नेपाली काङ्ग्रेसबाट डा शेखर कोइराला र राप्रपाबाट गोपाल कटुवाल क्षेत्री बिच प्रतिस्पर्धा हुने ठानिएको छ। उनीहरू तीनैजनालाई मतदाताले रुचाएको देखिँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *