काठमाडौं १: प्रकाशमानको चौथो जित कि रवीन्द्रको ‘डेब्यु’ ?

काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चहलपहल देशभर बढिरहेको छ । दश सङ्घीय निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा पनि उम्मेदवारहरु आफ्नो प्रचारप्रसारमा जुटिरहेका छन् ।

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरका ३२ वडामध्ये नेपाली कांग्रेस १९, नेकपा (एमाले) १२ र नेकपा (एकीकृत समाजवादी) एउटा वडामा विजयी भएका थिए । स्थानीय तहको मत परिणामलाई हेर्दा आगामी मंसिरमा हुने सङ्घीय चुनावमा काठमाडौँ क्षेत्र नं १ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका प्रकाशमान सिंह र नेकपा एमालेका किरण पौडेलबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

उक्त चुनावमा काठमाडौँ क्षेत्र नं १ मा महानगरको चार वटा वडा १०, ११, २९ र ३१ समेटिएकामा कांग्रेसले १०, ११, २९ र एमालेले ३१ वडामा जीत हासिल गरेको थियो । उक्त क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट रवीन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम र नेपाल सुशासन पार्टीबाट रमेशप्रसाद खरेल पनि उम्मेदवार छन् ।

विसं २०७४ को निर्वाचनमा सो क्षेत्रमा अहिलेका उम्मेदवारद्वय प्रकाशमान सिंह र रविन्द्र मिश्रबीच भिडन्त भएको थियो । त्यत्तिबेला मिश्र विवेकशिल साझा पार्टीबाट चुनावी मैदानमा थिए । गत स्थानीय तहको निर्वाचनमा चार वडामा कांग्रेसका वडाध्यक्षहरुले कूल नौ हजार आठ सय ९५ मत प्राप्त गरेका थिए भने एमालेका वडाध्यक्षले नौ हजार पाँच सय ४१ मत पाएको देखिन्छ । वडाध्यक्षले पाएको मतका आधारमा पनि कांग्रेस छ सय ५४ मतले अगाडि छ । राप्रपाका वडाध्यक्षका उम्मेदवारले कुनै पनि वडामा नजिते पनि एक हजार तीन सय ७६ मत प्राप्त गरेका थिए ।

पुरानै मत परिणामलाई आधार मान्दा पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । सो क्षेत्रमा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका सिंहलाई माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को समर्थन रहेको छ । विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा हालका राप्रपाका उम्मेदवार मिश्रलाई आठ सय १८ मतान्तरले पराजित गर्दै विजयी भएका सिंहले १० हजार नौ सय ३६ मत प्राप्त गरेका थिए ।

गत निर्वाचनको नतिजा उल्टाउने दाउमा मिश्र चुनावी मैदानमा उत्रिएका छन् भने नेता सिंह यसपाली पनि आफ्नो जितलाई कायमै राख्ने कसरतमा छन् । एमाले एक्लै सो क्षेत्रमा रहेकाले सत्ता गठबन्धनको साथले सहजै जीत हुने कांग्रेसको जिकिर छ । गत स्थानीय तहको चुनावको मत परिणाम हेर्दा महानगरको क्षेत्र नं १ मा रोचक भिडन्त हुने देखिन्छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रतर्फ काठमाडौँ क्षेत्र नं १ मा २२ मतदानस्थल र ५२ मतदान केन्द्रबाट कूल ४५ हजार १८ मतदाताले मत दिनेछन् । तीमध्ये २३ हजार चार सय ४८ महिला र २१ हजार पाँच सय ७० पुरुष छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *