जसपाको घोषणापत्र : कम्युनिष्ट ‘कमाउनिष्ट’ भए, कांग्रेस ‘पुँजीवादी’

काठमाडौँ । जनता समाजवादी पार्टी जसपा ले आफ्नो घोषणापत्रमा कांग्रेस र कम्युनिष्ट पार्टीको गालीमा धेरै शब्द खर्चेका छ । आफ्नो पार्टी सबैथोकमा राम्रो र अर्को पार्टी कामै नलाग्ने तरिकाले घोषणापत्रमा जसपाले व्याख्या गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा जसपाले कम्युनिष्ट पार्टीहरुलाई ‘कमाउनिष्ट’ भएको आरोप लगाएको छ भने नेपाली कांग्रेस पार्टीलाई पुँजीवादी र अवसरवादी भएको आरोप लगाएको छ । कांग्रेसमाथि जसपाले इतिहासको व्याज आजसम्म खाइरहेको र अब खान नपाउने जसपाको भनाइ छ । केही पार्टीहरू धार्मिक कट्टरपन्थ र राजतन्त्रवादी रहेको ठहर जसपाले गरेको छ ।

नवउदारवादी पुँजीवादी व्यवस्थाको रक्षालाई नै आफ्नो ध्येय ठान्ने काँग्रेसको राजनीतिक चरित्र सत्ता प्राप्तिमात्र रहेको आरोप जसपाले लगाएको छ । जसपाले कांग्रेस र कम्युनिष्ट पार्टीले देशमा विकास गर्न नसक्ने स्वार्थसिद्धमा लिप्त बढी भएको आरोप लगाएको छ । जसपाले मधेसका प्रतिनिधिसभातर्फका १७ सिटमा एमालेसँग तालमेल गरे पनि घोषणापत्रमा एमालेलाई पनि अन्य दललाई झै आरोप लगाएको छ ।

सहभागितामूलक लोकतन्त्र, समावेशी विकास र समन्यायिक रुपान्तरणको मुद्दालाई अगाडि बढाउने पार्टी जनता समाजवादी पार्टीमात्र भएको दावी घोषणापत्रमा गरिएको छ । जसपाले नेपालमा तीन विचारधारा कम्युनिष्ट, कांग्रेस र अन्य धार्मिक कट्टरपन्थको विचारमा चलेका पार्टीहरुले शासन चलाएको र मुलुक यी शासकहरुबाट परिवर्तन नआउने दावी गरेको छ । नेपालमा साम्यवादी, पुँजीवादी राजतन्त्रात्मक विचारधारासहित तीन विचारधाराको पार्टीमात्र रहेको दावी जसपाको छ । जसपाले आफ्नो प्रतिबद्धतापत्रमा यी विचारधारा असफल भएको जनाएको छ । जसपाले समाजवादी गणतन्त्रलाई राजनीतिक गन्तव्य बनाएको जिकिर गर्दै यसलाई नेपाली जनताले सही ठानेको दावी पनि गरेको छ ।

जसपाले पहिचानसहितको संघीयता र समावेशी राज्य निर्माणको प्रतिबद्धता दोहो¥याएको छ । यसअघि पनि मधेस केन्द्रित दलहरुले यसलाई भन्दै आएका थिए। पूर्ण समानुपातिक संसद् र प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको व्यवस्था, न्यायप्रणालीलाई संघीय स्वरूपमा पुनर्संरचना गर्ने जसपाले जनाएको छ । यस विषयमा माओवादी केन्द्रसँग जसपाको घोषणापत्र मिलेको देखिन्छ । माओवादी केन्द्र पनि जननिर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको व्यवस्था गर्ने प्रतिबद्धता आफ्नो घोषणापत्रमा समावेश गरेको छ ।

संसदमा नागरिकताको विषयमा चर्को आवाज उठाउने जसपा आफ्नो चुनावी घोषणापत्रमा नागरिकता विधेयकको बारेमा केही बोलेको छैन । एमालेसँग केही सिटमा तालमेल गरेको जसपाले घोषणापत्रमा एमालेको आलोचना पनि गरेको छ । एमालेको एजेन्डा जसपाले र जसपाको एजेन्डा एमालेले स्वीकार नगरेको अवस्थामा जसपाको घोषणापत्रलाई लिएर एमालेले केही भनेको पनि छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *