निर्वाचन २०७९

एमाले र माओवादी केन्द्रको चुनावी गीत : नेतृत्वको मात्रै भक्तिगान

काठमाडौँ । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले चुनावी गीत सार्वजनिक गरेका छन् । नयाँ र्याप शैलीमा गाइएको चुनावी गीतमा पार्टी नेतृत्वको मात्रै भक्तिगान गरिएको पाइयो । गीतमा पार्टी भनेकै नेतृत्व हो भनेजसरी चित्रण गरिएको छ । एमाले र माओवादी केन्द्रको गीतको भिडियोमा नेतृत्वको गतिविधिमात्रै देखाइएको छ । जित हासिल भए समग्र पार्टीको जित हुनेछ, नेतृत्वले सफलता पाउनेछ । तर गीतमा यसरी चित्रण गरिएको छ कि पार्टी भनेको नेतृत्वमात्रै हो, नेतृत्वले जिते पार्टीले जित्छ ।

दुवै पार्टीको गीतमा नेतृत्वलाई एक नम्बरमा र पार्टीलाई दुई नम्बरमा राखेर रचना गरिएको एक लेखक बताउँछन् ।

उनी भन्छन्, ‘गीत रचना गर्दा नेतृत्वलाई नै फोकस गरेको देखिएको छ, मानौँ, पार्टीभन्दा नेतृत्व माथि छ, यो तरिकाले गीत रचना भएको पाइयो ।’

गीतमा सिंगो पार्टी पंक्तिको चर्चा भन्दा पनि नेतृत्वको चर्चा बढी भएको छ । माओवादी केन्द्रको गीतमा ‘भोट फर प्रचण्ड’ भन्दै नेतृत्वको लागिमात्रै भोट मागिएको छ । अरु उम्मेदवारलाई गीतमार्फत भोट नै मागिएको पाइँदैन । माओवादीको उम्मेदवार त अरु पनि छन् होला नि, तर भोट फर प्रचण्डमात्रै भनिएको छ ।

एमालेको गीतमा जीत कसको ओलीको भनिएको छ, जित त एक जना ओलीको मात्रै त होइन होला एमालेका सबै उम्मेदवारले जीत निकाल्नु पर्ने होला । गीतमा समग्र पार्टीको भक्तिगान हुनुपर्नेमा नेतृत्वको बढी भक्तिगान भएको छ । गीतको शैली फरकफरक हुनसक्छ, तर रचनाकारले रचना गर्दा पार्टी नेतृत्वलाई घाममा र पार्टीपंक्तिलाई छायाँमा पारेजस्तो भान भएको छ ।

नेकपा माओवादी केन्द्रले चुनावी प्रचारका लागि र्‍याप शैलीको गीत सार्वजनिक गरेको छ । एमालेको चुनावी प्रचारको गीतको शैली लोक र्‍याप जस्तो छ । दुवै पार्टीले नेतृत्वलाई नै ‘हाइलाइट्स्’ गरेका छन् । माओवादी केन्द्रको गीतमा ‘भोट फर माओवादी, भोट फर प्रचण्ड’ पहिला भनिएको छ । भोट त चुनाव चिन्हमा हाल्ने होला नि । गीतमा भोट फर हँसियाहथौडा भनेर अन्तिममा भनिन्छ ।

१० वर्षे जनयुद्धका उपलब्धि र व्यवस्था बदलिए पनि अवस्था नबदलिएको भन्दै समाजवादमा पुग्ने चाहाना गीतमा गरिएको छ । तर भिडियोमा समाजवादलाई मापदण्ड देखाएको छैन, प्रचण्डको तस्बिरमात्रै छ ।

माओवादीको आधिकारिक पेजबाट रिलिज गरिएको यो गीतलाई ‘नयाँ शैली, नयाँ प्रस्तुति : नेकपा माओवादी केन्द्रको र्‍याप गीत’ भनेर प्रचारप्रसार गरिएको छ । गीतमा प्रायजसो सबै ठाउँमा प्रचण्डको तस्बिरमात्र देखाइएको छ । माओवादी केन्द्रको गीतमा जगत तिरुवाको संगीत तथा स्वर छ । गीतलाई केशव बडुले एरेन्ज गरेका छन् ।

यता नेकपा एमालेको चुनावी गीतमा पनि अध्यक्ष केपी शर्मा ओलीलाई मात्र ‘हाइलाइटस्’ गरेको देखिन्छ । गीतमा ‘सहर सहरमा ओली, झुपडी महलमा ओली, ठाउँठाउँमा ओली’ भनिएको छ । गीतमा पार्टीको भन्दा पनि व्यक्तिको भक्तिगान बढी पाइन्छ । सहरसहरमा एमाले र सूर्य भन्न सकिने ठाउँमा ओली भनेर व्यक्तिगान बढी भएको अर्का एक लेखक बताउँछन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फेसबुकमार्फत चुनावी गीत सार्वजनिक गरेका हुन् । एमालेको गीतमै ‘यो जित कसको ? ओलीको, मंसिर चार ओली सरकार’ भनिएको छ । गीतमा अध्यक्ष ओलीलाई पार्टीभन्दा पनि माथि राखिएको ती लेखक बताउँछन् । एमालेको भिडियोमा जताततै अध्यक्ष ओलीको भाषण, दौडधूप र क्रेजलाई देखाइएको छ ।

दुवै पार्टीको गीतको भिडियोमा अध्यक्षबाहेक अन्य नेताहरुलाई देखाइएको छैन, नेतृत्वकै हालीमुहाली गीतमा देखिन्छ । एमालेको गीतमा भनिएको छ, ‘सहरसहरमा ओली, गाउँगाउँमा ओली झुपडी र महलमा ओली ठाउँठाउँमा ओली सूर्यको जित त छ भोलि आउँदैछन् केपी ओली नेकपा एमाले जिन्दावाद’….. हिजोआज भोलि, विकासको बोली नेपाल र नेपालीको लागि चाहिन्छ केपी ओली नेकपा एमाले जिन्दावाद…… भोट के मा सूर्यमा जित कसको ओलीको मंसिर चार, ओली सरकार…! यसरी नेकपा एमालले नेतृत्वलाई हावी गरेर गीत रचना गरेको छ । भिडियोमा पनि नेतृत्वको दबदबा देखिन्छ । नेतृत्व नै पार्टी झैँ मानेर गीत रचना गरिएको हुनाले सामाजिक सञ्जालमा केहीको विरोध पनि भइरहेको छ ।

माओवादी केन्द्रको गीतमा भनिएको छ ‘भोट फर माओवादी, भोट फर प्रचण्ड मनमनमा माओवादी मनमनमा प्रचण्ड… देशको गौरव बढाउन उनको सधैँ देन विकासको पूर्वाधारमा उनको सधैँ देन गरिब दुःखीको लागि ल्याए नयाँ ऐन लोडसेडिङ हटाउन प्रचण्डकै देन ….’ यसरी नेकपा माओवादी केन्द्रले पनि गीतमा नेतृत्वलाई मात्रै हावी गराएको छ । भिडियोमा पनि नेतृत्वको दबदबा देखिन्छ । पार्टीभन्दा नेतृत्वलाई ठूलो बनाएर गीत रचना गरिएको छ, जुन सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

पहिला पार्टी त्यसपछि नेतृत्व भन्ने विषयमा यतिबेला बहस चर्किरहेको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *