ओलीलाई बाबुरामको चुनौती- भौगोलिक अखण्डतालाई चुनावी मुद्दा बनाउन मिल्दैन

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी ओलीतर्फ लक्षित गर्दै चुनावी स्वार्थका लागि भौगोलिक अखण्डताको मुद्दा उठाउन नहुने टिप्पणी गरेका छन् ।

शुक्रबार एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले चुच्चे नक्सा समेटिएको दार्चुलामा पुगेर गठबन्धनलाई लम्पसारवादी र कालापानीको क पनि उच्चारण गर्न नसक्ने भनी टिप्पणी गरेको सन्दर्भमा भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् ।

डा. भट्टराईले ट्विटमार्फत ओलीको नाम नलिई देशको भौगोलिक अखण्डताको मुद्दालाई कुनै दल विशेष वा व्यक्ति विशेषको मुद्दा बनाउन नहुने बताएका हुन् । उनले नेपालमा राजा महेन्द्रले र जर्मनीमा हिटलरले राष्ट्रवादकै खोल ओढेर उत्पात मच्चाएको नबिर्सनसमेत चेतावनी दिएका छन् ।

भट्टराईले भनेका छन्- देशको भौगोलिक अखण्डताको मुद्दा कुनै दल वा व्यक्ति विशेषको नभएर सबै नागरिक र दलको निर्विवाद मुद्दा हो र हुनुपर्छ। यदि कसैले चुनावी स्वार्थकालागि त्यसलाई उछाल्छ भने बुझ्नुपर्छ दालमा कालो छ । नेपालमा राजा महेन्द्रले र जर्मनीमा हिटलरले राष्ट्रवादकै खोल ओढेर उत्पात मच्चाएको नबिर्सौँ ।

ओलीले दार्चुला र बैतडीका आमसभामा चुच्चे नक्सामा नेपालको भूभाग समेटेपछि आफूलाई हटाउन अहिलेको गठबन्धन बनेको भन्दै गुमेको भूभाग फिर्ता ल्याएरै छाड्ने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *